पोखरा, २३ असार– कास्की जिल्ला फुटबल संघ (कास्की एन्फा) माथि छानविन सुरु गरिएको छ । एन्फा कास्कीमा अनियमितता भएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले छानबिन शुरु गरेको हो । बारम्बार विवादमा आइरहने कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) गत माघदेखि भने चरम विवादमा तानियो । दुई वर्षअघि २०७५ माघमा भएको छैटौँ संस्करणको मनकामना केबलकार पोखरा कपको आयव्यय सार्वजनी नगरेको भन्दै बारम्बार चर्चामा आउने गरेपनि गत माघमा लेखनाथमा भएको प्रथम गण्डकी प्रदेश मुख्यमन्त्री लिग फुटबल प्रतियोगितामा अध्यक्ष मिलन गुरुङलाई सभासद राजिव गुरुङ अर्थात् दीपक मनाङ्ेले झापट हानेपछि पनि चर्चामा आयो ।
छानविनको लागि आएको एन्फाका उपाध्यक्ष विरबहादुर खड्काको (बच्चु) संयोजकत्वमा गठित टोलीले एन्फा कास्कीसँग छैटौँ संस्करणको मनकामना केबलकार पोखराकपको आयव्यय माग गरेको छ ।छानबिन समितिमा विष्णुप्रसाद पराजुली(चाटर्ड एकाउन्टेण्ट) र आनन्द रन्जित(पूर्वअध्यक्ष कास्की जिल्ला फुटबल संघ) रहेका छन् ।छानविनलाई सहज बनाउनको लागी कास्की एन्फाका पदाधीकारीहरुले अध्यक्ष मिलन गुरुङको राजिनामा माग्ने निर्णयमा पुगेका छन् । अध्यक्षले राजिनामा नदिए पदाधिकारीहरुले सामुहिक राजिनामा दिने तरखर गरेका छन् । यद्यपि, राजिनामाको विषयमा भने आन्तरिक रुपमा छलफल चलिरहेको छ ।
संघले उक्त प्रतियोगितामा गठित विभिन्न समिति तथा उपसमिति संयोजकसहतिको नामावली समेत माग गरेको छ । ‘आवश्यकता अनुसार संघको माइन्युट माग्दै छानविन सुरु गरिरहेका छन् । तर, अहिलेसम्म पनि माइन्युट बुझाएको छैन्’ स्रोतले भन्यो । स्रोतका अनुसार अहिलेसम्म ३५ लाखको हिसाब नमिलेको दाबि छ । मनकामना केवलकार कप पोखरा कप आयोजना हुँदा खर्च विवरणको माइन्युट भने छैन् । कतिपय खर्च अध्यक्षकै एकल निर्णयमा खर्च भएको छ । चेकमा हस्ताक्षरसमेत किर्ते छ भन्ने आएको छ वास्तविकता आउनै बाँकी रहेको स्रोतले बतायो ।
मनकामना केवलकार कप पोखरा कपको समयमा प्रायोजनबाट आएको रकम, टिकटबाट उठाएको रकम, व्यानरबाट उठाएको रकम सबै हिसाबकिताबदेखि चेकमार्फत भुक्तानी गरिएको विषयमा समेत छानविन हुनेछ । क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता, छात्रा तथा छात्र विद्यालयस्तरीय एवं महिला फुटबल प्रतियोगिता, ग्रासरुट कार्यक्रम आम्दानी खर्चको छानविन गरेपछि एन्फामा प्रतिवेदन पेश गरिनेछ । ‘अहिले छानविन गरिरहेका छौँ, यसको नतिजा चाँडै नै आउने छ’, छानविन समितिका संयोजक विरबहादुर खड्काले भने ।





