शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमितको संख्या १ हजार १ सय ७६, कोरोनालाई जितेर घर फर्किने संख्या ६ सय ३३ जना छन् । 


  • ढोरपाटन संवाददाता
  • असार २७ २०७७, शनिबार

पोखरा, २७ असार -गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । शनिबार नयाँ संक्रमित पुष्टि हुने  तनहुँ, म्याग्दी, स्याङ्जा, बागलुङ जिल्लाका छन् । तनहुँमा कोरोना संक्रमण पुष्टि हुनेमा ब्यास नगरपालिकाका ३५ वर्षीय एक जना, बन्दीपुर गाउँपालिकाका २ जना र शुक्लागण्डकीका ३३ वर्षीय एकजना पुरुष छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा २ जना संक्रमित फेला परेका छन् । उनीहरु दुवै ३० वर्षीय पुरुष हुन् । नयाँ संक्रमित पुष्टि हुनेमा स्याङ्जाका ३ जना छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु चापाकोट, कालीगण्डकी र वालिङ नगरपालिकाका हुन् । उनीहरु क्रमशः २९, १९ र २० वर्षीय पुरुष छन् ।
बागलुङको बडिगाड गाउँपालिकाका १९ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही जिल्लाकै गल्कोट नगरपालिकाका २५ र ३५ वर्षीय २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा पोखरा महानगरका २५ र ८५ वर्षीय २ जना पुरुष छन् । संक्रमितहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ । जसमध्ये ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । प्रदेशभरि कोरोनालाई जितेर घर फर्किनेमा ६ सय ३३ जना छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->