बागलुङ, २८ साउन– अनुमतिबिना नगरक्षेत्रमा बोईलर कुखुरा भित्राएको भन्दै बागलुङ नगरपालिकाले २४ घण्टाभित्र कुखुरा फिर्ता लैजान व्यवसायीलाई निर्देशन दिएको छ । कोरोना भाईरस संक्रमणको त्रास बढेसँगै व्यवसायीसँग छलफल गरेर बाहिरबाट कुखुराको आयातमा नगरपालिकाले केही समयअघि रोक लगाएको थियो ।
बिना जानकारी कुखुरा भित्राएको र भित्रिएका कुखुरामध्ये केही मरेका समेत भेटिएकाले तत्काल त्यस्ता खुकुरा फिर्ता लैजान व्यवसायीलाई निर्देशन दिईएको नगरप्रमुख जनकराज पौडेलले बताए ।
गत साउन २६ गते बिहान बागलुङ नगरपालिका–३ मा व्यवसाय गर्दै आएका ग्रिन शाहले ५०० वटा कुखुरा बागलुङ भित्राएका थिए । स्थानीयको उजुरीका आधारमा बागलुङ नगरपालिकाको अनुगमन टोली र प्रहरीले गौडाकोटमा कुखुरा झार्दै गर्दा कुखुरासहित उनलाई भेटेको थियो । केही मरेका र केही बिरामी कुखुरासमेत भेटिएपछि ३ दिन सुरक्षित राखेर उपचार गर्न भनिएको नगरपालिकाले जनाएको छ ।
उनका कुखुरा निको नभएपछि २४ घण्टाभित्र नगरपालिका क्षेत्रबाट फिर्ता लैजान निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले बताए । व्यवसायी शाहले तोकिएको समयमा फिर्ता नलगे कानुनबमोजिम कारवाही गरिने नगरपालिकाले पठाएको पत्रमा उल्लेख छ । शाहले १ हजार १ सय २२ किलो कुखुरा बागलुङ ल्याएर लुकिछिपी बिक्री गर्दै गर्दा स्थानीयले उजुरी गरेका थिए ।





