प्रकृतिको नियम भनौ या नियती, जब बर्षा लाग्छ तब हामीलाई विपदले सताउन थाल्दछ । बर्षभरीका लागी संकलन गरिएको अन्नपात, तरकारी खेतीको चटारो सकिनानसकिंदै हुने अत्यधिक बर्षा, बाढी, पहिरो र डुबानको भयलाई सताउन थाल्दछ । यसबाट सिंगो मानव जगत नै सतर्क हुन खोज्दछन् । अधिक रुपमा हुने बर्षाले सताईरहदाँ केही ठाउँमा भने पानी नपर्नाले खेती लगाउन नपाएर किसानहरु चिन्तित हुन्छन् । कति अभागीले बर्षाको बाढीसंगै आफ्नो जीवन बगाउन बाध्य हुन्छन् त धेरैले बाढीमा बगेर पनि पुनजीवन प्राप्त गर्न सफल पनि हुन्छन् ।
हालै पर्वतको दुर्लुङ, बाग्लुङको तङ्ग्राम लगायतका स्थानमा बाढी पहिरोबाट जनधनको क्षेती भएको घट्नाले मलाई भने विगत सम्झायो । आफ्नो पेशामा रहदाँ बिगतमा पिडितहरु र सहयोगीका साथमा हातेमालो गर्दै खोज तथा उद्दारका घटनामा सहभागी हुदाँको स्मरणले यो लेख तयार गर्न प्रेरित गर्यो । करिब ४० बर्ष अगाडीदेखि बृक्षारोपण गरेर पहाडको भिरालो जमीनमा भुक्षय रोक्न सकिन्छ भन्ने राष्ट्रिय अभियान हालसम्म पनि कार्यान्वयन भैरहँदा पहाडका खाली जमीन हरिया रुखहरुले भरिन थालेका छन् । तर समथर एवं तराईका जमीन जग्गा दलालीका प्रभावले प्लटिङ हुंदै घडेरीमा परिणत हुदै गएका छन् । अध्ययन तथा दिगो व्यबस्थापन योजना बिना जथाभावी सडक र अन्य निर्माण कार्य हुदैजाँदा संरक्षणका दृष्टिले खेतीपाती, बृक्षारोपण, तटबन्धन नभै नदी कटान र डुवानको समस्या बिकराल बन्दै गएको छ । आफु भन्दा टाढाका हृदयबिदारक घटनाहरु हुँदा दुखद खबरका लागी सहानुभुती र संबेदना व्यक्त गर्ने मन र ज्यानहरु आफ्नै निकटमा समस्या पर्दा कस्तो हुंदो रहेछ ? यिनै बिषयबस्तु समेटेर सवारी दुर्घटना, डुवान र बाढी पहिरोका बेलाका केही अनुभुति यहां पस्किन चाहेको छु ।
लेखक
मादी पुलबाट नदीमा बस खसेपछी…
सिमसिम पानी परिरहेकै थियो, २०७० साल असार २२ गते अपरान्ह ५ बजेतिर जिल्ला प्रहरी कार्यालय तनहुँ, दमौलीबाट करिब ५०० मिटर पश्चिमतर्फ पृथ्वीराजमार्गमा पर्ने मादी पुलतिरबाट अचानक बस खसेको खबर प्राप्त भयो । हतार हतारमा सुरक्षा ड्युटी, उद्दार तथा व्यवस्थापनका सामान सहित दौडेर घटनास्थल तर्फ लागियो । ट्राफिक सहित १० जनाको टोली पुलमा मानिस झुम्मीन नदिन र सवारी सञ्चालनका लागी निर्देशनका साथ खटाउने, बाँकी सबै पैदल हस्याङफस्याङ गर्दै नदी किनारमा पुगियो । स्थानीय माझी, ५० जना नेपाल प्रहरी र नेपाली सेनाका जवानहरु गरी झन्डै २ सय जना डोरीको सहायताले नदी किनारदेखि बस पल्टीरहेको स्थानसम्म लाईन लागियो । जिवित, मृतक भेटे जतीलाई स्टेचरमा राख्दै नदी किनार, अनि अस्पताल पुर्याउने कार्य तीब्र गतीमा भैरह्यो । बर्षातको बेला नदीको बिचमा होम्मिनु पक्कै मुर्खता हो, तर बिपदका बेला कसैको ज्यान बचाउन आफ्नो ज्यानको पर्वाह नहुदो रहेछ ।
