बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नसर्ने रोगहरू र स्वस्थ्यमा खतरा

नसर्ने रोगहरू र स्वस्थ्यमा खतरा


  • कृष्ण कुमार सैजु
  • साउन ९ २०७७, शुक्रबार

एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने सामान्यतया त्यस्ता रोगलाई (नन् कम्युनिकेबल डिजिज) अर्थात् नसर्ने रोग भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई लाइफ स्टाइल डिजिजसमेत भन्ने गरिन्छ । पहिला–पहिला एसियालाई सरुवारोगको खानीका रूपमा परिभाषित गरिन्थ्यो । तर, आजभोलि यहाँका अधिकांश मानिस नसर्ने रोगबाट पीडित भएको पाइन्छ ।
विशेष गरी दक्षिण एसियाली मुलुकमा खानपान, रहनसहन, शारीरिक व्यायामजस्ता कुरामा ध्यान नदिएकै कारण निकै डरलाग्दो किसिमले बढेको नसर्ने रोग अन्य रोगको दाँजोमा उच्च रहेको छ । नेपालमा त स्वास्थ्य मन्त्रालयले गरेको एक सर्वेअनुसार नसर्ने रोगको कारण मृत्यु हुने ६६ प्रतिशत पुग्नु अझ डरलाग्दो स्थिति हो । यसमध्ये २२ प्रतिशतको मृत्युका कारण भने मुटु तथा रक्तनली सम्बन्धित रोग भएको देखिन्छ । साथै डाइविटिज (मधुमेह)को चाप निकै उच्च रहेको छ । मधुमेह उमेर समूहमा मात्र नभई बच्चा, युवा, वृद्ध सबैमा देखापर्नुले स्वास्थ्य क्षेत्रमा निकै ठूलो चुनौतीको विषय बनेको छ ।
नसर्ने रोगमा मुटु तथा रक्तनलीको रोग, हृदयघात–मस्तिष्कघात, मधुमेह, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग, क्यान्सर (महिलामा हुने स्तनक्यान्सर र पाठेघरको मुखको क्यान्सर) नसर्ने रोगमध्ये प्रमुख रोगमा पर्छन् । साथै दम, बाथ, इपिलेप्शी, सिक्कलसेल डिस्अर्डर उच्च रक्तचाप आदी हुन् । अहिले नसर्ने रोग लागेपछि नागरिक लाखौँ खर्च गेरेर जीवनभर औषधि खान बाध्य छन् । ओल्लोघर, पल्लोघर, घरपरिवार, छरछिमेकमा नसर्ने रोग (मधुमेह, क्यान्सर, ब्लडप्रेसर, मुटुरोग)जस्ता रोग नलाग्ने नागरिक भेट्न नै गाह्रो भइरहेको छ । यो स्थितिमा अब सरकार तीव्र रूपमा लाग्नुपर्ने देखिन्छ ।
कारण
नसर्ने रोग लाग्नुको प्रमुख कारण खराब जीवनशैली नै हो । जसमध्ये अत्यधिक धूम्रपान–मध्यपान गर्नु, अल्छीपना अर्थात् शारीरिक व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान आदि कारक तत्व हुन् । अहिले नेपालमा उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरलगायत रोगका बिरामीको संख्या ह्वात्तै बढ्नुको कारण जीवनशैलीमा हेल्चेक्र्याइँ गर्नुले नै हो ।
बच्ने उपाय
–धूम्रपान–मध्यपानबाट टाढा रहन सकेमा नसर्ने रोग लाग्नबाट बच्न सकिन्छ । अत्यधिक रक्सी सेवनले कम्तीमा २ सय प्रकारका रोगलाग्ने सम्भावना रहन्छ । त्यस्तै, धूम्रपान गर्दा श्वासप्रश्वास, फोक्साको क्यान्सरलगायत जटिल समस्या देखा पर्छन् ।
–खैनी, गुट्का, पानजस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन । जसबाट दम, मुखको क्यान्सर, मधुमेहजस्ता रोगबाट बच्न सकिन्छ ।
–स्वस्थ रहन कम्तीमा पनि दैनिक आधा घन्टा व्यायाम गर्न जरुरी हुन्छ । नुन कम खान आवश्यक छ । खानामा दैनिक ५ ग्रामभन्दा कमनुन खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
–व्यक्ति स्वयंले आफ्नो जीवनशैलीमा ध्यान दिन सकेमा नसर्ने रोगबाट बच्न सकिन्छ । नसर्ने रोगबारे सरकारीस्तरबाटै स्वास्थ्य योजना, खोजमूलक अनुसन्धान, खाद्य विनियम गर्न सकेमा केही हदसम्म नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ ।
वर्तमान नपालको जनस्वास्थ्य समस्याको रूपमा प्रमुख नसर्ने रोगहरूमध्ये डाइविटिज (मधुमेह) प्रमुख छ । त्यसैले मधुमेहको बारेमा चर्चा गरौं ।
के हो मधुमेह ?
