बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गगन थापालाई एउटा चिठी !

गगन थापालाई एउटा चिठी !


  • दिनेश कार्की
  • चैत्र २८ २०७६, शुक्रबार

प्रिय गगन दाइ,
नमस्कार ।

एक वर्षअगाडि हामी हार्वर्ड विश्वविद्यालय परिसरस्थित हार्वर्ड कुप नामको एउटा पुस्तक पसलको तेस्रो तल्लामा तपाईंको अनुभव सुनिरहेका थियौं, डिनर इन द डार्क । तपाईंको अनुभव थियो, आँखामा पट्टी बाँधेर अन्य देशका मानिससँग परिचय गर्न नदिई सोझै कुराकानी गर्न भनिएको थियो र आँखाको त्यो अन्धकारबीच तपाइँहरूलाई डिनर गराइएको थियो । तपाईंको यो अनुभव हामीलाई निकै रोचक लागेको थियो ।

अनुहार र स्थानबारेको जानकारीले मान्छेले कसरी आफ्नो धारणा बनाउँछ भन्ने कुरा बुझाउन हार्वर्डको त्यो विशेष कसरत केन्द्रित थियो । तपाईंकै शब्दमा त्यो पहिलो दिनको बुझाइ र जिज्ञासाको भोकले हार्वर्ड पढाइको पूरै अवधिमा तपाईं एकान्तवास अर्थात् ‘आइसोलेसन’मा बसेर पढ्न थाल्नुभयो । त्यो ‘आइसोलेसन’को औचित्य अर्थात् पढाइ इतरका भेटघाटमा पूर्णविराम । बस्टनबासी नेपालीहरू भने तपाईंलाई भेट्ने आशमा आँखा बिछ्याइरहे । उनीहरूको अपेक्षा तपाईंको त्यहाँको एकान्तबास सकिएपछि मात्र पूरा भयो ।

केहीदिन अघि कोभिड १९ लकडाउनको फुर्सदमा त्यतिबेला तपाईंसँग गरिएको वार्ताको भिडियो मैले पुनः हेरें । वसन्त २०१९ देखि वसन्त २०२० सम्म ठ्याक्कै एक वर्ष बितेको छ । अप्रिलदेखि अप्रिलसम्मको त्यो समय हेर्दा मलाई ‘आइसोलेसन’देखि ‘आइसोलेसन’सम्म भन्न मन लाग्यो । त्यतिबेला तपाईं मानव व्यवहार विज्ञान (बिहेभियरल साइन्स) का ज्ञानमा घोत्लिन ‘आइसोलेसन’ मा हुनुहुन्थ्यो भने यतिबेला चाहिँ अहिले सारा मानव सभ्यता एउटा भाइरसबाट बच्नका लागि ‘आइसोलेसन’ मा छन् ।

अहिले तपाईं पनि फेरि ‘आइसोलेसन’ मैं रहेर जनतालाई कसरी राहत दिन सकिन्छ भनेर एकपछि अर्को जुक्ति सोचिरहनुभएको छ । यतिबेलै बोस्टनका हाइटेक प्रयोगशालाहरूमा धेरै वैज्ञानिक पनि ‘आइसोलेसन’मैं बसेर कोभिड १९ नाम दिइएको कोरोनाभाइरसबारे बुझ्दै छन् । त्यो भाइरसको आरएनए सिक्वेन्स र प्रोटिनहरूमाथि अध्ययन हुँदै छ । बस्टर्न औषधि विज्ञानको चमत्कार हुने ठाउँ हो भनिन्छ । आशा गरौं मानवजातिको रक्षा हेतू बस्टर्न वा अन्य कुनै स्थानमा कोभिड १९ विरुद्ध खोपकोे विकास हुनेछ ।

मैले आज एउटा प्रसंगमा सोचें कति उथलपुथल भएको छ मान्छेका विचार र भावना । यी विचार र भावनाहरू बहिर आइ पनि रहेका छन् सामाजिक सञ्जालमा । तपाईं पनि कति छटपटिनुभएको छ सामाजिक दूरी अर्थात् ‘सोसल डिस्टान्सिङ’ र ‘आइसोलेसन’को यो बेलामा पनि ।

