बागलुङ, ३२ जेठ– रोग र भोकबाट जोगाउन सरकारलाई आग्रह गर्दै युवाहरुले बागलुङ बजारको लोकतान्त्रिक चोकमा प्रदर्शन गरेका छन् । देशभक्ति गीतहरुमा युवाहरुले सरकारलाई सचेत गराउँदै सडकमा प्रदर्शन गरेका हुन् । स्वतन्त्र युवा नाम दिईएको समुहले बागलुङमा सामाजिक दूरी कायम गर्दै सरकारका काम तथा गतिविधिविरुद्ध प्रदर्शन गरेको समुहका सदस्य सुजन सापकोटाले बताए ।
कोरोना भाईरसको नियन्त्रणमा सरकारले सफलता पाउन नसकेको, खर्च बढी देखाएको, भ्रष्टाचार मौलाउँदा सरकार मौन बसेको लगायतका आरोप लगाउँदै युवाहरु सडकमा आएका हुन् । युवाहरुले कोरोना भाईरसको परीक्षणका लागि पिसीआर प्रबिधिनै अपनाउनुपर्ने, जाँचको दायरालाई बढाउनुपर्ने, लकडाउनको बिकल्प खोज्नुपर्ने लगायतका माग गरेका थिए ।
लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका क्षेत्र समावेश गरेर नयाँ नक्सा जारी गरेकोमा भने उनीहरुले सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए । ‘जनता भोकमरी र कोरोनाले ग्रस्त, प्रधानमन्त्री आफ्नै उखान टुक्कामा मस्त’, ‘बोले थुन्ने, तयारी शुन्य’, बाँचुन्जेल हाहाकार र लाठीचार्ज, अश्रुग्यास, पानी, मरेपछि पिसीआर’जस्ता नारा लेखिएका प्ले–कार्डहरु उनीहरुले प्रदर्शन गरेका थिए । चर्को घाममा पनि राष्ट्रिय गान र देशभक्ति गीत गाएर युवाहरुले शान्तिपूर्ण रुपमा आन्दोलन गरेको सापकोटाले बताए ।





