शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ जिल्लाभर बनेका क्वारेन्टाइनको खर्च करोड बढी

बागलुङ जिल्लाभर बनेका क्वारेन्टाइनको खर्च करोड बढी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७७, आइतबार

बागलुङ, ४ जेठ – कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन लकडाउन सुरु हुने बेलामा धेरै क्वारेन्टाइन निर्माणको लहर चल्यो । ती क्वारेन्टाइन निर्माणमा अधिकांस बाहिरी संघसंस्थाले निर्माणमा साथ दिएपनि आबस्यक बेड, खाने अन्न र आएका मानिसलाई गन्तव्यमा पठाउने काममा करोड बढी खर्च भएको छ ।
क्वारेन्टाइन निर्माणमा मात्रै झण्डै ८० लाख रुपैयाँ खर्चेका पालिकाले व्यवस्थापकीय र खानपानमा कति खर्च भयो भन्ने यकिन तथ्यांक भने निकालेका छैनन् । तर ती क्वारेन्टाइनमा तोकिएको समय बस्ने थोरै मात्र भए । व्यवस्थापकीय खर्चसमेत जोड्दा करोड बढी हुने अनुमान छ ।
गलकोट नगरपालिकाको कांडेबासमा ३ जना र बरेङ गाउँपालिकामा ९ जना मात्रै दुई सातासम्म क्वारेन्टाइनमा बसेका थिए । सबैभन्दा धेरै मानिस बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा बसेपनि कसैले दुई साता बस्नु परेन । बढीमा तीन रात बसेर गन्तव्यमा गए । बागलुङ नगरपालिकाले क्वारेन्टाइन निर्माणमा मात्रै १५ लाख खर्चेको थियो ।
अन्य पालिकाले निर्माणमा २ देखि ५ लाख खर्च गरेका हुन् । क्वारेन्टाइन निर्माणमा गरेको रकमभन्दा अधिकांस पालिकाले व्यवस्थापनमा बढी खर्च गरेका छन् । सदरमुकामस्थित रामरेखा आधारभूत बिद्यालय र धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा बनेको क्वारेन्टाइनमा एकपटकमा ६० जनासम्म बस्न मिल्छ । पैदल यात्री मजदुरदेखि बिदेशबाट आएका समेत गरी महिना दिनमा झण्डै ३ सय जना बसेका थिए । केही शंकास्पदलाई राखेपनि नेगेटिभ रिपोर्ट आएपछि फिर्ता भएका छन् । उनीहरुको खानपान र गन्तव्यमा पठाउने कामसमेत गर्दा थप १० लाख रुपैयाँ र ३ सय लिटर तेल खर्च भएको नगरप्रमुख जनकराज पौडेलले बताए । नगरपालिकाले बनाएको खाद्य बैंकमार्फत बिभिन्न व्यवसायीले पनि सहयोग गरेर १ हजार १ सय जनालाई २० हजार केजी खाद्यान्न बितरण गरिएको हो ।
शंकास्पद संक्रमित भेटिएमा कम्तिमा दुइसाताका लागि राख्नका लागि भनेर बनेपनि अधिकांस पालिकाका क्वारेन्टाइन भने प्रयोगबिहिन भएको जनप्रतिनिधिहरु नै बताउँछन् । ‘झण्डै ५ लाख खर्चेर क्वारेन्टाइन बनाइयो, तर एकजना पनि बसेनन्’ ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले भने, ‘कोही भोको नपरुन् भनेर व्यक्तिगत र नगरको सहयोग दियौं, तर घरमै गएर सुरक्षित बन्न लगायौं ।’ नेपालीले व्यक्तिगत खर्चमा ६ सय जना परिवारलाई घरमा पुगेर राहत बाँडेको बताए । नगरपालिकाले २ हजार घरमा राहत पु¥याएको तथ्यांक छ । क्वारेन्टाइनको रुपमा निर्माण गर्दा मात्र खर्च भएपनि व्यवस्थापनमा खर्च नभएको हो ।
तमानखोला गाउँपालिकाले झण्डै २ लाख खर्चेर बनाएको १५ जना अट्ने क्वारेन्टाइनमा पनि कोही बसेनन् । गलकोट नगरपालिकाले थप ३० जना मजदुरलाई बसेकै स्थानमा खाने व्यवस्थापन गरायो । ८० मजदुरलाई बस रिर्जभ गरेर घर पठाउँदा थप २ लाख खर्च भएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
बरेङ गाउँपालिकाले बनाएको ४३ बेडको क्वारेन्टाइनमा झण्डै ५ लाख खर्च भएको अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । भारतदेखि आएका ३ जना र अन्य सहरदेखि आएका ९ गरी १२ जनालाई क्वारेन्टाइनमा राख्यो । ४० जनालाई तीन दिन राखेपछि आरडिटी नेगेटिभ देखिएकोले घर पठाएको उनले बताए । उनीहरुको खानपान समेत गर्दा ७ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए । सबैपालिकाले दिएको तथ्यांकमा ३ सय ५० जना मानिस बस्ने क्वारेन्टाइन बनेका थिए ।
ढोरपाटन नगरपालिकाले पनि अनुमानित ५ लाख खर्चेर उत्तरगंगा माबिमा बनाएको क्वारेन्टाइनमा एकजना पनि बसेनन् । ‘आएका सबैलाई सुरक्षित रुपमा घरमा पठाइयो’ नगरप्रमुख देवकुमार नेपालीले भने, ‘पहिला बाँचौ र खाऔं भन्ने सिद्दान्तमा काम गरियो ।’
बडिगाड गाउँपालिकाले ४ लाख खर्चेर क्वारेन्टाइन बनायो । ती क्वारेन्टाइनमा ३३ जनालाई राखेको थियो । उनीहरुको खर्च र पालिका भर बितरण गरेको राहतसहित २९ लाख रुपैयाँको खर्च सार्वजनिक गरेको छ । राहत कोष बनाएर सबै रकम एकद्वारबाट खर्चेको अध्यक्ष मेहरसिंह पाइजाले बताए ।
काठेखोला गाउँपालिकामा पनि ४६ बेडको क्वारेन्टाइन बनाएकोमा १ जना महिलालाई १ रात मात्र राखेको अध्यक्ष अमर थापाले बताए । ‘निर्माणमा ५ लाख खर्च गरियो, तर आरडिटी पोजेटिभ देखिएकी एक महिलालाई एकरात राखियो, भोलीपल्ट पिसिआर नेगेटिभ आएपछि घर पठाइयो’ थापाले भने, ‘क्वारेन्टाइन काम लागेनन् ।’ होम क्वारेन्टाइनमै बस्न चाहेकोले सबै घरघरमै सुरक्षित बसेको उनले बताए ।
ताराखोला गाउँपालिकाले भने क्वारेन्टाइनमा न्युन खर्च गरेको थियो । २ लाख रुपैयाँ मात्र खर्चेकोमा ९ जनालाई राखेको तथा २० मजदुरलाई आश्रयस्थलको रुपमा प्रयोग गराएको अध्यक्ष प्रकाश घर्तीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->