मधुमेह साधारणतया नियमित खाने गरेको खाना शरीरभित्र विभिन्न प्रक्रियाबाट चिनी अर्थात् ग्लुकोजमा परिणत हुन्छ । जुन ग्लुकोज प्याङ्क्रियाजबाट निस्कने इन्सुलिन नामक ग्रन्थरसले कोषहरूमा पु¥याउने र यी कोषमा ग्लुकोज शक्तिमा परिणत भई शरीरका विभिन्न कार्य सञ्चालनमा मद्दत पुर्याउँछ । यन्सुलिन आवश्यक मात्रामा उत्पादन नहुनाले वा प्राप्त इन्सुलिनको उपयोग राम्ररी नहुनाले रगतमा ग्लुकोजको मात्रा बढ्ने अवस्थालाई मधुमेह भनिन्छ ।
मधुमेह भएकाले नियमित गर्नुपर्ने जाँच
नियमति जाँच गर्दा मधुमेहबाट हुन सक्ने अन्य स्वास्थ्य समस्याबाट बच्न तथा नियन्त्रण गर्न सकिन्छ । खाली पेटमा र खाना खाएको २ घण्टापछि रगतको जाँच गर्नुपर्छ प्रत्येक ६ महिनामा एचबीएएलसी गर्नुपर्छ । प्रत्येक वर्ष लिपिड प्रोफाइल, मृगौला, कलेजो, थाइराइड, आँखा, मुटुको जाँच गर्नुपर्छ । पिसाबको रुटिन जाँच गर्नुपर्छ ।
मधुमेहको बढी सम्भावना हुने
–परिवारका सदस्यमा मधुमेह भएको अवस्थामा
–शरीरको तौल बढी भएमा वा बीएमआई (शरीरको तौल केजी वा उचाइ मिटर) २३ प्रतिशतभन्दा बढी भएमा
–कम्मरको गोलाईः पुरुषको ९० सेमि र महिलाको ८० सेमीभन्दा बढी भएमा
–निस्क्रिय जीवनशैली एवं शारीरिक व्यायाममा कमी भएमा
–गर्भवती अवस्थामा मधुमेह भएमा
–रगतमा चिल्लोको मात्रा बढी भएमा
–उच्च रक्तचाप भएमा
–मानसिक तनाव एवं चिन्ता भएमा
–बढ्दो उमेरका व्यक्तिहरूमा, साधारणतया ३० वर्ष नाघेको अवस्थामा
–रगतमा चिनीको मात्रा
बढ्नुका कारणहरू
–शरीरको आवश्यकताभन्दा बढी शक्ति अथवा क्यालोरी खानाबाट प्राप्त गर्नाले
–रिस, चिन्ता, डर, तनाव, निन्द्रामा व्यवधान जस्ता मानसिक तनावका कारणले गर्दा
–आवश्यक मात्रामा मधुमेहसम्बन्धी औषधि सेवन नगरेमा र उचित मात्रामा शारीरिक व्यायाम नगर्नाले
मधुमेहले निम्त्याउन सक्ने स्वास्थ्य समस्या
–मस्तिष्कघात
–हृदयघात
–अन्धोपन
–स्नायुसम्बन्धी समस्याहरू
–मिर्गौलासम्बन्धी समस्या
मधुमेह नियन्त्रण एवं व्यवस्थापन गर्ने उपाय
–सन्तुलित एवं स्वस्थकर भोजन
–नियमित व्यायाम
–औषधि र इन्सुलिनको प्रयोग
–मधुमेह शिक्षा
मधुमेह पीडितले खानपिनमा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू
