बागलुङ, ७ असार– म्याग्दीको बेनी अस्पताललाई सुविधा सम्पन्न बनाउन पूर्वाधार थप गर्न थालिएको छ । त्यसकालागि यसवर्ष पाँच करोडभन्दा बढी लागतमा उपकरण खरिद र पूर्वाधार निर्माणको काम भइरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
खरिद प्रक्रियामा रहेका उपकरण जडान भएपछि बेनी अस्पतालको उपचार सेवा सहज हुनका साथै सर्वसाधारणलाई गुणस्तरीय सुविधा पुग्ने समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा १५ बाट ५० शैया क्षमतामा स्तरोन्नती भएको अस्पतालमा पूर्वाधार र उपकरण थप गर्ने काम अहिले जोडतोडका साथ चलिरहेको छ । स्तरोन्नतिलगत्तै ५० शैया क्षमताको अस्पताल भवन निर्माण कार्यलाई निरन्तरता दिइएको अध्यक्ष कटुवालले जानकारी दिए ।
अस्पतालमा मिर्गौला रोगी बिरामीकालागि नियमित डायलासिस सेवा शुरु गर्न प्रदेश सरकारले गरेको ३५ लाख सहयोगमा हेमोडायलाइसिस युनिट स्थापना भइसकेको छ । गत फागुनमै तयार पारिएको डायलाइसिसका पूर्वाधार कोरोनाको जोखिम र बन्दाबन्दीका कारण शुरु गर्न नसकिएको कटुवालले बताए । भेन्टिलेटिर सहितको सघन उपचार कक्ष, उपचारमा प्रयोग हुने औजार, अक्सिजन प्लान्ट, मर्चरी प्लान्ट, फोहोर व्यवस्थापन भवन र केन्द्र, स्टोर भवन र गाडी खरिद प्रक्रिया अघि बढिसकेको कटुवालले बताए । कटुवालका अनुसार, अस्पतालमा ७५ लाख बजेटबाट अक्सिजन पलान्ट र मर्चरी च्याम्बर स्थापनाका लागि ८ लाख बजेट प्राप्त भईसकेको छ ।





