पोखरा, १३ साउन – सुरुमा जोखिम आंकनल गरेर उचित सावधानी नअपनाउदा गण्डकीमा कोरोना भाइरस संक्रमण फैलिदो छ । सोमवार एकैदिन यहाँ प्रहरीका उच्च पदस्थ ब्यक्ति र दुई मेडिकलन कलेजका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रहरीका जिल्ला प्रमुख र चिकित्सकमा पुष्टि भएसंगै समुदायमा समेत सन्त्रास बढेको छ ।
स्याङ्जाका प्रहरी प्रमुख एसपीसहित १८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जामा मात्रै १८ जना प्रहरीमा कोरोना भाइरस भएको पुष्टि भएको हो । १८ जनामध्ये एक जना महिला कर्मचारी छन् । ‘कोरोना भित्रभित्रै ब्यारेकमा सरिसकेको रहेछ,’ स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले भने, ‘यहाँ त लक्षण सहित देखा परेको छ ।’
अहिले कोरोनाको खासै लक्षण नदेखिएसम्म चेक गरिँदैन । प्रहरीको हकमा भने रुघा र ज्वरो लक्षण देखिएको थियो । यसअघि आइतबार प्रहरी प्रधान कार्यालय काठमाडौंका १३ र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो ।
साउन ७ गते स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा एकाएक ज्वरो आउने र रुघा लाग्ने भएपछि साउन ८ गते स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो । ९८ जना प्रहरी र हिरासतमा रहेका ४ जना गरी १०२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमवार ४० जनाको मात्र रिपोर्ट आएको स्वास्थ्य प्रमुख शर्माले जानकारी दिए । यसअघि साउन ६ गते स्याङ्जामा कार्यरत ३ जना प्रहरीमा कोरोना देखिएको थियो । तीन जना प्रहरी कार्यालयभित्रै सुरक्षित रुपमा वसेका छन् ।
स्वाब संकलन गरिए देखि जिल्ला प्रहरी कार्यालयको क्वाटरमा सेल्फ आइसोलेसनमा रहेका स्याङ्जाका प्रहरी प्रमुख एसपी विमलरा कँडेलले जनताको सेवामा खट्दा संक्रमण भएको बताए । जनताको सेवाको लागि फ्रन्ट लाइनमा रहेर काम गर्नु पर्ने, कतिबेला संक्रमित भइयो पत्तै भएन । एसपी कँडेलले भने, ‘कार्यालयमा सेवा लिन आउनेहरुबाटभयो कि समाजमा शान्ति सुरक्षा कायम गर्न खटेको अवस्थामा संक्रमीत भइयो जे भएपनि उच्च मनोबलका साथ कोरोनालाई जित्छु ।’
संक्रमित सबै जनालाई पुतलीबजारस्थित करेन्डाँडा र हेलुस्थित कालिका अस्पतालको आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको शर्माले बताए । ‘एसपी साबलाई भने आफ्नै निवासमा बस्न दिने कुरा भएको छ उहाँ स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहनुहुनेछ ।’
यसैविच, सोमबारै पोखराका दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टर र गण्डकी मेडिकल कलेजकी नर्समा कोरोना पुष्टि भएको हो ।
गण्डकी मेडिकल कलेजकी नर्समा दोस्रो पटक कोरोना पुष्टि भएको हो । स्याङ्जा वालिङ ३ ठेगाना भएकी ति नर्स हाल भने पोखरामै बसोबास गर्दै आएकी थिइन् । संक्रमित नर्समा दोस्रो पटक कोरोना पुष्टि भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । संक्रमित नर्स डेढ महिनाअघि कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको छोरी हुन् ।
दिर्घ रोगले थलिएका ति पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा मृत्यु भएको थियो । कन्ट्याक्ट ट्रेसिङमा परेका आमा छोरी दुवैलाई कोरोना जाँच गरिएको थियो । कोरोना जाँच गर्दा दुवैमा कोरोना पुष्टि भए पनि दुवै जनाले कोरोना जितेका थिए । यद्यपि, दोस्रो पटक पुन जाँच गर्दा ति नर्समा कोरोना पुष्टि भएको छ ।
अर्का स्वास्थ्यकर्मी मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टर रहेका छन् । केही दिनयता उनमा सामान्य ज्वरो आएपछि स्वाब जाँच गरिएको थियो । कोरोना जाँच गर्दा संक्रमण पुष्टि भएका उनलाई थप उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा लगिएको छ । संक्रमित डाक्टरको सम्पर्कमा आएका सबैको अहिले खोजीकार्य भईरहेको छ ।
अस्पताल स्रोतका अनुसार संक्रमित डाक्टर कोरोना संक्रमणबाट ज्यान गुमाएकी चिनियाँ महिलाको उपचारमा जुटेका थिए । स्वास्थ्यमा समस्या देखिएकी ति महिलालाई उनका नजिकका साथीहरुले अस्पताल पु¥याएका थिए ।
ति महिलाको उपचारमा सलग्न अरु डाक्टरको रिपोर्ट आईसके पनि ती डाक्टरको भने रिपोर्ट आईसकेको थिएन । स्रोतका अनुसार कोरोना पुष्टि भएका ति डाक्टर हिजोसम्म पनि उपचारमै खटिएका थिए ।
पछिल्लो तथ्यांकअनुसार गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १ हजार ३९९ पुगेको छ । संक्रमितमध्ये १२ सय १ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना संक्रमणबाट गण्डकीमा ४ जनाले ज्यान गुमाई सकेका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा सोमबार २२ जनालाई कोरोना पोजिटिभ देखिएको छ । जसमध्ये पोखराका २ र लमजुङका २ जना रहेका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ९९ पुगेको छ ।




