बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रविधिमैत्री शिक्षा र हाम्रो सरोकार

प्रविधिमैत्री शिक्षा र हाम्रो सरोकार


  • युवराज पाण्डेय
  • बैशाख ६ २०७७, शनिबार

नेपालमा जहानिया राणा शासन विरूद्धको राजनीतिक आन्दोलनसँगै विद्यार्थी समुदायको हकहित, सुविधा, सुरक्षा र अधिकारका साथै जनताको स्वतन्त्रता प्राप्तिको लडाइँमा विद्यार्थीहरूले संगठित भई संघर्ष गरेको इतिहास छ।

खासगरी पञ्चायती एकदलीय निरङ्कुश शासन ब्यवस्थाको अन्त्य र विद्यार्थीहरूको समुदायगत हक, अधिकारको वकालत गर्न राष्ट्रब्यापी विद्यार्थी संगठनको आवश्यकता महसुस गरेका लोकतन्त्रवादी विद्यार्थीहरूले आफूहरुको साझा संस्थाको रूपमा (वैशाख ६, २०२७ अर्थात् आजकै दिन) नेपाल विद्यार्थी संघको स्थापना गरेका थिए।

आज स्थापनाको पाँच दशकको आरोह अवरोह पार गरि नेपाल विद्यार्थी संघ ५१ वर्षमा प्रवेश गरेको छ। राजनीतिक रूपमा लोकतन्त्रका पछिल्ला लडाइँमा आफूलाई अग्रभागमा उपस्थित गराई गौरवमय इतिहास निर्माण गर्न सफल नेविसंघले २०२८ को पञ्चायतको स्तुति गाउने राष्ट्रिय शिक्षा नीतिको बिरोध गरेको थियो।

यतिमात्र होइन, २०३६ को विद्यार्थी आन्दोलनको नेतृत्व गर्‍यो। २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र २०६२÷०६३ सम्मका जनआन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेको थियो। धेरै शहिद र योद्धाहरूको बलिदानी र वीरताको गाथा योसँग जोडिएको छ।

इतिहासमा गर्व गर्न लायक सयौं कार्यहरू सफलतापूर्वक सम्पन्न गर्दागर्दै पनि पछिल्लो दशकमा कताकता अलमलिएको वा सहि दिशावोध गर्न चुकिरहेका त छैनौं हामी भन्ने भान हुने गर्दछ। इतिहासको गौरव गाथासँगै वर्तमानका चुनौतीहरूको सहि ढंगले सामना गर्न कतै हामीले ढिलासुस्ति वा हेलचेक्य्राइँ गरिरहेका त छैनौं ?

विगत पाँच दशकको निर्मम समीक्षा गर्दै परिवर्तित सन्दर्भमा समयको माग र गतिलाई आत्मसात गर्दै अगाडि बढ्नु जरूरी छ।अहिले हामी विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण विरुध्द लडिरहेका छौं। लाखौं मानिस संक्रमित छन्, सवा लाख भन्दा बढिले ज्यान गुमाइसके र अझ भयावह बनिरहेको छ परिस्थिति।

यस संकटको सामनासँगै हामीले मानव जातिको स्वास्थ्य, आर्थिक अवस्था र अन्य प्रभावहरूका बारेमा समयमै सहि अध्ययन, बिश्लेषण र आँकलन गरि सावधानी अपनाउदै जुध्यौं भने मात्र विजय हासिल गर्न सक्दछौँ।

यो सँगसँगै मानिसहरूको जीवनमा पनि मनोवैज्ञानिक, आर्थिक, शैक्षिक र अन्य क्षेत्रमा गम्भीर असर पर्ने देखिन्छ। यहाँ शैक्षिक क्षेत्रमा परेका र हुन सक्ने प्रभाव र असरका बारेमा केही चर्चा गर्ने प्रयत्न गरेको छु।

विश्वभरी नै अधिकांश गतिविधि ठप्प प्राय छन्। लकडाउन लम्बिइरहेको छ, जुन अत्यन्तै दुखद् तर नकार्न नसकिने सत्य हो। शैक्षिक क्रियाकलाप पनि यसबाट अछुतो रहने कुरै भएन। सामाजिक दूरी कायम गर्नु पर्ने, भिडभाड गर्न नहुने र घरमै बसेर कोरोनासँग जुध्नु पर्ने अवस्थामा हाम्रोजस्तो मुलुकमा पठनपाठन हुने कुरा असम्भव प्राय नै भयो।

