बागलुङ, ६ साउन– तीन दिनदेखि पश्चिम बागलुङको विभिन्न स्थानमा बसेका सलह मंगलबार बागलुङ बजारहुँदै पूर्वतर्फ लागेका छन् । वर्षाका कारण गलकोट, ताराखोला लगायतका वन क्षेत्रमा तीन दिनदेखि बसेको सलहको झुण्ड मंगलबार दिउँसो बर्षा रोकिएर घाम लागेसँगै पूर्वतर्फ उडेको गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका अध्यक्ष तिलक घर्ति मगरले बताए ।
सुरुवाती दिनमा ताराखोला, गलकोट, ढोरपाटन, तमानखोला र निसीखोला लगायतका बस्तीमा तरकारी तथा अन्नबाली नष्ट पारेको सलह लगातारको झरीका कारण निस्कृय थिए । तीन दिनदेखि पाण्डवखानी र मल्म तथा झिर्काको जंगलमा ठूलो संख्यामा बसेको घर्तिले बताए । मंगलबार दिउँसो घाम लागेपछि सहल बागलुङ बजारको आकाशहुँदै पूर्वतर्फ लागेका हुन् ।
बुटवलबाट बागलुङको पश्चिम क्षेत्रमा प्रबेश गरेको सलहको झुण्ड तमानखोलाको नर्जाखानी पहाड कटेर जान नसकेका कारण पूर्वतर्फ फर्केको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘अहिले बागलुङको पूवि भागहुँदै पर्वतका केही ठाउँमा सलह आईपुगेको छ’ ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले भने ‘पानी परेकाले केही दिन निस्कृय रहेको झण्ड घाम लाग्दा सकृय भएको हो ।’ बर्षाको समय रहेकाले किसानको बालीमा क्षति गर्ने सम्भावना कम रहेको उनको दावी छ । किसानलाई घरेलु बिधि अपनाएर सलह धपाउन र बस्न नदिन आग्रह गरेको उनले बताए ।
नेपालको वातावरण र मौसम सलहका लागि उपयुक्त नभएको सरकारले विज्ञप्तीमार्फत जानकारी गराएको थियो । केही दिनको बसाईपछि सलह फर्केकोले उक्त भनाईमा सत्यता भएको किसानले बताए । तर पनि पश्चिम क्षेत्रमा लगाइएका मकै र तरकारीमा भने सहलले क्षति पुगेको किसानको भनाई छ । लगातार हजारौं सहल पूर्वतर्फ गएको देखिएकोले फर्केको स्थानीयले अनुमान गरेका छन् । भारतको राजस्थान र अफ्रिकामा पाइने सलहले नेपालको चिसो मौषममा फुल पार्ने र प्रजनन क्रिया गर्न नसक्ने समेत बताइएको छ ।





