बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विकासमा तीन सरकारको सहकार्य जरुरी : नगरप्रमुख खनाल

विकासमा तीन सरकारको सहकार्य जरुरी : नगरप्रमुख खनाल


  • हिमलाल पराजुली
  • जेष्ठ १४ २०७७, बुधबार

विश्व यतिबेला महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संग जुधिरहेको छ । नेपालमा पनि कोरोना संक्रमणको गति दैनिक रुपमा बढ्दै गएको छ । मंगलबार मात्रै स्याङ्जामा पहिलोपटक दुई जना कोरोना संक्रमणका बिरामी फेला परेका छन् । भारतबाट आई वालिङस्थित सामुदायिक क्वारेन्टाइनमा बस्दै आएका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्याङ्जामा पहिलोपटक कोरोना संक्रमित थपिएपछि त्रास सिर्जना भएको छ । कोरोना रोकथाम र नियन्त्रणको लागि स्थानीय तहहरुले अनेकन प्रयास जारी राखिरहँदा स्याङ्जामा कोरोनाका संक्रमित भेटिएपछि झन् सचेत हुने अवस्था सिर्जना भएको छ । कोरोना रोकथाम र नियन्त्रणमा स्याङ्जाकै भीरकोट नगरपालिका पनि लागिपरेको छ । भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालसंग कोरोना रोकथाम र नगरको विकासका लागि गरिएका काम, त्यसको प्रभाव र आगामी योजनाका विषयमा ढोरपाटनकर्मी हिमलाल पराजुलीले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

