बागलुङ, ८ जेठ – जिल्लाको वडिगाड गाउँपालिका वडा नं. २ सिमलचौर हुकुर्थुम डाँडामा शिव भनिने सुरज बहादुर कुमालको घरगोठ गएराती भएको आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । राति ९ बजे पछि भएको आगलागि प्रहरी र स्थानियको सक्रियतामा राति ११ बजे पछि नियन्त्रणमा आएको थियो । घर र गोठ एकैठाउँमा तथा खरको छानो भएको र राती भएकोले गोठमा बाँधीएका पशु फुकाउनु बाहेक केहि जोगाउन नसकिएको स्थानीयले वताए । आगजानीबाट २ लाख ४५ हजार बरावरको क्षति भएको खर्वाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक गुरु प्रसाद न्यौपानेले बताए । घर धनि सुरज मदिराले माती घरमा श्रीमती राधिका र छोरा छोरीलाई पिट्न थालेपछि भागेको र सोही समयमा सुरजले नै आफ्नै घरमा आगो लगाएको स्थानियले बताएका छन् ।
पिडित राधिकाले श्रीमानले आफुहरुलाई कुट्न थालेपछि छोराछोरी हातमा लिइ ज्यान वचाउँन छिमेकीको घरमा पुगेकोले त्यतिनै बेला रिसले चुर भएका श्रीमानले आगो लगाएको बताइन् । घरमा आगो लगाएर घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानियले घर भित्रैबाट निकालेका थिए । आगो नियन्त्रणमा आएपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिई प्रहरीचौकी खर्वाङमा राखेको छ । घटनाको थप अनुसन्धान भैरहेको र आरोपित सुरजलाई जिल्ला चलान गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
उता, यसवर्ष वडा कार्यालयको खरको छानो विस्थापित गरी टि नको छाना लगाउने तयार गरिएका सवै काठसहित सिँगो घर गोठ नै जलेपछि परिवार विचल्लीमा परेको छ । दैनिक रुपमाज्याला मजदुरीवाट गुजारा गर्दै आएको परिवारमा लत्ता कपडा सहित घरमा भएको सवै जलेपछि विचल्लीमा परेको हो । परिवारमा श्रीमान्, श्रीमती सहित ३ छोरा र १ छोरी रहेका छन ्। जेठो छोराले काठमाडौंमा होटलमा काम गर्ने गरेपनि अहिले बन्दाबन्दिले समस्या परिरहेको र घरमा रहेका छोराछोरी साना भएकोले थप समस्या पर्ने देखिएको हो । अहिले छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङले त्रिपाल सहित सहयोग गर्ने अध्यक्ष होमनाथ अर्यालले जानकारी दिए । विचल्लीमा परेको सो परिवारलाई सहयोगको खाँचो देखिएको छ ।





