बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्तनपानको महत्व र ध्यान दिनुपर्ने पक्ष

स्तनपानको महत्व र ध्यान दिनुपर्ने पक्ष


  • सिर्जना शर्मा
  • साउन २० २०७७, मंगलबार

समयको घडीमा फेरो मार्दै स्तनपान सप्ताह यसपटक पनि सुरु भइसकेको छ । यससंग समबन्धित शुभकामना सन्देशहरुले संचार माध्यम भरीभराउ भएका छन् ।संघ संस्थाहरु विशेष कार्यक्रममा व्यस्त छन् । सवै प्रयास स्वस्थ जीवन बाँच्नका लागि शिशुले जन्मेदेखि दुईवर्षसम्म आमाको दूध खुवाउन प्रोत्साहन गर्ने अभिप्रायका लागि हुन् ।
प्रकृतिले हरेक स्तनधारीको दूध आफ्नै बच्चालाई अमृत समान सर्वोत्तम हुने हिसाबले बनाएको हुन्छ । बाघको दूध खुवाएमा अन्यजीव बाघ जस्तै बलियो हुने पक्कै हैन । तर यो तथ्यलाई गिज्याएझैँ हरेक अस्पतालका सुत्केरीको काखमा बट्टाको दूध बोतलमा चुसिरहेका नवजात शिशु देखिन्छन् । आखिर किन ?
निराश मेरो मन यसभित्रको कारण खोज्न भौतारिन्छ, र म पुग्छु विशेषज्ञ डाक्टरहरु सामु । डा. प्रज्वल पौडेल बालरोग विषेशज्ञ हुन् । उनले लामो समय देशका विभिन्न अस्पतालहरुमा काम गरी बालस्वास्थ्यबारे धेरै अनुभव बटुलेका छन् । स्तन पानको यो विघ्न महत्व, यति धेरै प्रचार–प्रसार अनि नवजात शिशुले फर्मुला दूध बोतलमा चुस्नु परेको किन ? डा. प्रज्वल भन्छन, ‘शिशुको जीवन रक्षाको सबैभन्दा बलियो आधार स्तनपान हो । पाउडर दूध शिशुले सजिलोसँग खानुु, स्तनपानको अभिबृद्धिका लागि लक्षित कृयाकलापहरुको कमी हुनु समुदायमा परामर्श केन्द्र सक्रिय हुनु र मिल्क बैङ्क नहुनका कारण आमाहरु स्तनपान गराउनबाट पछि हटेका हुन्छन् । कतिपय अवस्थामा शिशु र आमाको स्वास्थ्यको कारण पनि स्तनपानमा असहजता रहेको हुन्छ ।’
कस्ता अवस्थाका शिशुलाई स्तनपान गराउन असहज हुन्छ ? दूध प्रवाह हुने अवस्था र समय के हो ? दूध प्रवाह हुन के कस्ता आसन र विधि अपनाउनु पर्छ भन्ने बारेमा आमालाई स्वास्थ्यकर्मीले अनिवार्य रुपमा जानकारी गराउन जरुरी छ ।
डा. प्रज्वल भन्छन, ‘प्रसब तथा सुत्केरी एक यस्तो अवस्था हो, जसमा आमालाई खुसी मात्र हैन पीर चिन्ता पनि हुन्छ । यो अवस्थामा विभिन्न किसिमका हर्मोनले आमाको मुड र मानसिक अवस्थामा असर पारेको हुन्छ । यही कारण शुरुका केही दिन दूध नआउने तर विस्तारै स्वस्थ्य मनस्थिति रहेमा दूधको मात्र बढने हुन्छ । तसर्थ पहिलो हप्तामा आमालाई उचित परामर्शको खाँचो हुन्छ । घरपरिवारबाट विषेश माया र आत्मियता तथा सहयोगको आवश्यकता हुन्छ ।’
आमाको दूध अमृत समान हो भन्नेमा जोड दिदै डा. प्रज्वल थप्पछन, ‘पहिलो २,३ दिनसम्म आउने विघौती दूधले शिशुको मानसिक र शाररिक बृद्धि बिकासमा ठूलो मद्दत पु¥याउँछ । यो कम्पोजिसन् भएको दूध शिशुलाई खुवाउन अति जरुरी हुन्छ । आमाको विघौती दूधमा रोगप्रतिरोधात्मक तत्वहरु रहेको हुँदा यसले रोगविरुद्ध लड्ने क्षमता बढाउँछ । ६ महिनासम्म पूर्ण स्तनपानको सुचिश्तिताको लागि पनि यो समयमा अन्य दूध खुवाउनु हुँदैन ।’
