बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

युवा इमान्दार बने मात्रै नयाँ नेतृत्व

युवा इमान्दार बने मात्रै नयाँ नेतृत्व


  • तारानाथ आचार्य
  • साउन २१ २०७७, बुधबार

नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । केन्द्रदेखि स्थानीय तहसम्म महाधिवेशनको तयारीले कांग्रेस तातेको छ । केन्द्रिय समितिले तय गरेर पठाएको कार्यसूचीका आधारमा जिल्लामा यतिबेला क्रियाशिल सदस्य बनाउनेदेखि आगामी महाधिवेशनको वातावरण तयार गर्नेसम्मका कामहरु चलिरहेका छन् । स्पष्ट दुई खेमामा देखिने कांग्रेस नेता तथा कार्यकर्ताहरुले आगामी महाधिवेशनका लागि आफ्नो पक्ष वा गुटको बाटो सोझाउने प्रयाससमेत गरिरहेका छन् । अघिल्लो महाधिवेशनका बेला निर्वाचित जिल्ला कमिटिले मनोनयन गर्नुपर्ने विभागहरु निकै लामो समय लगाएर गठन ग¥यो । अझै भनौ वैधानिक बाटो नै सकिन लागेपछि म्याद सकिएकै दिन कांग्रेसका विभागहरु गठन भए । जिल्ला सभापतिले मनोनित गर्न पाउने कतिपय पदहरुमा अन्तिम समयमा आएर मात्रै मानोनयन भयो । जसका कारण कांग्रेस बागलुङ एक पटक पुन ः चर्चामा आयो । विवादको सिमा झण्डै नाघेको बागलुङ कांग्रेसले आगामी महाधिवेशनको तयारी कसरी गरिरहेको छ । वर्षा र बाढी पहिरोका कारण कार्यसूची कार्यान्वयनमा कठिनाई के छन् र कसरी गरिँदैछ । यिनै विषयमा ढोरपाटन सहकर्मी तारानाथ आचार्यले नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्र थापासँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ आचार्यले गरेको कुराकानीको संक्षिप्त अंश ।

नेपाली कांग्रेस बागलुङ गतिशिल छ ?
– पार्टीलाई गतिशिल बनाउनका लागि नियमित कार्यक्रमहरु भैरहेका छन् । हामीले केही दिनअघि बीपीलाई सम्झीयौं । विपीको सिद्धान्त मान्ने हामी उहाँका अनुयायीहरु हौं । बिपीको सिद्धान्तमा चल्नु हाम्रो धर्म हो । अहिले हामी सत्तामा छैनौं । सत्तामा हुँदा जस्तो आफ्नो विधि र सिद्धान्तलाई कार्यान्वयनमा ल्याउने कुरा विपक्षमा हुँदा सहज नहुँदो रहेछ । माथिदेखि तलसम्म त्यसको असर त पर्ने नै भयो । जे होस बागलुङ कांग्रेसले आफ्नो लय छोडेको छैन् ।

अहिले पो विपक्षमा हुनुहुन्छ, बिपीले सिद्धान्त छोडेर गएको त ३८ वर्ष भयो । यो बिचमा कांग्रेसले के ग¥यो ?
– उहाँको बाटो समाजवाद हो । २०४८ मा नेपाली कांग्रेसले सरकारमा छँदा बिपीको सिद्धान्त सम्झेर कांग्रेसले गाउँ सम्झेको थियो । त्यतिबेला शहर होईन गाउँका हलीको अवस्था सम्झेर योजना बनाउनु पर्छ भन्ने कांग्रेसले नीति लिएको थियो । त्यसपछि गाउँमा सञ्चारका लागि हुलाक र विद्यालय पु¥याउने कांग्रेस हो भन्ने कुरा भुल्नु भएन नि । गाउँमुखी कार्यक्रम ल्याउने कांग्रेस हो । कांग्रेस मेरो–तेरोभन्दा पनि हामी सवैको विकास भन्नेमा अडिक छ । अहिलको जिल्लाको विकास पनि सोही अनुसारको होस् भन्ने कांग्रेसले चाहेको छ ।

