बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘जब गर्भवतीमा कोरोना संक्रमण हुन्छ…’

‘जब गर्भवतीमा कोरोना संक्रमण हुन्छ…’


  • सरस्वती कार्की
  • चैत्र २६ २०७६, बुधबार

कोपनहेगन, २६ चैत – जब कुनै गर्भवती अस्पताल भर्ना हुन्छिन्, सामान्यतः स्वास्थ्यकर्मीले गर्भमा रहेको शिशुलाई सकेसम्म प्राकृतिक जन्म गराउँछन् । जन्मनासाथ शिशुलाई आमाको नग्न छातीमा टँसाइदिन्छन् । सफलतापूर्वक सन्तान पैदा गरेको भन्दै आमालाई सधन्यवाद अंकमाल गर्छन् र शिशुलाई स्तनपान गराउन सहयोग गर्छन् ।
तर, कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका गर्भवती र शिशुलाई यस्तो गर्न चाहेर पनि स्वास्थ्यकर्मीले सक्दैनन्, जुन सामान्य अवस्थाका गर्भवतीलाई गरिन्छ । यसो गर्न नसक्दा प्रसूति सेवामा खटिएका स्वास्थ्यकर्मीहरु अत्यन्तै दुःखी र निराश हुने गरेका छन् ।
डेनमार्कको कोपनहेगनस्थित अस्पतालमा कोरोना भाइरस संक्रमित गर्भवतीको उपचारमा सक्रिय रहेकी एक मिडवाइफ (नर्स मातहतकी स्वास्थ्यकर्मी) डिट्टेले गर्भवतीको अवस्था र आफूले दिने स्वास्थ्य सेवाबारे करुणादायी भनाइ यहाँकी प्रधानमन्त्रीलाई सुनाइन् । कोरोना भाइरसबाट संक्रमित गर्भवतीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेकी डेनमार्ककी प्रधानमन्त्री मेट्टे फेडेरिक्सनसँग उपचारमा खटिरहेकी मिडवाइफ डिट्टेले त्यस्तो पीडा पोखेकी हुन् ।
डेनमार्कमा मिडवाइफले गर्भवतीको नियमित परीक्षण गर्छन् । गर्भवतीको अवस्था अनुसार चिकित्सककहाँ पठाउछन् । प्रसूति तथा शल्यक्रिया समयमा पनि उनीहरु सहयोगीका रुपमा काम गर्छन् । मिडवाइफले व्यक्त गरेका भनाइहरु प्रधानमन्त्री मेट्टेले आफ्नो फेसबुक वालमा जस्ताको त्यस्तै राखेकी छन् ।

डेनमार्ककी प्रधानमन्त्री मेट्टे फेडेरिक्सन

‘हरेक मानव सुरक्षा सिर्जना गर्न खटिरहेकी छु, जतिसम्म म खट्न सक्छु’ गर्भवतीलाई शारीरिक स्पर्शको समेत आवश्यता पर्ने जनाउँदै उनले भनेकी छन् ‘मेरो मुटु नै चुँडिएझैं हुन्छ, जब म उनीहरुलाई चाहेर पनि अंकमाल गर्न सक्दिनँ ।’
संक्रमित गर्भवतीको हेरचाह
कोरोना संक्रमणले थला पारेका बिरामीहरुको पेटमा भएका बच्चाको धडकनको अवस्था परीक्षण हरेक तीन–तीन घण्टाको फरकमा गर्नुपर्छ । पटक–पटक बिरामीको नजिक पुग्नुपर्ने भएकाले स्वास्थ्यकर्मीहरु पनि जोखिममा हुन्छन् । आफूहरुले उपचार गर्ने बिरामीसँग दुईजनाको ज्यान जोडिएको भन्दै डिट्टेले बाक्लो समय बिरामीको नजिक पुग्नुपर्ने बताएकी छिन् ।
‘कतिपय गर्भवतीलाई व्यथाले निकै च्यापेर उनीहरु कठिन सास लिइरहेका हुन्छन्’ हरेक चाँजोपाँजो मिलाएर बच्चाको धड्कन नाप्न जाने उल्लेख गर्दै डेटेले भनेकी छन् ‘टोपी, मास्क, गाउन, चश्मा लगाएर उनीहरुको नजिक पुग्छु, तर त्यसले मानवीय सम्पर्कलाई धेरैसम्म लुकाइदिन्छ ।’ गर्भवती महिलालाई अरुको स्पर्शले आत्मबल उच्च हुने जनाउँदै उनले आफूले त्यस्तो गर्न नसक्दा अन्त्यन्तै दुःखी र निराश हुने बताइन् ।
नयाँ बिरामीका लागि हरेक दिन चारवटा कोठा तयारीमा हुन्छन् । समय पुगेका र समय नपुगे पनि बाहिर निकालेपछि बचाउन सकिने बच्चाहरुलाई आमाको अवस्था अनुसार जतिबेला पनि चिकित्सक सहितको टोलीले शल्यक्रिया गरेर निकालिन्छ । नवजात शिशुलाई अलग्गै लगिन्छ । उता आमा एक्लै कोरोना भाइरससँग लडिरहेकी हुन्छे ।
हरेक आमालाई नवजात शिशुलाई च्यापेर स्तनपान गराउने प्रवल चाहना हुन्छ । तर, स्वास्थ्यकर्मीले आमाको यो चाहनालाई विच्छेद गरिदिन्छन् । किन कि आमाबाट बच्चामा भाइरस नसरोस् भनेर । स्वास्थ्यकर्मीका अनुसार गर्भबाट निकालिएका शिशु सामान्यतया कोरोना भाइरसबाट संक्रमित हुँदैनन् । डेमोक्र्याट पार्टीका स्थानीय नेता हरि न्यौपानेका अनुसार डेनिस स्वास्थ्य मन्त्रालयले गर्भवती महिलाहरुलाई कोरोना भाइरस भए/नभएको अनिवार्य परिक्षण गर्न निर्देशन दिएको छ ।
जन्मने वित्तिकैका शिशुका लागि आमाको दूध अमृतझैं हुन्छ । सकेसम्म शिशुलाई स्तनपान गराइन्छ । शिशुले दूध तान्न नसके स्वास्थ्यकर्मीले आमाको स्तनबाट मेसिनले तानेर डिफ्रिज गरेर राखिदिन्छन् र बोतलमार्फत खुवाउँछन् । ‘न त हामी दूध चुसाइदिन सक्छौं, न त तान्न’ डिट्टेले दुःखी हुँदै भनेकी छन् ।
उनका अनुसार कोरोना भाइरस संक्रमित गर्भवतीको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीहरु स्वास्थ्य छन् । ‘हामी काम गर्न सक्षम छौं, म प्रार्थना गर्छु, हामीलाई संक्रमणले नछोओस् ।’ प्रधानमन्त्री मेट्टेले बिरामीको स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्यकर्मीलाई धन्यवाद दिएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->