डा. प्रज्जवलका अनुसार, आमाको दूध नखाने शिशुको पाचन प्रणालीमा गडबडी, झाडा पखाला, बान्ता, कब्जियत, रुघा, खोकी, ज्वरो आइरहने जस्ता समस्या देखिने हुन्छ । भविष्यमा मोटोपन, डाइभिटिज् र मुटुरोगबाट बच्नसमेत स्तनपानको भूमिका अहम रहेको हुन्छ । आमाको दूध खाएमा समस्या कत्ति आउन्न भन्ने त हैन । तर स्तनपान गर्नेमा यस्ता समस्या कम हुन्छ र भइहालेको स्थितिमा सामान्य उपचारबाट विसेक हुन्छ । त्यसैले आमाको दूध सुरक्षित मात्र हैन अमूल्य छ ।
‘बच्चा जन्मेको सुरुको हप्ता दूध कमै आउने रहेछ । त्यसपछि जति चुसायो उती आउँछ । आमाको दूध जस्तो राम्रो अर्को कुनै दूध हुँदैन । सबै आमाहरुले आफ्ना बच्चालाई स्तनपान नै गराउनुहोस् ।’
आमाको दूधले शिशुको भविष्यमा शिशुको मनोविज्ञानमा समेत सकारात्मक प्रभाव पार्ने कुरा विज्ञहरु बताउँछन् । आमाको दूध खान नपाएका शिशुहरुको शाररीक स्वास्थ्य मात्र कमजोर हुने हैन यस्ता शिशुहरु कठोर स्वभावको र आपराधिक कृयाकलापमा समेत संलग्न हुन सक्छन् ।
डा. प्रज्वल भन्छन् ‘नेपालमा ५५ प्रतिशत आमाले जन्मेको पहिलो घन्टामै शिशुलाई दूध खुवाउने तथ्याङ्क छ । यो प्रतिशत बढाउन देशका केही अस्पतालहरु जस्तै भरतपुर अस्पताल, भेरी अस्स्पताल, प्रदेश अस्पताल सुर्खेतले स्तनपानलाई विशेष प्राथमिकता दिई प्लान डू स्टडी एक्ट् (पिडएसए) विधिबाट यससम्बन्धमा आएका समस्याकोे जड पत्ता लगाई समाधानको उपायसमेत अबलम्बन गरेका कारण केही समय यता जन्मेको पहिलो घन्टामै स्तनपान गराउने संख्यामा निक्कै बृद्धि भएको छ । पिडिएसए जस्ता नयाँ प्रयसमा सबैले हातेमालो गर्दै अघी बढेमा स्तनपान गराउनेको संख्यामा ठूलो सफलता पाइने छ ।’
ललितपुर निवासी २८ वर्षिया मानषी ज्ञवाली न्यौपानेले गत वर्ष प्रथम सन्तानको जन्म दिइन् । स्तनपानबारे आफ्नो अनुभव सुनाउदै उनले भनिन, ‘अपरेसन गरेकाले जन्मनासाथ छोरीलाई मैले दूध चुसाउन सकिन । स्वास्थका कारण सन्तान पाउन सक्दिनस् भन्थे सबैले मलाई, आखिर मैले पाएँ । आमा भएपछि ‘सन्तानलाई आफनो दूध नखुवाइ के आमा बन्नु ?’ भन्ने लाग्थ्यो । सुत्केरी भएको शुरुको साता त दूधै आएन । समय अगावै जन्मेका कारण छोरी एन्आइसीयूमा थिई । तेश्रो दिन छोरी हेर्न नर्सको साथ लागि त्यहीँ गएँ । मलाई सानो बाउलमा दूध दूहुन लगाइयो । दूध आधा चम्चा जति मात्र आयो । ‘यो त अमृत हो यति भए पनि खुवाउनु पर्छ’ भन्दै नर्सहरुले छोरीलाई खुवाइ दिए । तीन दिनपछि मेरो दूध एक चम्चा जति आउन थाल्यो । कचौरामा दोएर नर्सलाई दिन्थे उनीहरुले छोरीलाई खुवाइ दिन्थे । झोल कुरा धेरै खान्थे । ७ दिनपछि मेरो दूध राम्ररी बग्न थाल्यो । छोरीलाई मेरै दूधले पुग्ने भयो । ६ महिनासम्म दिउँसो र राती मैले आफनो दूधबाहेक केही पनि खुवाउनै परेन । पास्नीपछि अरु कुरा पनि खान दिन्छु । छोरी हेर्दा पातली छ, तर दरी र टाठी छ । मलाई सन्तोष छ ।’
