पोखरा, ८ असार – पोखरा महानगरपालिकाले खेलकुद विकासको लागि एकिकृत कोषको स्थापना गर्ने भएको छ । खेलकुदको विकासमा नयाँ आयाम थप्न तथा खेलकुदलाई व्यवस्थित गर्नको लागि समेत कोषको आवश्यकता रहेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । ‘खेलकुदको विकासको लागि एकिकृत कोषको आवश्यक छ, कोष स्थापना गर्न सकिए खेलकुदको विकासमा नयाँ आयाम थपिने मात्र होइन व्यवस्थित समेत हुनेछ’, प्रमुख मानबहादुर जिसीले बताए ।
कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको डोजाङ प्रमुखलाई राहत तथा संघका पदाधिकारी तथा सल्लाहाकारहरुलाई कोरोना विमा कार्यक्रममा बोल्दै प्रमुख जिसीले उक्त कुरा बताएका हुन । सोहि क्रममा बोल्दै उनले भने,‘यसको सुरुवात महानगरले गर्ने छ । महानगरले पनि हरेक वर्ष खेलकुदको लागि बजेट छुट्टयाउदैँ आएको छ । कोषको निश्चित मापदण्ड तयार गरेर अघि बढ्ने र त्यसको शुरुवात महानगरले गर्नेछ’, उनले भने । अवको खेलकुद निर्वाहमुखी नभई व्यवसायीमुखी खेलकुद हुनुपर्नेमा उनले जोड दिए । अब आयोजना हुने खेलकुदहरु वार्षिक क्यालेण्डर सहित अघि वढ्नुपर्ने उनले बताए । खेलकुदले पनि पर्यटन प्रवधर्न गर्ने भएकोले पर्यटनबाट आउने केही स्रोत पनि उक्त कोषमा आउने वातावरण बनाउनुपर्ने जिसीको भनाई थियो । “निर्माण भएका पूर्वाधारको व्यवस्थापन र संरक्षणको आवश्कता छ’, उनले थपे,‘यसको संचालनका निकै ठुलो चुनौती समेत छ, भावी पुस्ताका लागि समेत यसको संरक्षण गर्नुपर्छ भोलि माल पाएर चाल नपाए जस्तो नहोस् ।’कोरोनाका कारण धेरै क्षेत्रले समस्या भोगेको बताउँदै प्रमुख जिशीले यो बन्दबन्दीको समयमा पोखरा महानगरले १५ अर्वको नोक्सानी व्यहोरेकोे बताए ।
यसतै कास्की जिल्ला तेक्वान्दो संघले आफ्ना मातहातका डोजाङ प्रमुखलाई राहतसँगै कास्की जिल्ला तेक्वान्दो संघका पदाधिकारी तथा सल्लाहाकारहरुलाई कोभिड १९ बीमा गरेको छ । कोभिड १९ महामारीका कारण करिव तीन महिनादेखि अवरुद्ध बनेका पोखराका १४ तेक्वान्दो डोजाङ प्रमुखहरुलाई राहत स्वरुप नगद १० हजार प्रदान गरेको हो भने २० जनालाई १ लाख बराबरको कोरोना विमा समेत गरेको छ । त्यसैगरि हालै सम्पन्न अन्तर्राष्ट्रिय भर्चुअल पुम्सेमा काश्य पदक जित्ने रेखमाया गुरुङलाई प्रोत्सहान स्वरुप नगद १० हजार प्रदान समेत संघले गरेको छ । पोखरामा संचालित २४ वटा डोजाङ र स्कुलहरु कोभिड १९ का कारण प्रभावित रहेको बताउँदै गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले डोजाङ प्रमुख र संघका सदस्यहरुको विमा गराएको बताए । डोजाङहरुमा प्रशिक्षण प्रभावित भएका कारण निकै ठूलो समस्या भोग्नु परेकोले डोजाङ प्रमुखहरुलाई राहत प्रदान गरेको जानकारी दिए । पोखरा रंगशालामाभित्र मार्शल आर्ट खेलका लागि बहुउद्देश्यीय कभर्डहल आवश्यक्ता रहेको कुरा उल्लेख गर्दै अध्यक्ष गुरुङले त्यसको डिजाइनिङ तयारी गर्न लागिएको बताए । उनले पोखरा महानगरलाई समेत उक्त कभर्डहल निर्माणका लागि सहयोग गर्न आग्रह गरे ।
राष्ट्रिय खेलकुद परिषदका (राखेप) सदस्य राजेश गुरुङले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि पोखरा महानगरले विशेष रुपमा सोच्न र बजेट विनियोजन गर्न आग्रह गरे । ‘अब पोखरा महानगर होस् वा प्रदेश सरकार कसैको पनि खेलकुदमा विनियोजित बजेट फ्रिज नहोस । कर्मचारीले कलम घुमाएर काममा ढिला सुस्ती गरेको देखिन आएको छ, विनियोजित बजेटको सही ठाउँमा सदुपयोग गर्न म आग्रह गर्छु ।’पोखरामा सञ्चालित १४ विभिन्न डोजाङ र स्कुलमा समेत गरि करिव १ हजार ५ सय तेक्वान्दो खेलाडीले प्रशिक्षण लिइरहेका छन ।





