बागलुङ, ४ असार– धौलागिरि अस्पतालको आइसोलेसनमा उपचाररत ७ जना कोरोना संक्रमित बिहिबार घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका उनीहरुमा १४ दिनसम्म कोरोनाको कुनै लक्षण नदेखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिए ।
डिस्चार्ज भएकामध्ये बडिगाड गाउँपालिकाका ४ युवा र गलकोट नगरपालिकाका ३ युवा छन् । उनीहरु सबै जेठ पहिलो साता भारतबाट आएका थिए ।
डिस्चार्ज भएका बडिगाडका ४ युवा बिहीवारै घर फर्केका छन् । गाउँपालिकाको एम्बुलेन्सले उनीहरुलाई गाउँ लगिदिएको हो । गलकोटका ३ युवा भने डिस्चार्ज भए पनि सवारी नपाएर अस्पतालमै छन् । नगरपालिकाले गाडी नपठाएकोले उनीहरु अस्पतालमै रहेको सूचना अधिकारी तीर्थ गौतमले बताए ।
नगरप्रमुख भरत गौतमले भने निको भयो भनिएका युवाको पीसीआर नेगेटिभ हुनुपर्नेमा सोझै घर पठाइएकोले बिहीबार गाडी पठाउन नसकेको बताए । गलकोटमा आइसोलेसन निर्माण थालिए पनि पुरा नभएको र संक्रमितलाई निको नभई घर पठाउँदा समुदायले के भन्छन् भनेर तत्काल ल्याउन नसकेको नगरप्रमुख गैरेले प्रतिक्रिया दिएका छन् ।
डा. पोखरेलले भने कोरोना हो भन्ने कुनै लक्षण नभएपछि घर पठाउन सकिने, उनीहरुबाट अर्कोमा सर्ने सम्भावनासमेत नभएकोले विश्व स्वास्थ्य संगठनले पनि यो मापदण्ड बनाएको बताए । ‘राम्रै अध्ययनबाट यस्तो निष्कर्ष निस्केको होला, १५ दिन अस्पताल बस्दा पनि उनीहरुमा लक्षण देखिएन’ पोखरेलले भने, ‘घर गएर पनि कम्तीमा एकरदुई साता सुरक्षित बस्दा केही फरक पर्दैन ।’ अस्पतालको बसाईभन्दा घरको झनै सुरक्षित हुने उनले बताए ।