१) खानाबाट प्राप्त हुने पौष्टिक तत्वहरू–कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो शक्तिको स्रोत भएको हुनाले यसको प्रकार र परिमाणमाध्यान दिन जरी हुन्छ ।
–कार्बोहाइड्रेट, जटिल प्रकारको कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थ, पूरै अन्न र यसबाट बनेको परिकार, साग–तरकारी (माडयुक्त तरकारीबाहेक) ताजा फलफूल, दाल गेडागुडी ठीक परिमाणमा दैनिक भोजनमा समावेश गर्नुपर्दछ ।
–प्रोटिनपूर्ण, प्रोटिनयुक्त जनावरीय स्रोतबाट प्राप्त खाद्यपदार्थ जस्तै ः बोसो तथा छालारहित मासु, माछा, अण्डा, चिल्लोरहित दूध तथा वनस्पती स्रोतबाट प्राप्त दाल, गेडागुडी आदि ठीक मात्रामा समावेश गर्नुपर्दछ ।
–तृप्त फ्याटी एसिडयुक्त चिल्लो पदार्थभन्दा अतृप्त चिल्लो पदार्थ जुन साधारण कोठाको तापक्रममा तरल अवस्थामा रहन्छ सोको प्रयोगठीक मात्रामा गर्नुपर्दछ, वनस्पती तेल ।
–उमेर र शारीरिक क्रियाकलाप तोकिएको क्यालोरीको परिमाणअनुसार प्राप्त हुने किसिमले भोजनको व्यवस्था गर्नुपर्दछ ।
२) दैनिक भोजनबाट प्राप्त हुने सबै प्रकारका पौष्टिक तत्त्वहरू कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन र खनिज पदार्थ ठीकपरिमाण प्राप्त हुने गरी सन्तुलित भोजनको व्यवस्था गर्नुपर्दछ ।
३) विशेष वा बेग्लै प्रकारको खाना खानुपर्छ भन्ने धारणालाई अवलम्बन गर्नुभन्दा डाइटिसियनसँग उचित परामर्श लिई परिवारले खानेखानामा फेरबदल गरी सन्तुलित भोजन खानुपर्दछ ।
४) दैनिक नियमित तथा हरेक पटकको छाक नछोडी नियमित रूपमा ठीक समयमा खानुपर्छ, भोकै बस्नु हुँदैन ।
५) दुई खानाबीचको दूरी ४ देखि ६ घण्टाभन्दा बढी भएमा त्यस समयको बीचमा स्वस्थकर पोषिलो खाजा अर्थात् स्न्याक्स ठीक परिमाणमा खानुपर्दछ ।
६) मधुमेह भएका व्यक्तिले नियमित तथा पटक–पटक गरी खानुपर्दछ तर हरेकपटकको खानामा खानाको प्रकारबाहेक परिमाणमा विशेष ध्यान दिनुपर्दछ, अन्यथा बढी खानाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुन्छ ।
७) गुलियो खाद्यपदार्थ, केक, पेस्ट्री, जाम, जेली, चकलेट जुस आदि कार्बोहाइ्रेटका साधारण स्वरूप भएको हुनाले खानामा परहेज गर्दा बेस हुन्छ । (यस प्रकारको कार्बोहाइ्रेटका शरीरभित्र पुग्ना साथ ग्लुकोजमा तुरुन्तै परिणत हुने भएकाले रगतमा चिनीको मात्रा बढाउँछ ।)
