पोखरा, २५ असार– नेपाली खेलकुदको विकासले त्यति उचाई छोइसकेको छैन । अझ खेलाडीको कुरा गर्ने हो भने त खेलेरै जीवन धान्न हम्मेहम्मे पर्छ । नेपालीको लागि विदेशमा व्यावसायिक प्रतियोगितामा सामेल हुने अवसर पनि विरलै जुर्छ । तर, नेपाली राष्ट्रिय क्रिकेटका स्पिनर सन्दीप लामिछानेले भने अन्तर्राष्ट्रिय स्तरमा छलाङ मार्दै गएका छन् । यतिमात्र होइन सन्दीप नेपालको सर्वाधिक कमाउने खेलाडी समेत बनेका छन् । सन्दीप महँगोमा अनुबन्धित हुने पहिलो नेपाली क्रिकेटर पनि हुन ।
जुलाईमा हुने भनिएको द हन्ड्रेड क्रिकेट (एक सय बलको खेल) कोरोना भाइरसको कारण अगामी वर्षसम्मलाई सरिसकेको छ । इंग्ल्यान्डमा पहिलोपटक आयोजना हुन लागेको द हन्ड्रेड ड्राफ्टमा सन्दीप आफ्नो विदेशी फ्रेन्चाइज लिग यात्राको सर्वाधिक महँगो मूल्यमा अनुबन्ध भएका थिए । सन्दीपलाई ओभल इन्भीनसिभल्सले १ लाख पाउन्ड अर्थात नेपाली १ करोड ५० लाख रुपैयाँ खर्चेको थियो । यो नेपाली खेल क्षेत्रमै सर्वाधिक महँगो रकम हो ।
राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप विगत दुई वर्षमा विदेशी फ्रेन्चाइज टि–२० लिग खेल्नमा निकै व्यस्त भएका छन् । राष्ट्रिय टोलीका प्रमुख स्पिनर सन्दीप सन् २०१८ मा इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए । त्यहि लिगपछि सन्दीपको अन्तर्राष्ट्रिय छलाङ सुरु हुन थाल्यो ।
सन्दीपलाई दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स)ले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । सन्दीपले आइपिएलका दुई संस्करण दिल्लीबाट २० लाख भारतीय रुपैयाँमा खेलेपनि पछिल्लो समय लिगमा करोडमाथिको मूल्यमा अनुबन्ध हुन सफल भएका छन् ।
हालसम्म सन्दीप विदेशी फ्रेन्चाइज लिगमा १ करोड ५० लाख रुपैयाँमा अनुबन्ध भएका छन् । सन्दीपले आइपिएलसँगै क्यारेवियन प्रिमियर लिग (सिपिएल), बिग ब्यास लिग, पाकिस्तान सुपर लिग(पिएसएल), टि टेन, अफगानिस्तान प्रिमियर लिग लगाएका चर्चित फ्रेन्चाइज लिग समेत खेलि सकेका छन् । उनले खेलेका हरेक लिगमा उनले आफ्नो प्रस्तुतिलाई निकै निखार्दै सबैलाई प्रभावित पारेका छन् ।
सन् २०१९ मा पाकिस्तान सुपर लिगमा सन्दीपले लाहोर कलन्र्दसबाट खेलेका थिए । सन्दीप ५० देखि ७० हजार पारिश्रमिक पाउने विदेशी खेलाडीको गोल्ड क्याटगेरीमा अनुबन्ध भए । सो क्रममा उनले ६५ हजार अमेरीकी डलर पारिश्रमिक प्राप्त गरेका थिए ।
सन् २०१९ को क्यारेवियन प्रिमियर लिग (सिपिएलमा) सन्दीप बार्बाडोस ट्राइडेन्ट्समा ७० हजार अमेरीकी डलरमा अनुबन्ध भए । त्यस्तै सन् २०२० मा सिपिएलमा सन्दीपलाई जमैका तलावाजले उनैले तोकेको ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख रुपैयाँ) अनुबन्ध गरेको थियो । सिपिएल अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ ।
त्यसैगरी सन् २०१८ र २०१९ को सिजनमा सन्दीप अष्ट्रेलियाको मेलबर्न स्टार्समा ६० हजार अमेरीकी डलरमा अनुबन्ध हुँदै बिग ब्यास लिगमा डेब्यु गरेका थिए । उक्त सिजनमा सन्दीपले ६० हजार डलर पारिश्रमिक पाउने सम्झौंता गरेका थिए । तर पूरै खेल नखेलेको हुँदा पूरा पारिश्रमिक पाएनन् । तर यो सिजनको उनको रकम भने खुलाइएको छैन् ।