यतिबेला मुलुक कोभिड–१९ का कारण लकडाउनमा छ । यो विपत्तिमा तपाई तपाई के गर्दै हुनुहुन्छ ?
– हो, मुलुक यतिबेला कोरोना भाइरस (कोभिड–१९) कारण समस्यामा परेको छ । यसको संक्रमणलाई फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेको छ । मुलुक बन्दाबन्दीमा रहेको अवस्थामा म पनि कसरी यो विपत्तिको सामना गर्न सकिन्छ भनी लागिपरेको छु ।
– कोरोना रोकथाम र यसबाट सृजित समस्यालाई व्यवस्थापन गर्न कस्ता कार्यक्रम संचालन गर्नुभएको छ ?
पहिला त हामीले नगरबासीलाई सचेत गराउनले अभियान संञ्चालन ग¥यौ । लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण र उद्वार कार्यमा नगरपालिकाले काम गरिरहेको छ । बिरामीको उपचार र नगरबासीले खानेकुराको अभाव झेल्न नपरोस् भनेर आवश्यकताको आधारमा राहत सामग्री बितरण गर्नुका साथै यसको ब्यवस्थापन गरिरहेका छौ । भीरकोट नगरपालिका सिद्धार्थ राजमार्गमा रहेकोले कोरोना भाइरसको संक्रमण र नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेपछि कामको सिलसिलामा बिभिन्न ठाउँ र जिल्लाबाट घर जान हिँडेका यात्रुहरुलाई खाना खुवाएर पठाउने गरेका छौं । बन्दका कारण अलपत्रमा परेका नागरिक जुन ठाउँका भएपनि सहयोग गर्नुपर्छ भनेर सहयोग गरिरहेका छौं । बन्दाबन्दीका कारण समस्यामा परेका जेष्ठ नागरिकहरुलाई बैंकसंग समन्वय गरेर बृद्धाभत्ता बितरण गरेका छौं भने गाउँ गाउँमा किसानले उत्पादन गरेका वस्तुलाई हाटबजारमा ल्याएर बिक्री गर्ने ब्यवस्था मिलाएका छौं । यसले यो बन्दाबन्दीमा किसानलाई निकै सहयोग पुर्याएको छ ।
राहत, उद्वार र सहयोगको लागि आवश्यक पर्ने आर्थिक ब्यवस्थापनको पाटोलाई कसरी केलाउनु भएको छ ?
– अवस्य पनि यी कामहरु गर्नको लागि आर्थिकको आवश्यकता आवश्य नै पर्छ । यसको लागि नगरपालिकाले राहत कोषको स्थापना गरेको छ । त्यसमा विभिन्न संघसंस्था एवं समाजसेवीहरुबाट कोषमा रकम सहयोग भइरहेको छ । प्रदेश सरकारबाट पनि सहयोग उपलब्ध भएको छ । यसरी नै आर्थिक पाटोलाई ब्यवस्थापन गरेका छौं ।
नगरको विकासका लागि के–के काम गर्नुभएको छ ?
– समग्र नगरको विकासको लागि योजना बनाएर अगाडी बढेका छौं । मानविय विकास, भौतिक विकास, आर्थिक विकास, सामाजिक विकास र सांस्कृतिक विकासमा हामीले काम गरिरहेका छौं । जबसम्म व्यक्तिगत समृद्धि हासिल गर्न सक्दैनौ तबसम्म समृद्धिको लक्ष्यमा पुग्न नसकिने भएकोले सोही अनुसार काम गरिरहेका छौं ।
भीरकोट नगरपालिका कृषि र पर्यटनका क्षेत्रमा निकै सम्भावना भएको पालिकामा पर्छ, यो क्षेत्रलाई अगाडि बढाउन कसरी काम भइरहेको छ ?
– हो, यहाँले निकै महत्वपुर्ण कुरा उठाउनु भो ! जबसम्म कृषि र किसानको महत्व बुझ्न सकिदैन तबसम्म गरिएका कुनै पनि विकासका कामले अर्थ राख्दैन भनेर हामीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिहेका छौ । यस क्षेत्रमा लागेका किसानहरुलाई प्रोत्साहान गर्नको लागि अनुदान दिनुका साथै किसानलाई आवश्यक पर्ने बिउबिजन उपलब्ध गराउने र उत्पादित वस्तुको विक्रीबितरणको लागि समेत हाटबजारको ब्यवस्था मिलाएका छौं । कृषिका माध्यामबाट मात्रै दिर्घकालिन रुपमा रोजगारी सिर्जना गर्न सकिने ठानेर नगरपालिकाले यस क्षेत्रलाई बढि प्राथमिकतामा राखेको छ । भीरकोटमा प्याराग्लाइडिङको लागि सिर्ककोट मैदान निकै चर्चामा रहेको ठाउँ हो । यसका साथै ऐतिहासिक गडहरे गुफा, धार्मिक पर्यटकीय स्थलका रुपमा विकास हँुदै गएको छाँयाक्षेत्र मन्दिरका साथै केही बस्तीहरुलाई होमस्टेका रुपमा विकास गरेर पर्यटनका माध्यामबाट रोजगारी र आम्दानी लिने योजना अनुुसार कामको सुरुवात गरेका छौं ।
तर, तपाईले किसानको लागि काम गर्नु भएन, किसानले हामीलाई नगरपालिकाले हेरेन भन्ने गुनासो छ नि ?
– कृषिको क्षेत्रमा किसानको माग बढि छ । किसानले चाहेजति काम गर्न नसकेको पक्कै हो, कामै नगरेको चाहिँ होइन । चाहेर पनि काम गर्न सक्ने अवस्था छैन । किनभने कृषिमा काम गर्नको लागि प्रविधिक र कर्मचारीको अभावले गर्दा चाहँदा चाहँदै पनि काम गर्न नसकिएको चाहिँ सत्य हो, जति गर्नुपर्ने थियो त्यो गर्न सकिएको छैन ।
नगरमा पुर्वाधारका क्षेत्रमा के के काम गर्नु भएको छ ?
– पुर्वाधारका क्षेत्रमा लकडाउनकै बीच पनि विभिन्न निर्माण कार्यहरु भइरहेका छन् । लकडाउनमा सरकारले सबै काम बन्द गर्न भनेपनि हामीले ठुला योजनाको काम रोक्न नहुने भन्दै सामाजिक दुरीका साथै बिभिन्न किसिमका सुरक्षाका उपायहरु अपनाएर कामलाई अगाडी बढायौं, यसले गर्दा हाम्रो क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेका मोटरेवल पुलको ढलान कार्य सम्पन्न भएको छ । पछि सरकारले पनि विकास निर्माणका काम सामाजिक दुरी कायम राख्दै अगाडी बढाउने भनेपछि काम गर्न थप सहज भएको छ । बाटाघाटादेखि लिएर खानेपानीका क्षेत्रमा अहिले धमाधम काम भइरहेको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा के कस्ता काम भइरहेका छन् ?
– नगरपालिकाले शिक्षा र स्वस्थ्यलाई महत्वपुर्ण रुपमा लिएको छ । शिक्षा क्षेत्रमा स्थानीय स्तरमा रहेका विद्यालयहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री सहयोग गर्नुका साथै विद्यालय जानबाट कोही पनि बञ्चित नहोस् भनेर बिभिन्न किसिमका अभियान चलाएका छौं । अझ महत्वपुर्ण कुरा त भीरकोटलाई बालमैत्री नगरपालिकाका रुपमा घोषणा गर्ने अन्तिम तयारीमा पुगेका थियौ, अफसोच ! लकडाउनका कारण यो कार्य रोकिएको छ । वातावरण अनुकुल बनेपछि घोषणा गर्छौ । जनतालाई कसरी सहज रुपमा स्वाथ्य सेवा दिन सकिन्छ भनेर लागिपरिरहेका छौ ।
निर्वाचनका बेला गरेका प्रतिबद्धता कति पुरा गर्नुभयो, मतदाताले त चुनावी प्रतिवद्वता छ भुल्नु भयो भन्छन् नि ?
– निर्वाचनका बेलामा मैले यो गर्छु, त्यो गर्छु भनेर मैले बाचा गरिन । किनभने जनप्रतिनिधी भइसकेपछि जनताका सबै काम गर्नुपर्छ । त्यसैले पहिला मैले जनतालाई आश्वासन दिने काम गरिन । कहिँकतै मेरा साथीहरुले गर्नु भए होला । म सबै जनताको आवश्यकताका कामहरु इमान्दार भएर गरिरहेको छु भन्ने लागेको छ । म जनताको लागि काम गर्नुपर्छ भनी लागिरहेको छु ।
अन्त्यमा, पत्रिकामार्फत आफ्ना नागरिक केही भन्न चाहनु हुन्छ ?
– म यहाँकोअनलाइन पत्रिकामार्फत के भन्न चाहन्छु भने विकास एक्लैले गरेर सम्भव हुने कुरा होइन । हामी सबै मिलेर गर्नुपर्छ । समग्र भीरकोटको विकासका लागि हामी सबै मिलेर अगाडी बढौ । संघिय सरकार र प्रदेश सरकारबाट पनि हामीलाई राम्रै सहयोग भइरहेको छ । विकास निर्माणका काम गर्दा तीनै तहको समझदारी र समन्वयमा काम गर्ने वातावरणको निर्माण गर्नेतर्फ सबै लागौ, यसले हामीलाई गन्तव्यमा पुग्न थप मद्दत मिल्ने छ । अन्त्यमा, अहिलेको यो कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं भन्न चाहन्छु । हाम्रो नगरपालिकालाई बनाउने अभियानमा सबै हातेमालो गरेर अगाडी बढौ भन्न चाहान्छु । धन्यवाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->