घरैमा बसेर तपाईंले कति सोसल कम्फर्टिङको काम गरिरहनुभएको छ । कहिले देशभरका मेयरहरूलाई सम्बोधन गर्नुहुन्छ त कहिले राहत सामग्री परिचालनका लागि चाँजोपाँजो मिलाइरहनुभएको छ ।

तर खोइ किन हो उमेरका हिसाबले सम्मानित पुस्ताका नेतागण र सरकारका मन्त्रीहरूका गतिविधि शूष्क छन् । कोभिड १९ अघि दिनहुँ अखबारमा केही न केही बेलेर चर्चामा छाइरहने उनीहरू अहिले बेखबर छन् ।

म सोच्छु, उनीहरू अहिले के सोच्दा हुन् । सत्ताका ती अघोरी भोगकर्ताहरू जो हरेक सरकारका रजाईंका हिस्सा भए । देश र जनतालाई लुटिरहे । उनीहरूलाई पश्चाताप भइरहेको छ कि छैन होला ? उमेरले डाँडो काट्न लागेका उनीहरूले पक्कै पनि केही सोच्ने मौका पाए होलान् अहिले ।

विशेषतः पुरानो स्वास्थ समस्या भएका र बुढ्यौली पुस्ताका मानिसलाई बढी गाँज्ने कोभिड १९ बाट उनीहरू धेरै आत्तिएको हुनुपर्छ ।

त्यो पाको पुस्ताले नेपालका मेडिकल पूर्वाधारहरू व्यवस्थित गर्न सकेको भए त्यो त्रास पक्कै पनि केही कम हुनसक्थ्यो । तिनका अकर्मन्य खुट्टाले धेरै पेनाल्टीका अवसरहरू गुमाइसके तैपनि हामी उनीहरूलाई नै आफ्नो टिममा राखिरहन र उनीहरूलाई नै पालैपालो टिम क्याप्टेन बनाउन अभिशप्त छौं ।
जसले बारम्बार भ्रष्टाचार र संगठित गुन्डागर्दीको आउट र अफसाइड प्रहार गरिरहेका छन् बेरोकतोक ।

यदि पाठ सिक्ने भए नेपालको राजनीतिको त्यो वृद्ध पुस्ताले सिक्नुपथ्र्यो । कुनै तथ्यांकै चाहिँदैन, अहिले पनि सबैभन्दा भ्रष्ट नेपालको त्यही पुस्ता हो । उनीहरूले राजनीतिलाई हदैसम्मको दोहन गरे ।

यस्तरी दोहन गरे कि गाईको दूध धेरै आउँछ भनेर थुन नै काटिदिए । नेपालको दूरावस्था देख्दा मूर्ख कालीदासको कथा याद आउँछ, जसले आफू बसेको हाँगै काटेका थिए । धेरै पर नजाऊँ, पञ्चायतकालयता नेपालको मुहार फेर्ने धेरै अवसर आएका थिए । २०४७ को परिवर्तन होस् या २०६३–६४ परिवर्तन । तर हरेकपटक देश र जनताको मुहार फेरिएनन् । हरेकपटक महिला र बालबालिकाका स्तर सुधारिएनन् ।

चीनको वुहानमा कोभिड १९ ले वितण्डा मच्चाइरहँदा तपाईंले पनि यसबारे नेपाल सरकारले चाल्नुपर्ने तयारी र कदमबारे संसदमा ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यतिबेला सरकारले तपाईंको त्यो कुरालाई गम्भीर रूपले लिएन र तयारीमा तत्काल ध्यान दिएन । त्यतिबेलै केही तयारी हुन सकेको भए अहिलेजस्तो अन्योलको परिस्थिति आउने थिएन ।