कांग्रेस बागलुङमा चरम गुटबन्दी र नातागोताान केन्द्रित भयो कांग्रेस भन्ने छ नि ?
– बागलुङमा गुटबन्दी वा नातागोताको कुरा गर्दा म आँफैलाई उदाहरणको रुपमा हेरौं । मैले सभापति भएपछि गरेका क्रियाकलापकै कुरा गरौं । मैले कहिल्यै पनि ‘आफ्नो भने धराले बाँध्ने, अर्काको चोयाले बाँध्ने’ कहिल्यै गरेको छैन । यहाँ जिम्मेवारी पाउने भनेको कामका आधारबाट हो । कामले काजु हुनुपर्छ भन्ने मेरो सिद्धान्त हो । सोही आधारमा अघि बढाईएको छ । मैले हरेक ठाउँमा भातृ शुभेच्छुक संगठनको निर्वाचन हुँदा पनि काम गर्ने साथीहरुलाई जिम्मेवारी दिउँ । यो वा त्यो गुटको भनेर नजाउँ भनेको छु । सोहीअनुसार भएका पनि छन् । शिक्षक संघ हेर्नुस, नेवि संघ हेर्नुस्, कहिँ पनि गुटजस्तो देखिँदैन ।

भातृ संगठनले नै नेताको वरिपरि घुमेर गुटको मलजल गर्छन् भन्छन् नि ?
– अब तपाईंको कुरामा केही सत्यता छ । गुटकै आधारमा राजनीति गर्नुपर्छ, गुटमै लागेर माथि पुगिन्छ भन्नेहरु पनि छन् । र, मेरो सिद्धान्त के हो भने गुटले संगठन बलियो हुँदैन भन्ने हो । काम गर्ने मान्छेलाई जिम्मेवारी दिनुपर्छ भन्ने मान्यताका कारणले नै धेरै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । लोकतान्त्रिक पद्धतिमा चिर्वाचन हुनु अस्वभाविक होईन तर त्यसैलाई गुट विभाजनको जड पनि त मान्नु भएन नि । एकादुई साथीभाईको कुरा पनि मान्ने होला ।

अघिल्लो महाधिवेशनपछि समय सकिने बेला मात्रै विभागहरु गठन गर्नुभो । गुटको समस्या नभए किन ढिला भयो त ?
– हैन तपाईंले भनेको कुरामा केही सत्यता होला । तर मैले गुटको चाँजो मिलाउनलाई अन्तिम समय कुरेकै होईन । मैले भनेको के भने म आईसकेपछि साथीहरुको कामको पफर्मेन्स हेर्दै गएँ । छ महिनामै जिम्मेवारी दिन नसकिए होला तर साथीहरुलाई तालको माछो बौरको बिलो बनाउनु हुँदैन भनेर मैले निर्वाचन लड्ने समयमा पनि कसैलाई आश्वासन दिईन । मैले त्यतिबेला पछि यो दिन्छु, अहिले सहयोग गर भनेको भए मैले त्यसैगरी दिनु पर्दथ्र्यो र छिटो पनि हुँदो हो । निर्वाचन जित्दाका भोलिपल्टै साथीहरु आउँथे दबाव दिन्थे होला । मेरो विपक्षका साथीलाई समेत मिलाउँछु भन्दाभन्दै सबै साथीहरुलाई मिलाएर लैजाँदा, सबैको भावना समेट्न लाग्दा समय लागेको यथार्थ हो तर गुटको कारणले होईन् । गुट गर्नेले त झन् छिटो पो गर्छन् त । ‘भान्छे भएपछि पुगे पेटभरी खानुपर्छ नपुगे डाडु पनिउँ चाटेरै चित्त बुझाउनु पर्छ’ भन्ने मैले बुझेको छु ।

