पोखरा, २२ जेठ– कास्कीको माछापुच्छ«े गाउँपालिकामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले बहुउदेश्यीय फुटबल ट्रेनिङ सेन्टर स्थापना गर्ने भएको छ ।
माछापुच्छे« गाउँपालिका भेडावारीमा बन्न लागेको उक्त बुहुउदेश्यीय ट्रेनिङ सेन्टरको लागि पहिलो चरणमा १७ करोड ५५ लाख रुपैँया छुट्टीएको कास्की जिल्ला फुटबल संघ एन्फाका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । ‘हामीले गण्डकी प्रदेशको लागि फिफा मापदण्ड अनुसारको सुविधासम्पन्न ट्रेनिङ सेन्टरको स्थापना गर्न लागेको हौं । सोमबार बसेको एन्फाको केन्द्रिय कार्यसमितिको बैठकले बजेट छुट्याएको छ । विश्व फुटबल महासघं (फिफा) को सहयोगमा एन्फाले कास्कीमा ट्रेनिङ सेन्टर बनाउन लागेको हो । पहिलो चरणको बजेट छुट्टिएको छ यस्मा बजेट थपिँदै जान्छ’, अध्यक्ष गुरुङले भने । भेडावारीमा बन्न लागेको ट्रेनिङ सेन्टरको लागि एन्फाको नाममा ५ सय रोपनी जग्गा छ । सरकारले एन्फालाई जग्गा भोगचलन गर्न दिइसकेको अध्यक्ष गुरुङले बताए । ‘कास्कीमा बन्न लागको बहुउदेश्यीय ट्रेनिङ सेन्टरको लागि केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा, खेलकुदमन्त्री तथा गण्डकी प्रदेश भित्र रहेका एन्फा अध्यक्षहरुको महत्वपूर्ण भूमिका छ । यो प्रदेशको लागि हो’, गुरुङले भने । जग्गा भने माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङको विशेष पहलमा उलब्ध भएको हो । उक्त ट्रेनिङ सेन्टरमा ३५ जनासम्म राख्ने मिल्ने चार बेग्ला बेग्लै होस्टेल निर्माण गरिने उनले बताए । ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समुहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
गुरुङका अनुसार ५ हजार दर्शक क्षमता सहितको तीन प्राकृतिक मैदान, दुई कृतिम (आर्टिफिसियल) मैदान, दुई बालुवा मैदान, स्विमिङ पुल, रेष्टुरेन्ट, पुस्तकालय, जिमहल र सभा हल समेत निर्माण गरिनेछ । फिफाले तीन चरणको परियोजना निर्माणको काम सक्न एन्फालाई निर्देशन दिएको उनले बताए । ‘पहिलो चरणको काम सकिएपछि अर्को वर्ष पनि बढ्दै जानेछ । फिजियो अस्पताल लगायतको लागि समेत बजेट आउनेछ’, गुरुङले भने ।





