बागलुङ, ३१ वैशाख– बाहिरी जिल्लाबाट प्रबेश गर्नेहरुका कारण कोरोना संक्रमण जोखिम बढेको भन्दै सबै सिमानाकाबाट जिल्ला प्रबेशमा कडाई गरिने भएको छ । बुधबार बसेको जिल्ला कमाण्ड पोष्ट बागलुङका दशवटै स्थानीय तहका प्रमुख, नागरिक समाज र सरोकारवालासहितको बैठकले सिमा नाकामा हुने आवतजावतमा कडाई गर्ने निर्णय गरेको हो ।
छिमेकी जिल्लाहरुसँग सडक सञ्जाल जोडिएका नाकाहरुमा स्थानीय तहको संयोजनमा बिशेष निगरानी गर्ने र अनावश्यक आवागमनमा रोक लगाउने निर्णय बैठकले गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले बताए ।
बैठकले सिमानाका प्रबेश गर्नेहरुको बिबरण संकलन गर्ने, सम्बन्धित स्थानीय तह, त्यहाँ रहेको सुरक्षा तथा स्वास्थ्य शाखासँगको समन्वयपछि मात्रै पालिकाहरुमा प्रबेश दिने र बाहिरबाट प्रबेश गर्नेहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्नुपर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका पन्तले जानकारी दिए ।
बैठकले सरोरवाला सबैले आ–आफ्नो तवरबाट लकडाउनका कार्यान्वयनमा भूमिका निर्वाह गर्ने र जिम्मेबारी अनुसारको कामका लागि चौबिसै घण्टा तयार रहने निर्णय गरेको छ । बैठकले सदरमुकाम बागलुङ बजारसँग जोडिएको मालढुंगा नाका, प्रदेश नम्बर ५ को गुल्मी जिल्लासँग जोडिएको कालिगण्डकी कोरिडोरको पालुङ्खोला नाका, शान्पिुरसँग जोडिएको बरेङ बाटाचौर नाका, मुसिकोटसँग जोडिएको खर्वाङ नाका, रुकुम र रोल्पासँग जोडिएको भल्कोट नाका, म्याग्दीसँग जोडिएका लमान, ताराखोला र ढोरपाटन नगरपालिकाका नाका तथा म्याग्दीको रत्नेचौरसँग जोडिएको कुँडुले नाकामा निगरानी बढाउने निर्णय गरेको छ ।





