सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ नगरपालिकाले बोक्सेमा वैकल्पिक सडक बनाउने

बागलुङ नगरपालिकाले बोक्सेमा वैकल्पिक सडक बनाउने

मध्यपहाडी लोकमार्ग एकतर्फी संचालनमा


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०७७, शुक्रबार

बागलुङ, ९ साउन– पहिरोका कारण बेला बेलामा अवरुद्ध हुने गरेको मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डको समस्या समाधानका लागि बागलुङ नगरपालिकाले वैकल्पिक मार्ग बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको बागलुङ नगरपालिका विपद व्यवस्थापन समितिको बैठकले बोक्सेको खाल्टोमा आईरहने समस्या समाधानका लागि वैकल्पिक मार्ग निर्माण गर्ने निर्णय गरेको हो ।
बोक्से–चापाबोट–खहरे सडकलाई तत्काल स्तरोन्नती गरेर वैकल्पिक सडकको रुपमा सञ्चालनमा ल्याउने निर्णय भएको नगर प्रमुख जनकराज पौडेलले बताए । ‘भोलीबाटै डोजर चल्छ, विकल्प दिने निर्णय भएको छ’ पौडेलले भने ‘बोक्सेमा वर्षेनि आउने समस्याले अब सास्ती खेप्नु पर्दैन ।’ मुलपानी–काभ्रे–धिमीहुँदै अक्षेते सम्मको सडकलाई समेत स्तरोन्नती गरेर वैकल्पिक मार्गको रुपमा प्रयोगमा ल्याउने निर्णय नगरपालिकाले गरेको छ ।
छिमेकी काठेखोला गाउँपालिकासँगको सहकार्यमा उक्त सडक स्तरोन्नती तत्कालै गरिने पौडेलले बताए । तीन किलोमिटर नयाँ सडक बनाएर लोकमार्गको बोक्सेमा आउने समस्या समाधान खोज्न थालिएको हो । ‘यहि साता नयाँ सडक सञ्चालनमा आउँछ’ ढोरपाटनसँग कुरा गर्दै पौडेलले भने ‘अब पहिरोले रोकिएर कोही पनि बाटोमै सुत्केरी हुनुपर्दैन ।’ बैठकले कालीगण्डकी करिडोर आयोजनाको ध्यानाकर्षण गराउने, बागलुङ सिगाना सडकको वैकल्पिक सडक बनाउनेलगायतका निर्णय समेत गरेको छ ।
मध्यपहाडी लोकमार्ग एकतर्फी संचालनमा
मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालमा आएको छ । पहिरोका कारण तीन दिनदेखि अवरुद्ध लोकमार्ग बिहिबार साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका वडा नं. ३ बोक्सेमा गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडकखण्ड मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको सक्रियतामा तीन दिनपछि खुलाईएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->