पोखरा, २ असार : आगामी फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले माग अनुसारको बजेट भने छुट्याएको छैन । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले प्रदेश सरकारसंग खेल पूर्वाधार निर्माण एवं मर्मत सम्भारको लागि ४ करोड ५० लाख रुपैयाँ माग गरेको थियो । भने व्यवस्थापनतर्फ भने २ करोड ८८ लाख रुपैँया बजेट माग गरेको थियो । तर, प्रदेश सरकारले भने १ करोड ५० लाख मात्र छुट्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले बजेट प्रस्तुत गर्दै ‘राष्ट्रिय खेलकूद परिषदबाट पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने हाम्रा खेलाडीहरूको आवश्यक व्यवस्थापन र प्रशिक्षणका लागि रू. १ करोड ५० लाख विनियोजन गरेको छु । प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने आवश्यक व्यवस्था समेत मिलाएको छु ’, भने ।
माग अनुसारको बजेट नआएको पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए । ‘हामिले पहिले व्यवस्थापनको लागि रकम माग गरेका थियौ । पछि फेरी पुर्वाधारको लागि ४ करोड ५० लाख मागेको थियौ । नवौ हाम्रो लागि अवसर पनि थियो’, योगीले भने । पुर्वाधारको लागि छुट्याएको भए खेल पुर्वाधार विकास राम्रो हुने उनले बताए । केन्द्रीय सकारसँग माग गरेको ४३ करोड ७० लाख रकमले मात्र पर्याप्त नहुने हुदाँ प्रदेशसँग समेत माग गरिएको उनले बताए ।
नवौं राष्ट्रिय खेलुकद प्रतियोगिताको पुर्वाधार तयार पार्न अन्य विभिन्न जिल्लामा समेत बजेट माग गरिएको छ । पोखरा रंगशालामा एथलेटिक्स र फुटबल प्रतियोगिता सञ्चालन गरिने छ । पोखरामै आयोजना हुने बक्सिङको लागि ४० लाख, तेक्वान्दो महिला तथा पुरुष(बागलुङ)मा प्रस्ताव गर्दै ३० लाख रुपैयाँ माग गरिएको छ । कराँते महिला तथा पुरुष(पर्वत) ४० लाख, भारोत्तोलन बाग्लुङमा गरिने भन्दै समितिले ३५ लाख रुपैयाँ माग गरेको कार्यलय प्रमुख योगीले बताए ।
पोखरामै भलिबल आयोजना गरिने छ । २५ लाख माग गरिएको छ । मुस्ताङमा टेबलटेनिस आयोजना गर्ने योजना सहित कभर्ड हलको लागि १ करोड रुपैयाँ माग गरिएको छ । नवलपुरमा कबड्डीको लागि २० लाख, व्याडमिन्टन(लमजुङ) एक करोड रुपैयाँ, नवलपुरमा कुस्तीको लागि २५ लाख, पोखरामा उसुको लागि २० लाख, जुडो(गोरखा)लाई २५ लाख, बास्केटबल (तनहुँ) २० लाख, बुद्धिचाल(मनाङ) ५० लाख, ह्याण्डबल (पोखरा) ४० लाख म्याटको लागि माग गरिएको छ ।
आईटिएफ तेक्वान्दो(स्याङजा) ५० लाख, फुलकन्ट्याक्ट कराँते(म्याग्दी) ३५ लाख, ह्क्की(पोखरा)२५ लाख, स्क्वास(पोखरा) ३५ लाख, सुटिङ(पोखरा) ९ करोड ५० लाख, जिम्न्याष्टिक(पोखरा) २५ लाख, लन टेनिस(पोखरा) २० लाख, सफ्ट टेनिस(पोखरा), क्रिकेट(पोखरा) ७० लाख, साईक्लिङ(पोखरा)१५ लाख, आर्चरी (पोखरा) १५ लाख, सेपाक ताक्रो(पोखरा) ३० लाख, खो खो(नवलपुर) ३५ लाख, फेन्सिङ(पोखरा)२० लाख, पौडी(पोखरा) २० करोड, गल्फ(पोखरा) ३५ लाख, शारीरिक सुगठन(पोखरा) २० लाख, प्याराग्लाईडिङ(पोखरा) २० लाख, ट्रायथोलन(पोखरा) ३० लाख रुपैयाँ रहेको छ । यसैगरी दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना हुदाँ राखिएको दोहोरी गीत प्रतियोगितालाई राख्न प्रस्ताव समेत गरिएको छ । दोहोरी गीत प्रतियोगिताको लागि पनि २० लाख रुपैयाँ बजेट माग गरिएको छ ।
पूर्वाधारसहित पोखरा रंगशाला प्राक्टिस मैदान, खानेपानी डिप बोरिङ, मिडिया सेन्टर, मेडिकल सेन्टर निर्माण लगायतलाई १ करोड ५० लाख रुपैयाँ माग गरिएको समितिले जनाएको छ । प्रदेश सरकारसँग खेल सामाग्रीको लागि २० लाख, खेलस्तर ग्रिनरी एवं सजावटको लागि ५० लाख, गण्डकी प्रदेशबाट छनौट भएका खेलाडीहरुलाई २० दिने बन्द प्रशिक्षणको लागि १ करोड ७५ लाख, खेलाडी तथा अफिसियललाई मायाको चिनो प्रदान गर्न १८ लाख, स्वागत गेट निर्माण गर्न १५ लाख, प्रचार प्रसारको लागि १० लाख रुपैयाँ माग गरिएको हो ।