८) दैनिक भोजनमा हरियो सागसब्जी तथा मौसमअनुसारको फलफूल सिफारिस गरिएअनुसारको समावेश गर्नुपर्दछ । यी खाद्य पदार्थहरू फाइबरको उत्तम स्रोत भएका हुनाले खानाको परिमाण बढाए तापनि क्यालोरीको मात्रा कम हुने, प्रशस्त खस्रो पदार्थ (फाइबर) प्राप्त गर्नुको साथै भिटामिन तथा खनिज पदार्थ प्राप्त गर्न सकिन्छ । साथै दिसा क्लियर गर्नमा मद्दत पुर्याउँछ ।
९) खानामा रेशायुक्त खाद्यपदार्थ समावेश गर्दा सफा शुद्ध पानी पनि प्रशस्त पिउनुपर्छ ।
१०) पकाउने विधि जस्तै– बफाउने, उसिन्ने, कम तेल प्रयोग गरी पकाउने विधिलाई प्राथमिकता दिनुपर्छ । घ्यू, तेलमा फ्राई गरेको खाद्यपदार्थको उपभोग नगर्दा नै उत्तम हुन्छ ।
११) दूध–दही, क्यालसियम तथा प्रोटिनको राम्रो स्रोत भएको हुनाले दैनिक भोजनमा यसको समावेश अनिवार्य हुन्छ । तर, चिल्लोरहित वा कम चिल्लो दूध प्रयोग गर्दा उपयुक्त हुन्छ ।
१२) रेस्टुरेन्ट, होटेलमा खाँदा विशेषत कम चिल्लो भएको खाद्य परिकारको छनोटको साथै परिमाणमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
१३) औषधि तथा इन्सुलिन लिइरहेको अवस्थामा चिकित्सकबाट प्राप्त सिफारिसअनुसार खानाको तालिका मिलाउनुपर्दछ ।
१४) नुनको प्रयोगमा पनि सावधानी अपनाउनुपर्छ ।
१५) धुमपान नगर्ने र मद्यपानमा पनि सतर्कता अपनाउनुपर्छ ।
१६) मधुमेह भएका व्यक्ति तथा घर–परिवारमा खाना व्यवस्थापन गर्ने व्यक्तिमा खाद्य विनिमय⁄खाद्य फेरबदल प्रणालीबारे ज्ञान हुन नितान्त आवश्यक हुन्छ । जसले दैनिक भोजनमा विविध खाद्यपदार्थ ठीक परिमाणमा समावेश गर्न मद्दत पु¥याउनुको साथै स्थानीयस्तरमा पाइने कुनै पनि प्रकारका खाद्यपदार्थ समावेश गर्न सक्षम बनाउँछ ।
१७) सम्बन्धित विशेषज्ञ तथा चिकित्सकको सल्लाहअनुसार उपचार व्यवस्थापन विधि अपनाउनुपर्दछ ।
मधुमेहको नियन्त्रण एवं व्यवस्थापनमा कुनै पनि विधि जस्तै ः– व्यायाम, औषधिको सेवन तथा इन्सुलिनको प्रयोग गरेको अवस्थामा माथि उल्लेखित खानासम्बन्धी कुराहरूलाई मनन् गरी अवलम्बन गर्न सकेको खण्डमा एकातिर औषधिको प्रयोगमा न्यूनीकरण गर्न सकिन्छ भने अर्कोतिर मधुमेहबाट हुने अन्य जटिल स्वास्थ्य समस्याबाट बच्न तथा त्यस समस्यालाई कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->