स्तनपानबारे आमाहरुलाई सन्देश दिदै मानषी भन्छिन् ‘बच्चा जन्मेको सुरुको हप्ता दूध कमै आउने रहेछ । त्यसपछि जति चुसायो उती आउँछ । आमाको दूध जस्तो राम्रो अर्को कुनै दूध हुँदैन । सबै आमाहरुले आफ्ना बच्चालाई स्तनपान नै गराउनुहोस् ।’
डा.मीरा ओझा बरिष्ठ प्रमुख प्रसुती तथा स्त्रीरोग विशेषज्ञ हुन् । स्वास्थ्य जीवनका लागि स्तनपानको महत्वबारे उनी भन्छिन्, ‘बच्चा पाएसंगै प्राकृतिक रुममा आमाहरुमा दुध पग्रन सुरु हुन्छ । तर सुरुका केही दिन धेरै जसोमा प्राकृतिक रुपमै कम दूध आँउछ । दूधको प्रवाह खासगरी शिशु जन्मेको तेश्रो दिनदेखि हुन्छ । तर धेरै आमाको बुझाइ दूध नै आएन भन्दै फर्मुला वा अन्य गाइभैँसीको दूध खुवाउँन थालिहाल्छन् । बैकल्पिक दूध सजिलैसँग शिशुले खान थालेपछि अभिभावक नै अन्य दूध खुवाउनतिर लाग्छन् । बुझनु पर्ने कुरा के छ भने शिशुलाई आमाको दूध जस्तो उत्तम अरु कुनै दूध हुनै सक्दैन ।’
आमालाई स्तनपानमा विश्वस्त पार्ने सम्बन्धमा डा. ओझा भन्छिन्, ‘सर्वप्रथम त बच्चा जन्मनासाथ दूधै आएन भन्ने आमाको सोचमा परिवर्तन आउनु पर्छ । दूधको मात्रा बढाउन थरीथरीका खानेकुरा खानु पर्छ भन्ने पनि हैन । सामान्य पोषिलो खाना पेटभरी खाएमा मात्र पनि दूध आउँछ । आमाको मनको प्रसन्नताले दूध प्रावहमा ठूलो भूमिका खेलेको हुन्छ । यसैले शिशुलाई आमाको नजिक्कै वा काखमा राख्दा आत्मियता तथा प्रेम भावका कारण दूध प्रवाह बढ्छ । पति तथा परिवारले सुत्केरी आमा दुःखी वा निराश हुने जुनसुकै बातावरण कम गर्न पूर्ण सहयोग गर्नुपर्छ ।’
स्तनपान प्रवद्र्धनमा सघाउ पु¥याउने सम्बन्धमा सुझाव दिँदै डा.मीरा भन्छिन्,
‘स्तनपानका लागि खासगरी गर्भ रहेको ७ देखि ९ हप्ता अर्थात तेश्रो टाइमेष्टरदेखि स्तनलाई शिशुले चुस्न मिल्ने गरी तयार पार्न कोशिस गर्नुपर्छ । कुनैकुनै आमाको दूधको मुन्टा दबेको हुन्छ । यस्तो समस्या भएका आमाको स्तनको मुन्टाबाहिर निकाल्नको लागि पटकपटक तेल वा चिल्लो क्रिम प्रयोग गरी बाहिर निकाल्ने प्रयास गर्नु पर्छ । कोही आमाको भने जन्मजात मुन्टा दबेको कारण यस्तो प्रयास गर्दा पनि निप्पलमाथि आउन कठिन हुन्छ । शिशुलाई स्तनपान गराउँदा आमाको दूधको मुन्टा चिरा पर्ने, दूध गानिने लगायतका समस्या आउन सक्छन् । यस्ता समस्याका कारण पनि आमाहरूले बिचैमा दूध खुवाउन कम गरेका हुन्छन् । यस्तो अवस्थामा आमाहरूले फोनबाट समस्या बताउने वा स्वास्थ्य संस्थामा सम्पर्क राखी समस्या हल गर्न सक्छिन् ।’
