पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजु व्यापारीक पृष्ठभूमिका हुन् । प्रतिष्ठित व्यापारी समूहका सदस्य प्रजु नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दैं वडाध्यक्ष बनेका हुन् । स्थानीय निकायमा प्रतिपक्ष र पक्षको कल्पना नगरिएको बताए पनि अहिले महानगरमा प्रतिपक्षको भूमिका कमजोर भएको र प्रतिपक्षको आवाज नसुनिएको गुनासो बढिरहेको छ । उनी स्वयंंले प्रतिपक्षी दलको प्रतिनिधित्व भएको वडामा कम रकम विनियोजन भएको गुनासो गरेका छन् । प्रजु महानगरको राजश्व परामर्श समितिका सदस्य पनि हुन् । उनी दरवृद्धि समितिका संयोजक पनि हुन् । महानगरमा ठूलो आर्थिक घोटला काण्डहरु भइरहँदा प्रजुको भूमिकामाथि पनि प्रश्न उठेको छ । ढोरपाटन राष्ट्रिय दैनिकका लागि विजय नेपालीले यी र यावत् विषयमा उनीसँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश । सम्पादक
जनप्रतिनिधिको रुपमा यहाँले जिम्मेवारी सम्हालेपछि वडामा के–कस्ता विकासे काम भए ?
– यो २० औं वर्षको जनप्रतिनिधिविहीनता तोड्दै हामीले जिम्मेवारी सम्हाल्दा काम कसरी सुरु गर्ने भन्नेमै समस्या भयो । पहिलो वर्ष ऐन, कार्यविधि बनाउनतिर लागियो । एकहिसाबले भन्दा ऐन–निमयको बादलभित्र हराइयो । यद्यपि, महानगरले संघ र प्रदेश सरकारसँग नबाझिने किसिमले आफ्नो दैनिक कार्य संचालनको लागि धेरै नियमहरु बनाएको छ । सोही ऐन,नियम र कार्यविधिको अधिनमा रहेर विकासका कामहरु भएका छन् । स्थानीय स्वायत्त शासन ऐन २०७४ ले पनि धेरै अधिकारहरु स्थानीय तहलाई प्रत्यायोजन गरेको छ । यति हुँदाहुँदै पनि तीन तहका सरकारबीच अधिकार बाँडफाँडबारे खिचातानी जारी नै छ । सबैको आ–आफ्नो अधिकार हुन्छ, त्यही अनुसार काम गर्ने हो । जनप्रतिनिधि आइसकेपछि÷भइसकेपछि र सबैभन्दा नजिकको सरकार भएकाले पनि हामीले गर्नुपर्ने कामहरु धेरै नै छन् । मुख्य कुरा त, नागरिकलाई सेवा दिने नै हो । उनीहरुले वडाबाट पाउनुपर्ने सेवा÷सुविधा दिने मामिलामा हामीले सक्दो गरेका छौं । विकास निर्माणका कामहरु पनि सीमित स्रोत र साधनका बाबजुद भइरहेको छ ।
वडामा विकास निमार्णका के कस्ता कामहरु भएका छन ?
– वडामा जनप्रतिनिधि आइसकेपछि आवश्यक बाटोलाई फराकिलो बनाएका छौँ । उज्यालो वडा बनाएका छौँ । ढल निकास, शान्ति सुरक्षाको प्रत्याभूतिसहित नियमित फोहोर व्यवस्थापनमा ध्यान दिएका छाँै । प्रशासनिक सुविधा सुलभ तरिकाले गर्न कटिबद्धता छाँै । विकास वडा ३ मा मात्रै हैन ३३ वटै वडामा हुनुपर्दछ भन्ने मेरो धारणा हो । यहाँ रहेका विद्यालयहरु ः बालमन्दिर, कन्या मावि र ज्ञानभूमि आफैमा इतिहास बोकेका, ५० वर्ष टेकेका विद्यालयहरु हुन् । बालमन्दिर देशकै उत्कृष्ट विद्यालयमा पर्दछ । त्यहाँको शिक्षाको वातावरण निकै राम्रो रहेको छ भने अन्य दुई विद्यालयमा विद्यार्थी घट्दो क्रममा रहेको छ । अबको उद्धेश्य भनेको ती विद्यालयहरुलाई गाभ्नु हो । नारायणस्थानसँग धार्मिक मात्र नभएर पोखराको उत्पत्ति र विकास संगै जोडिएको इतिहास छ । मुक्तिनाथ जाँदा यो क्षेत्रलाई प्रवेशद्धारको रुपमा पनि लिइन्थ्या,े जसको संरक्षण र प्रर्वद्धनको लागि रकम छुट्याएका छौँ । धार्मिकस्थलनजिकै सार्वजानिक शौचालय निमार्ण गरेका छौँ । सिसी क्यामेराको लागि बजेट छुट्याएपनि कोरोनाको कारणले राख्न सकिएको छैन । एक वडा एक खेलमैदान अनुसार खेलमैदान निर्माणको लागि पहल भएको छ । अपांगमैत्री फुटपाथ निमार्ण तयारी अहिले भइरहेको छ ।
कोरोना महामारीको अवस्थामा वडाले कोरोना सम्बन्धि के कस्ता कदम चालेको छ ?
