सांकेतिक तस्बिर
बागलुङ, २७ असार– ताराखोला गाउँपालिका–५ ठूलो हिलेमा खेल मैदान निर्माण गरिएको छ । प्रदेश सरकारको २० लाख बजेटमा ‘हिल–सिप खेल मैदान’ तयार भएको हो । छिटपुटबाहेक सबै काम सकिएको निर्माण समितिका अध्यक्ष रामबहादुर पाइजाले बताए । खेल मैदान ४५ मिटर लामो र ४० मिटर चौडा छ । ‘फुटसल’, भलिबललगायत खेललाई लक्ष्य गरी मैदान बनाइएको हो ।
खेल मैदान छेउछाउ प्राकृतिक ‘प्यारापिट’, शौचालय, मञ्च आदि संरचना खडा गरिएको छ । वरिपरिबाट तारजालीको घेराबार छ । ‘यो वर्षको बजेटबाट लगभग काम सकियो, अरु पूर्वाधार थप्दै जाने योजना छ’, अध्यक्ष पाइजाले भने । स्थानीय तेजेन्द्र श्रीसबाट दुई लाखमा जग्गा खरिद गरेर खेल मैदान बनाइएको हो । खेल मैदान निर्माणमा मिर्मिरे युवा क्लवका युवासहित गाउँले मिलेर श्रमदान गरेका थिए । गाउँमै ठूलो र व्यवस्थित खेल मैदान बनेपछि युवा वर्ग बढी उत्साहित छ ।
खेल गतिविधिदेखि मेला, जात्रा आयोजना गर्न पनि सहज हुने देखिएको छ । खेल मैदानमा आवश्यक पूर्वाधार थप्न गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष प्रकाश घर्तीले बताए । ‘वडाकै ठूलो खेल मैदान बनेको छ’ उनले भने, ‘त्यसलाई अझै व्यवस्थित र सुविधायुक्त बनाउँदै लैजान्छौँ ।’
संघ सरकारको ४० लाख बजेटमा वडा नं. ४ दोगाडीमा गाउँपालिकाकै ठूलो खेल मैदान निर्माणको चरणमा छ । उक्त खेल मैदानलाई आगामी आवमा गाउँपालिकाले पनि ४० लाख बजेट छुट्टाएको छ । ‘गाउँपालिका स्तरीय रङ्गशालाकै रुपमा त्यसलाई विकास गर्ने लक्ष्य छ’, अध्यक्ष घर्तीले भने, “खेल पूर्वाधारसँगै खेलाडी उत्पादन र संरक्षणमा हाम्रो विशेष जोड छ ।’ युवा वर्गलाई खेलकुदमा आवद्ध गरी उनीहरुको प्रतिभा पहिचान गर्न विभिन्न प्रतियोगिता सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।





