बागलुङ, २२ जेठ– बिहिवार बागलुङमा भेटिएका १० जना कोरोना संक्रमित सबै अघिल्लो साता भारतबाट आएको पुष्टी भएको छ । उनीहरुलाई जेठ ९ गते सुनौली र काकरभिट्टाबाट उद्दार गरेर ल्यायएको हो । आएपछि उनीहरु सोझै क्वारेन्टाइनमा बस्दै आएका छन् ।
बागलुङमा जेठ लागेपछि १ हजार ३ सय ९० जना भारतबाट आएकाहरु क्वारेन्टाइनमा बस्दै आएका छन् । ती मध्ये अहिले सम्म ३ सय जनाको मात्र पीसीआर परीक्षण गरिएको छ । नियमित स्वाब संकलन गरेर परीक्षणका लागि पठाउन व्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए ।
थपिएका मध्ये गलकोट नगरपालिकाका २०, २२ र २३ बर्षका युवाहरु छन् । त्यस्तै बडिगाड गाउँपालिकाका १६, २०, २१ र २५ बर्षका युवा छन् । निसीखोला गाउँपालिकामा भने २२ र २९ बर्षका पुरुष तथा ३३ बर्षकी महिला समेत छिन् । गुरौका अनुसार उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका हरु हुन् । स्थानीय जनप्रतिनिधिले पनि उनीहरुलाई साता अघि भारतको सिमानाबाट उद्दार गरेर ल्याएपछि सिधै क्वारेन्टाइनमा राखिएको बताए ।
धौलागिरी अञ्चल अस्पतालमा अहिले सम्म १६ वटा मात्र आइसोलेसन कक्ष छन् । ती मध्ये ९ वटामा बिरामी रहेकोले बिहिवार भेटिएका सबैलाई राख्न सकिने अबस्था छैन । अस्पताल र प्रशासनले ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा पनि आइसोलेसन बनाउन पूर्वाधार तयार गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । ‘हामीलाइ आइसोलेसन बनाउन भनिएको छ, तर कसरी बनाउने, प्राविधिक साथ र सहयोग भने कसैले गरेको छैन’ गलकोट नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘केन्द्र र जिल्लाले पालिकालाइ कामदार बनाएको छ ।’ बिहिवार दिउसो सम्म संक्रमित पुष्टी भएकाहरु क्वारेन्टाइनमै थिए । म्याग्दी, पर्वत र स्याङ्जामा संक्रमण देखिएका पनि सबै भारतबाट आएका रहेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।