रिपोर्ट हुनासाथ ढिला नगरी नदीछेउ पुग्नु भएका तत्कालीन तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक देव बहादुर बोहोराको निरन्तर निर्देशन र समन्वयले खोज, उद्दार तथा व्यवस्थापनमा कुनै समस्या भएन । उक्त घटनामा ११ जनाको घटनास्थलमै ज्यान गयो । उद्दार गरिएका १० जना उपचारको क्रममा निको भए भने १ जना बेपत्ता भएका थिए । म सँग मादीको बीचमा रहेको बसबाट मानिस निकाल्ने, स्टेचरमा बाधेर, डोरीको सहायताले नदी किनारसम्म पुर्याउने जोखिमयुक्त कार्यमा तत्कालीन तनहुँ जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रनानि भेषराज रेग्मी लगायत जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीमा कार्यरत सबै प्रकले पुर्याएको योगदान मेरो मानस पटलमा स्मरणिय रहिरहने छन् । हालसम्म उद्दारका नाममा पदक भिर्नेका कुनै काम देख्न वा थाहा पाउन नपाउँदा त्यो बेला मादीमा बगेका आशुको याद आईरहन्छ ।
बिपद व्यवस्थापन तयारी गर्दागर्दै डुवान पर्दा…
पेशागत कर्म निर्वाह गर्दैगर्दा अर्को बर्ष २०७१ साल असार २९ गते दिनको १२ बजेतिर पुर्व प्रहरी कर्मचारी तथा सामुदायिक सेवा केन्द्र रत्ननगर चितवनका अध्यक्ष भुपेन्द्र अधिकारी, स्तानीय रेडक्रसका रामचन्द्र पौडेल र रत्ननगर नगरपालिका चितवनका निमित्त कार्यकारी अधिकृत सिताराम पोखरेल सहितका कर्मचारी एवं केही प्रहरी अधिकृत तथा जवान सहितले नगरपालिकामा रहेका लाईफ ज्याकेट, ट्यु, डोरी, टर्च लगायतका सामान चेक गरेर प्रयोग गर्ने अभ्यास गर्यौ । २ दिनदेखि निरन्तर पानी परिरहेकोले मलाई डुवान हुन सक्ने स्थानबाट खोजी तथा उद्दार कार्यको योजना र तयारी गर्न हतार भैसकेको थियो । पुर्वी चितवनको लोथर खोला हेरौ अनि सौराहा तिर सुचना गरौंला भन्ने स्थानीयको कुरा मैले मानिन, सहभागी ४,५ जना लोथरतिर लागे, म चाही थप तयारी गर्न ईलाका प्रहरी कार्यालयतिर लागें । अपरान्ह करिब ४ बजे बाघमारा सुकुम्बासी बस्तीमा बाढी पस्यो भन्ने खबर आयो ।
ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी बछौली, चित्रसारी समेतबाट २०, २२ जना प्रहरी र स्थानीय गरि ३५, ४० जनाले कम्मरसम्म डुब्ने पानीमा बाटो पहिल्याउदै डोरी टांगेर बस्तिसम्म पुगी २२ घरधुरीका करिब ५०, ६० जनालाई महत्वपुर्ण सामान सहित सुरक्षित स्थानमा पुर्याइयो । बाघमारा सामुदायिक वनका कोषाध्यक्ष धुर्व खनालको सकृयतामा नजिकैको एउटा प्राथमिक बिद्यालयमा अस्थायी बसोबास र खानपिनको व्यवस्था भयो । पछी, नगरपालिका, उद्योग बाणिज्य संघ लगायतले थप खानपिनको व्यवस्था गरिदिए । कोही पनि घाईते हुन नपाउदै सकुसल उद्दार गरेको यो घटना कसैको नजरमा परेन ।
बेलीब्रीज बगेर मनाङ जव सडक सन्जालबाट बिच्छेद भयो…
खासै ठुलो पानी नपर्ने हिमाली जिल्ला मनाङमा २०७६ को असार ७ गते रातीदेखि परेको अबिरल बर्षाको कारण ८ गते बिहान ९ बजेतिर सानातिना खोलानाला पनि तर्न मुस्किल हुनेगरी बढेका थिए । मातहतका प्रहरी युनिटहरुलाई हाई एलर्टमा राखि बिपद व्यवस्थापनका लागी सुचित गरिरहँदा करिब १ बजेतिर मनाङ लमजुङ सिमाना म्यार्दी खोलास्थित बेली ब्रीज बगेको जानकारी टेलीफोनबाट प्राप्त भयो । अन्य कुनै पनि प्रहरी युनिटबाट प्रहरी खोला तर्न, मोटरसाइकल वा गाडीमा वारपार गर्न सक्ने अवस्थामा थिएनन् । सर्वसाधारणको अवस्था पनि त्यस्तै थियो । तर प्रहरी चौकी तालबाट २ किमी हिडेर त्यहां जान सम्भव भएकोले प्रसनि केशब पोखरेललाई ६ जना जवान सहित घटनास्थल अबलोकन गरी फोटो पठाउन लगाए । माथी धारापानी मनाङ र तल बाहुनडाँडा चौकी लमजुङलाई आवश्यक समन्वय गरी पुल बगेको कारण बीचमा रोकिएका सवारी तथा मानिसलाई सुरक्षित राख्न निर्देशन दिंदै तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा वस्तुस्थिती जाहेर भयो । तत्कालै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बिपद व्यवस्थापन बैठक बसी सरोकारवाला निकायसंग समन्वयमा काम गर्ने गरी महत्वपुर्ण निर्णय पनि भयो । म्यार्दीखोलादेखि चामेसम्म करिव ३५ किलोमिटर सडकको बिचमा काठे पुल राख्ने, आन्तरिक सवारी सुचारु गर्ने काम १२ दिनमा सम्पन्न भए तर बेलीब्रीज निर्माण हुन ३ महिना लाग्यो । अन्य ठाउँमा पहिरो गैरहँदा सवारी साधन तथा मानिस ट्रयापमा नपरुन भनी अहोरात्र खटनपटन र व्यवस्थापनमा ३ महिना बिते ।
पटक पटकको बिपद झेलेका मनाङहरुले करिब ३ महिनालाई पुग्ने खाद्यान्न संचित गरिराखेका रहेछन्, जसले गर्दा कोही भोका रहेनन् । केवल आवत जावत र सामान ढुवानीका लागी भोगेको कठीनाईले भौगोलिक बिकटताको अनुभव भयो । ढोरपाटन दैनिकका पत्रकार (संपादक) हरिनारायण गौतम पनि त्यसपटक बिपदको कारण २ दिन बिचमै बास बसेर लामो पैदलयात्रा गरी लमजुङतिर लाग्नु भएको थियो । चामे गाउँपालीका अध्यक्ष लोकेन्द्र घलेको सकृयतामा जेसिभी र मानिस लगाएर १०, १२ दिनमै सडक बनाउने, काठे पुल निर्माण गर्ने गरेर आन्तरिक सवारी तथा पैदल यात्रा सहज बनाउने कार्य भएको थियो । नासों गाउपालिका अध्यक्ष चन्द्र घले, वडा नं. १ र ३ का वडाध्यक्ष सहित जनप्रतिनिधीहरु म्यार्दी खोलादेखि धारापानीसम्म करिब ४ किलोमिटर भीर पहराको कच्ची सडकमा माथीबाट पहिरो खसीरहने समस्याका कारण सुचना, समन्वय तथा सहयोगमा लागिरहे । पहिरो पन्छाएर सडक सुचारु गर्न हेभी ईक्युपमेन्टकोतर्फबाट ताल निवासी आन्द्रे गुरुङको सहयोगलाई पनि बिर्सन सकिंदैन । तर बेलीब्रीज निर्माण कार्य सम्पन्न हुन ३ महिना लाग्यो ।
अन्तमा, कोरोना महामारीको कठीनाईसंगै बर्षातको कारण बाढी, पहिरो तथा डुवानबाट आफु बचौ र अरुलाई पनि बचाऔं भन्ने उद्देश्यले जोखिमयुक्त स्थानमा सचेतना, सुरक्षित स्थानान्तरण तथा क्षेति न्युनिकरणका लागी सरोकारवालासंग समन्वय गरौ । तपाई हामीबाट समयमै भएको सूचना र सहयोग बिपदबाट बच्न, बचाउन र क्षती न्युनिकरणका लागी अतिनै महत्वपुर्ण हुनेछ । हामीसंग भएका श्रोत, साधन, सीप, दक्षता र अनुभवलाई व्यवहारमा उतार्ने प्रयास गरौं । बिपदका संबन्धमा आधिकारिक जानकारीका लागी जिल्ला बिपद व्यवस्थापनका लागी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भित्रका सबै निकायका प्रमुख, स्थानीय तहमा नगरपालिका तथा गाउँपालिका प्रमुखको संयोजकत्वमा स्थानीय तह बिपद व्यवस्थापन संयन्त्र स्थापना भैसकेका छन् । वहाँहरुबाट सचेतना तथा बिपद व्यवस्थापनको क्षेत्रमा भए गरेका तयारी तथा कामको जानकारी पाउन सकिन्छ । कोरोना महामारी तथा मौसमी बिपत्तीबाट आफु बचौ र अरुलाई पनि बचाऔ भन्दै बिदा हुन चाहें । हामी सबैको जय होस ।
कार्की हालै सेवानिविर्त प्रहरी नायव उपरीक्षक हुन्।