आगामी अधिवेशनमा बागलुङमा गुटको असर कत्तिको देखा पर्ला ?
– अरु जिल्लामा जस्तो बागलुङ जिल्ला त्यति विभाजित जिल्ला होईन बागलुङ । चाहे त्यो अन्य राजनीतिक दलमा होस, चाहे हामी कांग्रेसको बिचमा किन नहोस् । हामीले विभाजनकै रेखा कोरेर ‘तेरो बाउ फलानो मेरो आमा फलानो’ भनेर गएकै छैनौं र जानु पनि हुँदैन भन्ने मेरो सिद्धान्त हो । संगठनको हितका लागि गुटले असर गर्छ । जसले संगठनको लागि काम गर्छ उ अघि आउनु पर्छ, चाहे मेरो होस चाहे उसको होस् । त्यस कारण के हो भन्दा खेती काम गरेको कोशेली बोकेर आउनेलाई नै बागलुङमा ठाउँ दिनुपर्छ आगामी महाधिवेशनमा । मुखको मात्रै कोशेली बोकेर आउनेहरुलाई अन्त्य गरेर कन्नापरी कोशेली लिएर आउनेलाई स्वागत गर्नुपर्छ, जुन कोशेली कामको होस् । निर्वाचनको बेला एकाध त्यस्तो होला तेरोमेरो तर अहिले कम्युनिष्ट पार्टिको जस्तो देखिनेगरी गुटको गन्ध आउनै भएको छैन् । कम्युनिष्ट पार्टीमा बहुमत अल्पमतका कुरा छन्, हाम्रोमा त्यो छैन् ।

बागलुङमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना के छ ?
– आगामी १४ औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न पायो भने त कांग्रेस साँच्चिकै उदाहरण नै बन्न सक्छ । मेरो प्रयास त सर्वसम्मत नेतृत्व चयनमा नै हुन्छ । यसो हुँदा सबैको भावना एकै ठाउँ हुन्छ । तर पनि मानिसका इच्छा चाहना व्यक्तिगत हुन्छन् । कहिँ न कहिँ साईड लिने इच्छा राख्ने हुन्छ । यहाँ चाहिँ तलव र भत्ता खाने होईन । घरको मानो खाएर जनताको सेवा र काम गर्ने ठाउँ हो यो । आफ्नो मानो खाएर काम गर्दा समेत औजस आउने ठाउँ हो । जसले अलिकति निश्पक्ष तरिकाले काम गर्न सक्छ, जनताका भावना बुझ्छ, त्यस्तो मान्छेको आवश्यकता हुन्छ ।

महाधिवेशनको धरातल जिल्ला हो । यहाँहरुले पठाएका प्रतिनिधिका आधारमा केन्द्रको नेतृत्व चयन हुन्छ । केन्द्रमा नयाँ नेतृत्व आउने सम्भावना के छ ?
– हाम्रो विधानले नै अहिले १५ देखि २५ वर्षका २५ प्रतिशत प्रतिनिधि ल्याउनुपर्ने व्यवस्था गरेको छ । र, जहाँसम्म लाग्छ युवाहरु पनि जिम्मेवार भएर आए भने सम्भावना होला । मैले त के देखिरेको छु भने युवाहरु पनि अहिले बढी नचाहिँदो काममा लाग्ने, नचाहिँदो खर्च गर्ने, नचाहिँदो चिजहरु खानुपर्नेजस्ता समस्या छन् । जबसम्म युवाहरुमा स्वाभिमान आउँदैन्, इमान्दार र स्वयंसेवी भाव राख्ने नभएर ‘जसको खाना खाई उसको गाना गाई’ भयो भने युवाको पनि मैले भविश्य देख्दिन । बच्चाजस्तो स्वाभिमान भएर देशका लागि लड्छौं भन्ने युवा आए भने मात्रै मुलुकले मुहार फेर्छ ।

अबको राजनीति के होला, कसरी हेर्नुभएको छ ?
किसुन जिले गणतन्त्रमा जान मान्नुभएको थिएन । अभिभावक चाहिन्छ भनेर संवैधानिक राजतन्त्रका पक्षमा उहाँ हुनुहुन्थ्यो । गणतन्त्रमा हामी गयौं । दलहरुनै अभिभावक मानेर हामी गणतन्त्रमा गयौं । तर राजनीतिक दलहरुले अभिभावक हौं भन्ने देखाउन सकिएन । देशमा स्थिरता, शान्ति चाहेर जनताले बहुमत दिँदा पनि जुन आए नि कानै चिरेका भन्ने भएको छ । जनतमा वितृष्णा आएको छ । जनतालाई विश्वासमा लिएर जनमतको अभिभावकत्व ग्रहण गर्नु अहिलेको राजनीतिक दायित्व हो । जिम्मेवार बनेर राजनीतिक दलले स्वार्थहरु त्यागेर स्वाभिमानी बन्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->