तपाईंको क्षमतालाई पार्टीको संरचनाले अंकुश लगाउन खोजे पनि जहिल्यै हक्की र निडर भएर अगाडि बढ्नुभएको छ । परिवर्तनले आफ्नो बाटो छेकिएको ठान्ने तपाईंकै पार्टीका तत्त्वहरूले धेरैपटक छिड्की हान्ने प्रयास गरेकै हुन् ।

पार्टीले तपाईंप्रति गरेको उपेक्षाको फेहरिस्त मैले दिन खोजेको होइन । त्यो पल्टाउने हो भने खात लाग्नेछन् । नेपाली कांग्रेस त्यही पार्टी थियो जसलाई लोकतान्त्रिक गणतन्त्र र संविधानसभाको मुद्दामा तपाईंलगायतले अग्रसर गराउनुभयो अप्रिल क्रान्तिअघि ।

तर, त्यही पार्टीले तपाईंलाई पहिलो संविधानसभाको चुनावमा प्रत्यक्ष निर्वाचनमा टिकट दिएन । र, लोकलज्जाबाट मुख छोप्न समानुपातिकबाट सभासद् बनाउने निर्णय गर्न बाध्य हुनुपरेको थियो ।

कोरोना भाइरसको विश्वव्यापी संकटले संयुक्त राज्य अमेरिकालाई बेस्सरी गालेको छ । यो पत्र लेख्दासम्म यहाँ मृत्यु हुनेको संख्याले १८ हजार छुन लागेको छ ।

राष्ट्रपतिदेखि, गभर्नर र प्रायः सबै राज्यका मेयरहरूलाई व्यवस्थापन र ब्रिफिङहरू गर्न भ्याइनभ्याइ छ ।  बढ्दो संक्रमण र त्यसले पारेको मानवीय क्षतिका कारण त्यो दौडधूप स्वभाविक हो । अत्याधुनिक स्वास्थ सेवा भएको अमेरिकालाई पनि आच्छुआच्छु पारेको यो भाइरस यदि नेपालमा फैलियो भने के होला भन्ने कल्पनाले नै हाम्रो होस उडाउँछ ।

त्यसकारण यो भाइरसलाई फैलिन नदिन तपाईंले गर्नुभएको दौडधूप पनि कम छैन । मध्ये ३० पार गरेर ४० मा उन्मुख हुँदै गरेको मेरो पुस्ताले विद्यार्थी आन्दोलनमा तपाईंले बोल्नुभएका आग्नेय भाषण बिर्सेका छैन ।  अहिले पनि तपाईंको नेतृत्व र वक्तृत्वलाई अनुभव र अध्ययनले झन् निखार ल्याएको छ ।
स्वास्थमन्त्रीका रूपमा विगतको आफ्नो कार्यकालमा पनि खरो उत्रिनुभयो । मलाई सम्भावना भन्ने शब्द प्रिय लाग्छ । किनभने हामी सब सम्भावना कै उपज न हौं ।

म अझै विश्वास गर्छु त्यही सम्भावनाको मीठो कल्पनामा सुन्दर र समृद्ध नेपाल बन्ने सम्भावना पनि जीवित छ । एकचोटि सबैलाई आह्वान गरेर हेर्नुहोस् ।  तर्किएर हिँडेका नेपाली मगजहरू फर्किएर आउनेछन् । सन्तुष्टि र खुसी आफ्नै जन्मभूमिमा छ भनेर सधैंका लागि नेपाल फर्किने नेपाली अनुसन्धानकर्ताहरू पनि छन् ।

अमेरिका र अस्ट्रेलियामा राम्रो माग हुँदाहुँदै पनि सधैंका लागि नेपाल फर्किने वातावरण वैज्ञानिकहरू उत्तमबाबु श्रेष्ठ र सुजता श्रेष्ठको जोडीलाई पनि म अहिले स्मरण गर्न चाहन्छु ।

