बागलुङ, २८ असार – कोरोना संक्रमण पुष्टि भएर जिल्लाका बिभिन्न आईसोलेसनमा रहेका ७ जनाको दोस्रो पटक गरिएको परीक्षणमा कोरोना नदेखिएपछि घर फर्किएका छन् । आईतवार प्रादेशिक प्रयोगालामा गरिएको परीक्षणमा कोरोना संक्रमण नरहेको पुष्टि भएका ७ जना सँगै जिल्लाभर निको भएर घर फर्किनेको संख्या १ सय ७८ पुगेको छ ।
धौलागिरी अस्पतालको आइसोलेसन र धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसन कक्षमा उपचाररत ७ जनाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए । उनिहरुलाई थप ७ दिन होम आईसोलेसनमा रहँन भनिएको छ । गौतमका अनुसार काठेखोला गाउँपालिकाका २९ बर्षिया महिला सहित २७, २४ र ३४ बर्षिय तीन जना पुरुष र जैमिनी नगरपालिकाका २१ बर्षिय पुरुष, बागलुङ नगरपालिकाका २५ बर्षिय पुरुष र बरेङ गाउँपालिकाका २४ बर्षिया महिलाको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको हो ।
यसैगरि आइतबार बागलुङमा जैमिनी र ढोरपाटन नगरपालिकाका ३४ र २४ वर्षीय २ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ । यस्तै पर्वतका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा फलेबास र महाशिला गाउँपालिकाका २८ र ३४ वर्षीय २ जना पुरुष रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमित १६ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा अहिले सकृय संक्रमित आठ हजार १ सय ७४ रहेका छन् । आइतवार १ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज भएसंगै कोरोना निको भएर घर फर्कनेको संख्या आठ हजार ५ सय ८९ पुगेको छ । यो कुल संक्रमित भएर निको भएको संख्याको ५१ दशमलव १ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।





