पोखरा, १९ असार– नेपाल खेलकुदलाई अब शैक्षिक विषयको रुपमा समेत समावेश गरिने भएको छ । इतिहसमै पहिलो पटक खेलकुदलाई समेत छुट्टै विषय बनाएर समावेश गरिने भएको हो । गण्डकी प्रदेशले सञ्चालनमा ल्याउने योजना बनाएको विश्वविद्यालयमा खेलकुदको पनि विषय समावेश गरिने भएको हो । विश्वविद्यालय खोलेसंगै ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ राखिने भएको छ । जुन खेलकुद विकासको लागि शिक्षासंग जोडिने इतिहास हुनेछ ।
विश्व खेलकुद पत्रकार दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटिका केन्द्रिय उपाध्यक्ष तेज गुरुङले उक्त कुरा बताएका हुन् । ‘प्रदेशले सञ्चालन गर्ने भनिएको विश्व विधालयमा कुनै रोकावट नआए इतिहासमै पहिलो पटक खेलकुद पनि शैक्षिक विषयमा समावेश हुने छ’ उपाध्यक्ष गुरुङले भने ।
खेलकुदको क्षेत्रमा नतिजामाथि हुने घटबढमा र खेलकुदको विकासमा स्थायित्व ल्याउन उक्त विषय अपरिहार्य हुने उनले बताए । विश्व खेलकुद पत्रकार दिवसको शुभकामना दिदैँ उनले पोखराका पत्रकारले समेत अन्तराष्ट्रिय स्तरमा पहँुच पु¥याउन आग्रह गरे । कोभिड–१९ प्रभावबीच ओलम्पिक छनोटको लागि कमिटिको निगरानीमा रहेर खेलाडीलाई प्रशिक्षण गराइरहेको उनले जानकारी दिए ।
त्यस्तै, गण्डकी प्रदेश संसद् तथा विधायन समिति सभापति मोहन रेग्मीले राष्ट्रिय खेलकुद ऐन,२०७७ लागू भएसँगै खेलकुदमा ढिलो गरि लोकतन्त्र आएको प्रतिक्रिया दिए । विगतमा केन्द्रीय शासन प्रणाली रहेको स्मरण गर्दै रेग्मीले आधारभूत तहदेखि नै खेलकुदको विकास अपरिहार्य रहेको बताए । खेलकुदको विकासमा खेलकुद पत्रकारको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल, प्रेस संगठन कास्कीका सह–संयोजक सन्देश श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराललगायतले शुभकामना दिएका थिए ।





