बागलुङ, १४ जेठ– सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङ र सिवाईसी साकोसले गलकोट नगरपालिका र जैमिनी नगरपालिकाले स्थापना गरेका कोरोना कोषमा आर्थिक सहयोग गरेका छन् ।
लम्बिदो लकडाउनले गरीब, अति विपन्न र असक्त परिवारलाई राहत पुगोस् भन्ने उदेश्यले गलकोटको कोरोना कोषमा ४५ हजार र जैमिनीको कोषमा २५ हजार रुपैयाँ सहयोग गरेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सूचना शाखाले जनाएको छ ।
संस्थाले समुदायप्रतिको उत्तरदायित्व बहन गर्दै संस्थाको छुट्टाछुट्टै टोलीले बुधबार गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे र जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेललाई सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग ग्रहण गर्दै नगरप्रमुखद्वय गैरे र शर्माले कोरोना भाइरसले सबैलाई आतंकित बनाईरहेको बेला हुनेखाने वर्गले हुँदा खाने वर्गलाई सहयोग गर्नु नै मानवीय दायित्व भएको बताएका थिए । जैमिनी नगरपालिकाको कोषलाई हस्तान्तरण गरिएको सहयोगमध्ये संस्थाको तर्फबाट २० हजार र शाखा कार्यालयका कर्मचारीहरुको तर्फबाट ५ हजार उपलब्ध गराईएको हो ।
यस्तै, संस्थाले लकडाउनका कारण आफ्ना सदस्यलाई पर्न गएको असरप्रति ध्यान दिँदै वैशाखदेखि आषाढसम्मको ऋणमा लिँदै आएको ब्याजदरमा ३ प्रतिशत छुट दिने व्यवस्था गरिएको समेत जनाएको छ ।





