आजको तनावपुर्ण र अल्पशिक्षित अनि विकासोन्मुख नेपाली समाजमा नकारात्मक दृष्टिकोणले हेरिने रोगहरूमध्येको एक विकराल रोग मनोरोग (एन्जाइटि रडिप्रेसन) पनि हो । विकसित मुलुक (यूरोप अथवा अमेरिका)मा यो रोगबारे खुलेर जर्चा, बहस र चेकजाँच हुने भएकोले थोरै मात्र मानिसहरू यो रोगबाट पीडित भएको तथ्यांक बाहिर आएको हुन्छ । तर नेपालमा यो रोग लागेको व्यक्तिले सामाजिक दुव्र्यवहारको सामना गर्नुपर्ने, खुरापाती समाज भएको कारण समाजमा खुलेर हिँड्न नसक्ने र सकेसम्म रोग लुकाउन कोशिश गर्ने भएकोले कति प्रतिशत व्यक्तिहरू यो रोगबाट ग्रसित छन् भन्ने ठीक एकिन गर्न गाह्रो छ ।
हाम्रो समाज अझै पनि परम्परागत रुढीवादी सोचले ग्रसित छ । समाजमा कुनै व्यक्तिले मनोरोगको औषधी सेवन गरेको छ भने उसलाई दिमागको दबाई खाएको व्यक्तिको तुच्छ संज्ञा दिदै कानेखुसी गरिन्छ अनि जो व्यक्ति समाजबाट आत्मबल खोजिरहेको हुन्छ उसले आफु मनोरोगको कारण तिरस्कृत भएको महसुस गर्छ र यो समस्या दोहोरिँदै जाँदा समयको कुनै कालखण्डमा आत्महत्या गर्ने मोडमा समेत पुग्ने र यस्तो घटना घटेको धेरै सत्यहरू हाम्रो समाजमा प्रसस्तै छ ।
मनोरोग अथवा मानसिक रोग मस्तिष्कमा रासायनिक असन्तुलनको कारण अथवा मस्तिष्कमा रासायनिक गडबडीको कारणले हुन्छ त्यसैले यो सामान्य मेन्टल डिसअर्डर हो ।
मेडिकलको भाषामा न्युरोट्रान्समिटर डिसअडरको कारणले मानसिक स्वास्थ्यमा विकसित हुने विकारलाई मानसिक रोग पनि भनिन्छ । आजको यो अंकमा मानसिक रोग विशेषगरी एन्जाइटि र डिप्रेसनको बारेमा सक्दो जानकारी दिने प्रयास गर्नेछु ।
मानसिक रोग धेरै प्रकारको हुन्छ, त्यसैले यसलाई गु्रप अफ मेन्टल डिसअर्डर पनि भन्ने गरिन्छ । तपाईं यदि मानसिक रोगको शंका लगेर मनोरोग विशेषज्ञकोमा जानुभयो भने तपाईलाई सोधपुछ गरेर औषधि रेफर गरिन्छ । तपाईंले डाक्टरलाई सोध्नुभयो कि डाक्टर साप मलाई के भएको हो ? र, यदि तपाई मानसिक रोगको पहिलो चरण (अथवा सुरुको अवस्था)मा हुनुहुन्छ भने उहाँले सजिलो उत्तर दिनुहुन्छ– एन्जाइटि । बुज्नु भएन भने प्रायः भनिने कुरो हो तपाईंलाई चिन्ता लाग्ने रोग अथवा मनोरोग लागेको छ ।
अब बिरामीले आफूलाई डिप्रेसन भयो भन्ने बुज्छ र भ्रममा पर्छ । किनकि एन्जाइटि र डिप्रेसन फरक रोग हो, एकै खाले रोगमा वर्गीकरण गर्न मिल्दैन र उपचार पद्वतीमा पनि फरक हुन्छ । तर तपाईंले डाक्टरलाई सोध्नुभयो भने प्रायः उत्तर करिब–करिब उस्तै हो भन्ने जवाफ आउन सक्छ । किनकि दुवै रोगको कतिपय लक्षणहरू उस्तै हुन्छन् जसले गर्दा मानसिक रोगको प्रकार बुझ्नलाई जटिल बनाइदिन्छ । त्यसैले मनोरोग विशेषज्ञले सरल र सरस तरिकाबाट बिरामीलाई बुझाउन सजिलो नहुने र धेरै कुराहरू बिरामीलाई भन्दा बिरामीमा मनोवैज्ञानिक तनाव सृजना हुन सक्ने भएकोले तपाईंलाई चिन्ता लाग्ने रोग लागेको हो यो औषधि खानुहोस् राम्रो हुन्छ भनेर सजिलो तरिका अपनाएका पनि हुन सक्छन् ।
एन्जाइटि र डिप्रेसनमा के फरक छ ? कसरी थाहा पाउने ?