उमेरको इन्धन सीमित हुन्छ, कसलाई त्यस्तो बहुमूल्य इन्धन पराइ मुलुकमा सबै खर्चिने ? नेपालमै राम्रो अवसरको सिर्जना गर्ने परिस्थिति भए खाडी मुलुकमा रगत–पसिना बगाउन को जान्छ ? यहाँंका अध्ययन संस्थाहरू गुणस्तरीय बनाउने हो भने हार्वर्ड र एमआईटी यही जन्मन्छन् ।

एउटा यस्तो परिस्थितिको निर्माणमा लाग्नुहोस् जसले तपाईंका छोरी गार्गी र जियाले सुरक्षित जीवनका लागि अमेरिका वा युरोप विकल्प रोज्नुनपरोस् । मेरा दुई छोरी एभा र आन्यालाई पनि नेपालमै बस्न मन लागोस् ।

तपाईंले प्रधानमन्त्रीलाई कोभिड १९ बारे ध्यानाकर्षण गराउनुभएको पत्रको सारांशः हामीले जे गरिरहेका छौं पर्याप्त छैन, जसरी गरिरहेका छौं यो तरिकाले महासंकटबाट पार पाउन सकिन्न भन्ने थियो ।

कोरोनाको विश्वव्यापी कहरबाट एकदिन नेपाललगायत विश्वका सबै देश मुक्त होलान् । त्यसपछि जे गरिरहेका छौं पर्याप्त छैन, जसरी गरिरहेका छौं यो तरिकाले गरिबी, कुशासन र भ्रष्टाचारको भुमरीबाट पार पाउन सकिन्न भनेर युद्धस्तरमा काम किन नगर्ने ? नेपाली कांग्रेस मात्र होइन अरू सबै पार्टीमा युवा जोशलाई स्थान दिने एउटा लहर चल्नुपर्छ ।

कोभिड १९ का कारण हामी सब एउटा अनिश्चयको अन्धकारमा छौं अर्थात् लिभिङ इन दी डार्क ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरससँगको संघर्षमा सामाजिक दूरी र आइसोलेनले ल्याएको सुधारलाई अध्यारो टनेलको अन्तिमतिर देखिएको एउटा उज्यालोसँग तुलना गरेका छन् ।

यो लिभिङ इन दी डार्क पनि त्यो डिनर इन दी डार्कजस्तै बनोस् जसको कारण आग्रह र पूर्वाग्रहले बन्द भएका संसारका मानिसका आँखा खुलुन् ।

विगतमा मेडिकल क्षेत्रको सुधारमा कम्तिमा डा. गोविन्द केसीको पुकारलाई मात्र सुनिदिएको भए यो प्रलयमा अस्पतालको अवस्था देखेर चिन्तित हुनुपर्ने थिएन ।

डा. केसी व्यक्तिगत स्वार्थका लागि अनसन बसिरहेका थिएनन् । उनी त अहिले पनि आफ्नो खल्तीकै पैसाको भरमा आफ्नो चिकित्सकीय ज्ञानलाई नेपालको पश्चिमी क्षेत्रका विपन्न जनताका रोग र व्यथासँग युद्ध गर्दैछन् ।

मलाई यसमा गर्व छ कि तपाईँले विगतमा डा केसीको पक्षमा पहाड झै उभिनुभयो, धेरैपटक संसदमा एक्लो बन्न तयार हुनुभयो । तर, न्यायको आवाजका लागि तपाईं किमार्थ डगमगाउनुभएन ।

गतसाता वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले आफ्नो फेसबुक वालमा पण्डित जगन्नाथ उपाध्याय गुरागाईंको कृति गुणरत्नमालाबाट लिइएका पंक्ति तपाईं र डा. गोविन्द केसीप्रति समर्पित गर्न चाहन्छु ।

यौटै घाम उदाइ भूतलभरी खुट्टा घुमाइ लिए 

यौटै सागरले तिनै भुवनमा रत्नैं फिँजाइदिए 

यौटै काल उठेर प्राणी सबको सातो उडाइदियो 

तेजस्वी बन, शक्तिमान बन सदा एक्लो हुँदा के भयो ।

उही
दिनेश कार्की
हाल बोस्टन (अमेरिका)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->