
बागलुङ, ७ साउन– नेपाल प्रेस युनियन बागलुङले ढोरपाटन नगरपालिकाले संचार माध्यमलाई विभेद गरेको भन्दै बिरोध गरेको छ ।
असार मसान्तमा समानुपातिक विज्ञापन प्रणालीअन्र्तगत भुक्तानी नदिई नगरपालिकाले ढोरपाटन रेडियोलाई विभेद गरेकोमा ध्यानाकर्षण गराएको हो । बुधवार युनियनका अध्यक्ष प्रदिप पन्तले विज्ञप्ती जारी गरेर बिभेदपूर्ण व्यवहार सच्याउन आग्रह गरेका छन् ।
असार मसान्तमा नगरपालिकाले भुक्तानी दिने बेलामा बुर्तिवाङ एफएम र परिवर्तन रेडियोलाई १ लाख ५० हजार रुपैयाँ र ढोरपाटन रेडियोलाई १० हजार मात्रै वितरण गरेको सार्बजनिक भएको थियो । कोरोनाविरुद्धका सूचना, विभिन्न बिज्ञापन र अन्य कार्यक्रमहरु प्रसारण गरेको रकम भुक्तानी भएकोले समानुपातिक हुनुपर्ने युनियनको ठहर छ ।
उता भुक्तानी पाएका रेडियोका सदस्यहरुले भने कार्यक्रम उत्पादन र प्रसारण खर्चको रकम पाएको दावी गरेका छन् । विज्ञप्तीमा सुशासन, पारदर्शीता र विसंगती न्युनिकरणमा संचारमाध्यमले भूमिका खेलिरहेको वास्तविकतालाई बिभेदपूर्ण रुपमा लिन नहुने पनि बताइएको छ । राजनीतिक आस्थाको आधारमा गरिएको विभेद अन्तयका लागि युनियनले माग गरेको छ । नगरप्रमुखले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा पूर्वाग्रही निर्णय गरेकोमा सच्याउन पनि माग गरिएको छ ।





