बागलुङ, ७ असार– कोरोना भाइरस संक्रमण समुदायमा फैलिन नदिन बागलुङको गलकोट नगरपालिका क्षेत्रमा आइतबारबाट अत्यावश्यकबाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन एक हप्ताका लागि बन्द गरिएको छ । नगरप्रमुख भरत शर्माले विरामी, औषधि पसल, बिउबिजन तथा दाना उद्योगबाहेकका सबै व्यापार व्यवसाय र सवारी साधन एक हप्तासम्म बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
आइतबार प्रेस विज्ञप्ती जारी गर्दै नगरप्रमुख शर्माले नगरवासीलाई हतोत्साही नहुन र स्वतःस्फूर्तमा व्यापार व्यवसाय, व्यवसाय र आवतजावतलाई पूर्णरुपमा बन्द गरी नगरपालिकालाई सुरक्षित बनाउने अभियानमा सघाउन अनुरोध गरेका छन् ।
आइतबार बिहान गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गलकोट नगरपालिकाका चार जनामा कोरोना पुष्टि भएको छ । यससँगै गल्कोटमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । शर्माका अनुसार, तीन जना संक्रमित बागलुङ बजारको धौलागिरी अस्पतालको आइसोलेसनमा छन् । अन्य संक्रमित सम्बन्धित वडाको क्वारेन्टिनमै छन् । क्वारेन्टिनमा रहेका संक्रमितहरुलाई बागलुङमा लैजाने तयारी भएपनि बेड अभाव भएकाले नगरपालिकाले तयार पारेको प्रि–आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।