डा. मीरा थप्छिन्, ‘स्तनपानबारे सामान्य कुराको जानकारी गर्भ जाँचमा आएका बेलादेखि नै दिन जरुरी छ । बच्चा जन्मेपछि तुरुन्त आमाको छातीमा घोप्टो पारी स्तनमा मुख पर्ने गरी राखि दिएमा शिशुले प्राकृतिक रुपमा स्तनपान गर्न थाल्छ । यसो गर्नाले नवजात शिशुले आमाको बिगौती दूध खान पाउने मात्र नभई सुत्केरीको पाठेघर खुम्चन अक्सिटोसिन्को काममा समेत सहयोग पु¥याउँछ ।’
स्तनपानको प्रवद्र्धन गर्ने सन्दर्भमा डा.ओझा भन्छिन्, ‘स्तनपानलाई एक महत्वपूर्ण कार्यका रुपमा सबैले स्वीकारेमा यसको प्रयोग बढन सक्छ । स्वास्थ्य संस्थामा सुत्केरी वार्डमा स्वास्थकर्मीहरूले आमासंग शिशुलाई स्तनपान गराउनुभो ? कतिपल्ट ? केही समस्या छ कि ? जस्ता कुरा अनिवार्य रुपमा सोधखोज गर्ने र आमासामु कुनै समस्या भए सुझाव र सहयोग दिन जरुरी छ ।’
वरिष्ठ डाक्टर आमाहरूले आफ्ना शिशुलाई स्तनपान कत्तिको गराउँछन् भन्ने मेरो जिज्ञाशामा डा.मीरा ओझा भन्छिन् ,
‘मैले मेरा तीनैजना शिशुलाई नियमपूर्वक स्तनपान गराउन सकिन ।’ आफ्नो बेलामा प्रस्सुती बिदा ४५ दिनको मात्र भएको स्मरण गर्दै उनी भन्छिन्, ‘कामको जिम्मेवारीका वाध्यताले मैले जन्म दिएका सन्तानप्रतिको यो महत्वपूर्ण कर्तव्यलाई प्राथमिकतामा राख्न सकिन । यसमा अहिलेसम्म मलाई ग्लानी हुन्छ । शिशुहरूले कम्तिमा छ महिना पूर्ण स्तनपान गर्ने अवसर दिलाउन महिलाले सुत्केरी विदा ६ महिनाको पाउनु पर्ने सुझाब दिन्छिन्् । त्यस्तै कार्यस्थलमा स्तनपान कक्षको व्यवस्था गर्नु जरुरी रहेको उनी बताउँछिन् ।
नवजातशिशु मृत्युदरमा कमी ल्याउन स्तनपानलाई प्रवद्र्धन गर्नुपर्ने कुरा बताउँदै डा. मीरा भन्छिन् ‘स्तनपानलाई प्रवद्र्धनका लागि स्वास्थ्य सेवा प्रणालीमा सुधार आउनु पर्छ । स्वास्थ सेवा प्रदायकलाई स्तनपान सम्बन्धी आधुनिक तालिम दिनु पर्ने, फलोअप नियमित हुनु पर्ने, गर्भावस्थादेखि नै आमालाई स्तनपानबारे परामर्श दिने, स्तनपानको महत्वका विषयमा सही जानकारी दिने जस्ता कार्य जरुरी छन् । यी कुरा प्रोटोकलमा छन्, कार्यान्वयनमा पनि कडाइ हुनु जरुरी देख्छु ।’’
अन्त्यमा,
अमृत सेवन गर्ने जीव मृत्युबाट सधैँ टाढा हुन्छ भन्ने सबैले बुझनु पर्छ । ‘स्तनपान अमृत समान’ भन्ने नारा अहिले हरेक आमालाई कण्ठ भइसकेको छ । अबका प्रयास पुनः यही नारा वर्षको एक साता रटानका लागि करोडौँ खर्च गर्ने कार्यमा नभई शिशुलाई स्तनपान गराउन हाल के कस्ता खाडल विद्यमान छन् र ती खाडल पुर्न कस्ता प्रयास जरुरी छ भन्ने तर्फ गहन अध्ययन र कार्य हुन जरुरी छ । Srijanasharma1@gmail.com
(शर्मा गोल्डेन कम्यूनिटीसंग आवद्ध छिन्)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->