बागलुङ, ३१ असार– शहरी जीवन, उद्यान भएन भने उकुसमुकुस हुन्छ । कंक्रिकले भरिएको शहरमा शितल छहारी र बालबालिकाको लागि मनोरञ्जन स्थल हो उद्यान । भीड, कोलाहल र व्यस्तताले अस्तव्यस्त छ, शहरी जीवन । सहरभित्र नै एउटा ठूलो र सुन्दर पार्क भइदिए ! स–सानै भएपनि खुल्लाचौर र मनोरम वातावरण भईदिए ! शहरमा बस्नेहरुको चाहनामा पर्छ उद्यान ।
शहरमा उद्यान (पार्क) कति जरुरी छन् भन्ने कुरा त देशका ठुला शहरहरुमा बस्नेलाई धेरै थाहा होला । सरकारले हरेक बर्ष उद्यानहरुको बिकास र बिस्तारको काम गर्ने नारा छोडेको छैन । पछिल्लो आर्थिक बर्षमा गण्डकी प्रदेश सरकारले त शहरी उद्यान बिकासको कार्यक्रमनै सञ्चालनमा ल्यायो । तर कार्यान्वयनमा गैसकेको उद्यान बिकास कार्यक्रमसमेत चैतको मसान्त लाग्ने बेलामा रोकिएको डिभिजन बन अधिकृत रोमराज लामिछाने बताउँछन् ।
बाटो भत्काउने काम नरोकेको गण्डकी सरकारले खर्च कटौतीको बहानामा उद्यान निर्माणको काम रोकेपछि त्यसको सर्वसाधारणले भने स्वाद पाएनन् । बागलुङ बजार साविकको धौलागिरी अञ्चलको मुकाम हो । सकेर होस वा नसकेर, सानो भएको टुक्रा जमिनमा समेत कंक्रिटको महल बनाउने होडबाजी चलिरहेकै छ । जसरी बस्तीको बिकास भैरहेको छ सोही हिसाबले उद्यानको अहावश्यकता बढ्दै छ ।
हराउँदै गएको हरियाली फर्काउनु पर्ने दायित्व वातावरणीय हिसाबले समेत थपिएको छ । संघियताको मर्मले सानातिना काम स्थानीय तहलाई जिम्मा लगाएको छ । उद्यान निर्माण तथा भएका उद्यानको व्यवस्थापनको काम पनि स्थानीय तहकै हो । बागलुङमा नयाँ बन्ने उद्यान (पार्क)को चर्चा त निकै छ तर पछिल्लो समय यहाँ भएका सार्वजनिक पार्कहरु पनि खुम्चिँदै जाँदा बागलुङ बजार कोलाहल र उकुसमुकुसमा परिणत हुँदैछ । यहाँ भएका स–साना पार्कहरु पनि भद्रगोल अवस्थामा छन् । पार्कको संरक्षणका लागि बनाईएका संरचना अर्को पूर्वाधार निर्माणको बहानामा भत्काइएका छन् ।
बजारको मुटु ट्राफिकचोकमा रहेको बिरेन्द्र–ऐश्वर्या पार्क पानीको निकास दिन नाली बनाउने र सडक फराकिलो बनाउने बहानामा भत्काईयो । व्यक्तिको जग्गा र घर भत्काउन तत्काल सम्भव नरहेकाले पार्क भत्काईएको बागलुङ नगरपालिकाका सदस्यहरुनै बताउँछन् । ‘अहिले माईक्रो काउन्टरदेखि बाङ्गेचौरसम्म ढलको काम भैरहेको छ, व्यक्तिका घर भत्काउन अहिले हामीसँग क्षतिपूर्ति दिने स्रोत छैन’ बानपा–२ का वडाअध्यक्ष जीवन आचार्यले भने ‘सडकको मापदण्ड पुरा गर्न र नाली बनाउन पार्क भत्काईएको हो ।’
पार्कको पुनःनिर्माण गर्ने उनले बताए । बागलुङ नगरपालिकाले आगामी आ.व.मा पुनःनिर्माणको लागि २० लाख रुपैयाँ बिनियोजन गरिसकेको नगर प्रमुख जनकराज पौडेल बताउँछन् । ‘व्यक्तिका घर निर्माण गर्दा मापदण्ड छोडिएको तर पार्कले सडक च्यापेको देखियो’ पौडेलले भने ‘व्यवस्थित पार्क बनाउनका लागि भत्काएका हौं ।’
बागलुङ नगरपालिका–१ रामरेखामा रहेको शहिद स्मृति पार्क पनि चेपुवामा परेको छ । तत्कालिन नगरप्रमुख ऋषिराम शर्माले रामरेखा सामुदायीक बनसँग सहकार्य गरेर निर्माण गरेको पार्क मालढुंगा–अदुवाबारी झोलुंगे पुल निर्माणका क्रममा चेपुवामा परेको हो । पुलले पार्कलाई दुई चिरा बनाएको छभने त्यहाँ रहेका संरचनाहरुको अवस्था विगोग छ ।
यो पार्ककको व्यवस्थापनका लागि दुई बर्षअघि नगरपालिका र प्रभू बैंकबीच सहमति भएको थियो । सामाजिक उत्तरदायित्वअन्र्तगत पार्क व्यवस्थापनको जिम्मेबारी लिएको बैंकले काम नसक्दै सबै संरचना भद्रगोल अवस्थामा पुगेका छन् । ‘हामिले गर्छौं भनेको काम सकेका हौं, त्यसपछिको संरक्षण दायित्व नगरपालिकाको हो’ बैंकको बागलुङ शाखाका प्रबन्धक भुपेन्द्र मल्लले भने ‘१९÷२० लाख खर्चेर गरेको व्यवस्थापन अहिले भद्रगोल भएको छ ।’ नगरपालिकाले यो पार्ककको पुनःनिर्माणको लागिसमेत पाँच लाख बजेट बिनियोजन गरेको भएपनि पुलका कारण पार्क पुरानै अवस्थामा फर्किने सम्भावना भने छैन ।
भएका पार्कहरुलाई बिभिन्न बहानामा अतिक्रमणको शिकार बनाईरहेको नगरपालिकाले बजारक्षेत्रभन्दा केहीमाथि करोडौं खर्चेर प्राणी उद्यान निर्माणको कामलाई भने प्राथमिकताको सूचीमा राखेको छ । वडा नं. ५, ६ र ७ मा रहेको पञ्चकोट, मालिका बनक्षेत्रमा प्राणी उद्यानको काम थालिएको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममै उल्लेख छ । जसका लागि गण्डकी प्रदेश सरकारले समेत सघाएको छ ।
आगामी आर्थिक बर्षमा प्रदेश सरकारको ५० लाख रुपैयाँ उक्त पार्ककको प्रारम्भिक पूर्वाधार निर्माणमा खर्च हुनेछ । बिस्तृत परियोजना प्रतिवेदनअनुसार प्राणी उद्यान पार्क निर्माणका लागि २४ करोड रुपैयाँ खर्च हुन्छ । स–साना पार्कको पुनःनिर्माणभन्दा अतिक्रमणमा चासो राखेको नगरले करोडौं खर्चेर नयाँ पार्क बनाउन थालेको बिषयमा जनस्तरमा भने गुनासो छ । शहरी जीवनको कोलाहल कम गर्न र बालबालिकाका लागि मनोरञ्जन स्थलका रुपमा बिकास गर्न बजारक्षेत्रमा रहेका उद्यानहरुलाई व्यस्थित गर्नुपर्ने बागलुङ बजारमा बस्ने गोपाल पौडेलले बताए ।