– कोरोना प्रकोप बढिसकेपछि वडा नं. ३ मा बाहिरबाट आउने नागरिकको तथ्याकं राख्नुपर्छ भन्दै चैत्र १३ गते देखि नै हामीले तथ्यांक राख्ने काम ग¥यौँ । जे जति आउँछन्, तथ्यांक राख्याँै । घरधनीलाई बाहिरबाट आउने कोही भए÷लुकाएको खण्डमा कारबाही गर्नेसमेत सुचना दियौँ । हामीसँग सबैको तथ्याङ्क छ । हामीले महिला क्वारेन्टिन निमार्ण ग¥यौँ । उपमेयरको सहयोगमा महानगरले ३० शैयाको क्वारेन्टिन यही वडामा बनेको छ । विभिन्न दलका प्रतिनिधि, क्लबहरुको सहकार्यमा चुल्हो निभेको घरमै गएर वास्तविक पीडितलाई राहत प्रदान गरेका छौँ । वडा भित्र घरभएका घरधनीहरुलाई पनि बाहिर गएका छन् भने वडाको सिफारिस लिएर मात्र आउन पाउने व्यवस्था मिलाएका छौँ । समग्रमा सुरक्षाको प्रबन्धमा हामीले कुनै कमी हुन दिएका छैनौँ, सचेतता अपनाएका छौं ।
कोराना कहरकै बढ्दा नियन्त्रणको लागि कस्तो योजना बनाउनु भएको छ ?
– अहिले रातो किताब आएको छैन । वडाका स्थायी जो छन् उहाँहरुलाई हामीले भनिसकेका छौँ, तपाईको घरमा राख्ने हो भने निश्चित मापदण्ड पूरा गर्नुहोस । अहिले क्वारेन्टिन नै समस्या हुन थालिसक्यो । यहाँको आइसुलेसन नै भरिएको अवस्था छ । जनताले कोरोना भाइरस बुझिसकेका छन् तर अटेर गरिरहेका छन । महानगरले अत्यावश्यकबाहेक अन्य सिफारीसहरु नगर्न भनेको छ । सरकारले पनि राजस्व लिनको लागीमात्र खुलेको जस्तो देखिएको छ । जता पनि भीडभाड छ । वडावासीलाई नै सचेत गराएका छौं । सामाजिक दूरीमात्र होइन अब शारीरिक दूरी कायम राख्नपर्ने देखिएको छ । अब अहिले कोरोना फैलिएको स्थिति छ जनप्रतिनिधिहरु बसेर के कसरी जाने भन्ने विषयमा वहस हुनुपर्ने तर हुन सकेको छैन । महानगरका प्रमुखलाई नै आफ्नो अधिकारको बारेमा थाहा छैन । कोरोना वडामा देखिएपछि प्रशासनलाई किन कुर्ने ? आफैले निर्देशन दिन सकिदैँन ? मैले मेरो वडामा कोरोना बढेको देखे सिल गर्नसक्छु । हाम्रो वडाका नगरिक पनि सचेत भएको महसुस भएको छ ।
महिला क्वारेन्टिनको व्यवस्थापन र संचालन कसरी भएको छ ?
– विशेषगरि देशका विभिन्न स्थानका क्वारेन्टिनमा केही घटना घटेकै कारणले हामिले महिला क्वारेन्टिनलाई प्राथमिकतामा राखेर बनाएका हौ । प्रदेशले सहयोग गरेको भए ५० शैयाको क्वारेन्टिन बनाउन सक्ने थियौँ । तर प्रदेश सरकारले केही गरेन । त्यहाँ राखिएकामध्ये ८ जनामा संक्रमण पुष्टि देखियो । हामीले आइसोलेसनमा राख्याँै । विदेशबाट परीक्षण गरेर आएपनि यात्राको समयमा संक्रमिमण भएको पाइयो । महानगरले मापदण्ड निर्धारण गरे अनुसार नै हामीले विभिन्न राजनितिक दल, जनप्रतिनिधि, समाजसेविहरुलाई समेत राखेर व्यवस्थापनलाई चुस्त बनाएका छाँै ।
तपाइँ राजस्व परामर्श समिति सदस्य पनि हुनुहुन्छ, पोखरा महानगरमा पछिल्लो समय टेन्डर प्रक्रियादेखि करसम्म अनियमितता भएको सार्वजनिक भएको छ , कुरा के हो ?