यस अवस्थामा हामीले विद्यार्थीहरूलाई शिक्षालयमा बोलाएर क्रियाकलाप गर्न हुँदैन, तर उनीहरूले सिक्न पाउने अधिकारबाट पनि लामो समयसम्म बञ्चित हुन हुँदैन।

तसर्थ सिकाइका बैकल्पिक माध्यम वा बिधि अपनाउँदै अवस्थालाई सामान्यीकरण गर्दै जानु पर्दछ। यद्यपी अहिलेसम्म राज्यबाट यस सम्बन्धमा ठोस पहलकदमी र निर्णय गरेको पाँइदैन, जुन विडम्बनापूर्ण छ। वैज्ञानिक, ब्यावसायिक शिक्षासँगै प्रविधिमैत्री शिक्षाको पक्षमा हामीले पहिलेदेखि नै वकालत गरिरहेकै हौँ।

तर आज रहरभन्दा पनि बाध्यता बनेको छ प्रबिधिमैत्री शिक्षा। यो संकटपूर्ण समयमा संविधानको मर्म र भावना अनुसार आआफ्नो जिम्मेवारी र अधिकार क्षेत्रभित्र पर्ने शैक्षिक संस्थामा सम्बन्धित सरकारले दायित्वबोध गरी अग्रसरता लिनु आवश्यक छ। केही विश्वविद्यालयका सीमित शैक्षिक कार्यक्रम र केही शैक्षिक संस्थाले यसअघि देखि नै सञ्चालन गरेका प्रबिधिमैत्री पठनपाठन बाहेक धेरै ठूलो हिस्सामा अहिले किंकर्तव्यविमूढ कै अवस्था छ।

न नागरिक जागरुक छन्, न विद्यालय वा शिक्षक नै। न त सरकार लागि परेका छन्। यस अवस्थाबाट करिब ७० लाखभन्दा बढीको संख्यामा रहेका विद्यार्थीलाई राहत दिँदै सिकाइ प्रक्रियामा जोड्न र निरन्तर शैक्षिक गतिविधिमा संलग्न गराउन आवश्यक छ।

स्थान, परिस्थिति, संचारमाध्यम तथा प्रविधिको उपलब्धता र पहुँचका आधारमा उपयुक्त संचार प्रविधिलाई प्रयोगमा ल्याई विद्यार्थीलाई पठनपाठन गराउनु पर्दछ। स्थान बिशेष र विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर अहिले प्रचलनमा रहेका प्रविधिहरूको अधिकतम उपयोग गरी पठनपाठन गरिनु पर्दछ।

त्यसका लागि जहाँजहाँ प्रबिधिको पहुँच छैन, त्यहाँ तत्काल आवश्यक प्रबन्ध गर्दै अगाडि बढ्नुपर्दछ। प्रचलनमा रहेका प्रबिधि जस्तै रेडियो, टेलिभिजन, केवल नेटवर्क, अनलाइन, टेलिफोन आदी। अन्तर्राष्ट्रिय अनुभव, सिकाइ र हाम्रो देश भित्रै पनि यस अगाडिदेखि नै गरिएका नमूना विधिहरू अनुसरण र अवलम्बन गर्नु उचित हुनेछ।

प्रविधिमैत्री शिक्षाका लागि आवश्यक उपकरण, दक्ष जनशक्ति र पूर्वाधारको विकास गर्न बजेट ब्यवस्था गर्ने र सोही अनुसारका शैक्षिक कार्यक्रम विकास गर्न हामी अग्रसर हुनु पर्दछ। सम्पूर्ण बिश्वविद्यालय, क्याम्पस, विद्यालय लगायतका शैक्षिक संस्थामा प्रविधिमैत्री पठनपाठन र अध्ययन अध्यापन लागू गरिनु पर्दछ।

अहिलेको संकट र यस पछाडिका दिनमा पनि लागू हुने गरी दीर्घकालीन योजनासमेत बनाएर प्रविधिमैत्री शिक्षा प्रणालीको विकास र अभ्यास गरिनु नै श्रेयस्कर हुनेछ। हामी विद्यार्थी संघसंगठनले पनि शैक्षिक उन्नति र हक, अधिकारको ग्यारेन्टीका लागि निरन्तर खवरदारी गरिरहनु पर्दछ। (पाण्डेय नेपाल विद्यार्थी संघका महामन्त्री हुन्।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->