– यो अहिलेको जल्दोबल्दो विषय हो । २० औँ वर्ष जनप्रतिनिधिविहीन भएको अवस्थामा कर्मचारीतन्त्र हावी भइसकेको छ । अब हाम्रो पनि २ वर्ष रहेकाले कर्मचारीहरुले जाने दिन आउन लागे भन्दै दिन गन्न सुरु गरिसकेको अवस्था छ । कर्मचारीतन्त्रको अन्त्य नभएसम्म निकै समस्या झेल्न बाध्य हुनेछौँ । हामी जनप्रतिनिधिहरु जनता र विकासप्रति उत्तरदायी हुनुपर्छ भन्ने भावना सबै कर्मचारीमा देखिएन । । उहाँहरुले आन्तरीक व्यवस्थापनमा सहयोग गर्नुपर्ने हो त्यसो भएको छैन । केही ठाउँमा मलाई पनि मुछिएको छ । यसमा म स्पष्ट धारण के राख्न चाहान्छु भने ५–६ अर्बको हिसाब हुँदा १३ करोडको विषय जुन भएको छ, त्यो होइन । एक करोड ७५ लाख जतिको हिसाब नमिलेको हो । एक करोड ७५ लाख अहिले यो कोरोनासम्बन्धि अनि कुनकुन ठाउँमा खर्च भइराखेको छ । त्यतिमात्र हो । हिजोमात्र राजस्व परामर्श समितिको बैठकमा समेत यो कुरा उठेको थियो । मेयरसाबले निकै चित्त दुखाउनुभएको थियो । खाएको विष लाग्ने हो, नखाएको लाग्दैन । टेन्डर उठाउने घटनामा पनि ३१ लाख चानचुन १० प्रतिशत बढाएर लानपर्छ भन्नेमा मेरो नाम मुछियो । म एउटा दरवृद्धि समितिको संयोजक भएको नाताले १ रुपैयाँ हो भने एक रुपैयाँ १० पैसा बनाउनपर्छ । रद्धि कागजको ३ रुपैयाँ पर्छ भने ३ रुपैयाँ ३० पैसा वा साढे ३ रुपैयाँ बनाऊँ भन्ने किसिमले लागेको हो । टेन्डर प्रक्रियाको लागि थुप्रै समितिहरु हुन्छन । तीनले काम गर्ने हुन् । सरकारले दिएको नियम अनुसार हामी रहनैपर्छ । आर्थिक अनियमितता नहुनको लागि मिडियाले पनि झकझक्याँउदा पारदर्शीता आउँछ । हिजो जनप्रतिनिधि नहुँदा १० लाखको काम ३ लाखमा गरेर ७ लाख खाएका जस्ता उदाहरणहरुपनि छन् । अब सच्चिएर जानपर्छ ।महानगरले कर्मचारीलाई कारबाही गर्न सक्नुपर्छ ।
महानगरमा कार्यकारी टिक्न सक्दैनन् किन कार्यकारी स्थायित्व हुन सकेका छैनन ?
– महानगरमा अहिले कर्मचारी समायोजन निकै समस्याको विषय बनेको छ । पहिला स्थानीय कर्मचारी हुनु र अहिले निजामति आउनुले दुबैबीच द्धन्द्ध सिर्जना हुने गरेको छ । यहाँ कर्मचारीतन्त्रक हावि छ । कर्मचारीको आफ्नो राजनितिक भागवण्डा र अहम्ताले गर्दा सबै कुरा बिग्रिएको हो । यो पोखराको अहिले विडम्बना हो यसले हामीलाई पनि घाटा भएको छ । सत्तारुढ पार्टीसँग नजिक हुने कर्मचारीहरुले अरुलाई नगन्ने र कहिलेकाहिँ सत्तारुढ पार्टी आवद्ध जनप्रतिनिधिहरुले पनि उनीहरुलाई च्याप्ने गर्दा पनि समस्या बढेको मैले ठानेको छु ।
प्रतिपक्षिको भूमिका नभएको हो त?
– नेपालको विधानतः स्थानीय तहमा पक्ष प्रतिपक्ष भन्ने उल्लेख छैन । हामीले स्थानीय तह जितिसकेपछि सबै एकै हौँ भन्ने सम्झनुपर्छ । मैले अघि नै भनिसकेँ ३ मात्र होइन ३३ को पनि विकास हुनुपर्छ । तर आवश्यक रकम भने आउँदैन । प्रतिपक्षी भएकै कारणले केही वडाहरुमा बजेट पनि कम आउने गरेको छ । अघिल्लो वर्ष हामीले आन्दोलननै गरेका थियौँ । यो वर्ष रातो किताब आएको छैन । हामीले भनेझँै बजेट आएको छ कि छैन भन्ने थाहा छैन । हामीले प्रस्तावित गरेको बजेट आएन भने हामी आन्दोलित हुन्छौँ । कर्मचारीमासमेत कांग्रेस र कम्युनिष्ट भनेर छुट्याउने गरेको पाइएको छ । यसको अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो ।
भावि योजना के छ ?
– नारायणस्थानलाई धार्मिक समिति बनाई व्यवस्थित गर्ने, विद्यालयहरु मर्ज गर्ने र गुणस्तरी शिक्षा दिन,सिसिटिभि राख्ने र वडा ३ लाई सेल्फीजोन बनाउने योजना बनाएका छाँै । एक घर दुई गमला योजना अघिबढाएर गार्डेन सिटी बनाउने योजना छ । बाँकी काम त जनताका आवश्यकता अनुसार पूरा हुँदै जान्छन् । भौतिक निर्माण आवश्यक भएको ठाउँमा भौतिक निर्माणका काम गर्नेछौं ।