एन्जाइटि अंग्रेजी शब्द हो, यसको नेपाली अर्थ व्याकुलता अथवा व्यग्रता हो । एन्जाइटि धेरै प्रकारको हुन्छ । जस्तैः जेनेरल एन्जाइटिडिसअडर, सोसिएल (सामाजिक) एन्जाइटि डिसअडर, पेनिक (आतंक, त्रास, अत्यास, भय) डिसअडर, एगोरो–फोबिया (भीडभाडको डरलाग्ने), विशेष फोबिया ।
डिप्रेसन पनि अंग्रेजी शब्द हो यसको नेपाली अर्थ उदासी, ग्लानी अथवा शक्तिहीनता हो । यी दुवै मानसिक रोगका कतिपय लक्षण वा प्रकृति उस्तै हुन्छन् । एन्जाइटि डिसअर्डरले ग्रसित व्यक्तिहरुमा उपचार नगरे अथवा उपचार पद्वती ठीक भएन भने डिप्रेसन पनि विकसित हुन्छ र त्यसैगरी डिप्रेसनबाट पीडितहरूमा पनि उपचार नगरे कुनै प्रकारको एन्जाइटि विकसित हुन्छ । यसैले समस्या यहाँनिर हुन्छ कि मानसिक रोग लागेका व्यक्तिहरुमध्ये ५०५ लाई दुवै रोग (एन्जाइटि र डिप्रेसन) को उपचार गरिन्छ । यदि ठिक तरिकाले रोगको पहिचान गर्न सक्ने हो भने कुनै एक एन्जाइटि डिसअर्डर अथवा डिप्रेसिव डिसअर्डरको मात्र उपचार गर्दा यो अति प्रभावकारी हुन्छ । समयमा नै बिरामीको रोग निको हुन्छ र आर्थिक समस्याबाट पनि बिरामीलाई कम मार पर्छ ।
सबै प्रकारको एन्जाइटिको मुख्य लक्षणहरू
१. अत्यधिक चिन्ता
२. बिनाकारण छटपटी
३. काम नगर्दा पनि थकान र कष्ट हुने
४. ध्यान अथवा एकाग्रमा समस्या हुने (मन डुलीरहने)
५. रिसाहा अथवा क्रोधी स्वभाव विकसित हुने
६. सुत्नलाई बाधा हुने निन्द्रा नपर्ने
७. मांस्पेशी अथवा स्नायुमा तनाव हुने
८. बिना कुनै बाहिरी चोट मांस्पेशीमा पिडा हुने
विशेष प्रकारको एन्जाइटि र लक्षणहरू
१. जेनेरल एन्जाइटि डिसअडर– अत्यधिक चिन्ता लिने, बिनाकारण चिन्ता लिने, चिन्ता लिइसके पछि फेरि किन चिन्ता लिएको होला मैलेभनेर चिन्ताको पनि फेरि चिन्ता लिने ।
२. सोसिएल (सामाजिक) एन्जाइटि डिसअडर– सामाजिक काम गर्दा नराम्रो पो हुन्छ कि अरुले नराम्रो पो भन्छन् कि भनेर अत्तालिने, समाजमा बोल्न डराउने ।
३. पेनिक (आतंक, त्रास, अत्यास, भय) डिसअडर– यो सबैभन्दा धेरै दुःख दिने एन्जाइटिको प्रकार हो । यो डिसअडर भएको व्यक्तिलाई धेरै किसिमको समस्या हुन्छ । श्वासप्रश्वासमा समस्या हुन्छ, श्वास रोकिएको जस्तो हुन्छ र छटपटी बढेर म अब मरे भन्ने भ्रम हुन्छ तर यो कसैलाई १० देखि ३० मिनेटसम्म हुन्छ त कसैलाई १ घण्टासम्म हुन्छ र विस्तारै सामान्य हुन्छ । कसैलाई मुटुको धड्कन एक्कासी बढेर आउँछ र बिरामीले मलाई ह्रदयघात भयो भन्ने भ्रम हुन्छ । यदि समयमा अस्पताल नलगे बिरामीलाई अब म मरें, मेरो दिन यति नै रहेछ भन्ने भय, आतंक र त्रास हुन्छ । यस्ता बिरामीलाई अस्पतालमा चेक–जाँच गरेपछि मुटुमा कुनै समस्या नभएको चिकित्सकले बताए पनि बिरामीले फिटिक्कै विश्वास गर्दैनन् । तर यस्ता बिरामी अस्पताल पुगेपछि आफैँ सामान्य हुन्छन् ।
अब घर फर्किदा फेरि यिनीहरूलाई फेरि मलाई यस्तो हुन्छ कि भनेर त्रास, अत्यास, भय हुन्छ । राती सुत्ने बेलामा पनि सुत्न गारो हुन्छ । राती पो मर्छु कि भन्ने भय उत्तिकै हुन्छ । कसैलाई शरिरमा खलखली पसिना आउँछ, अनि उ निकै डराएको र तर्सेको अवस्थामा हुन्छ । कोहि बिरामीलाई टाउको घुमेको र आँखा मिरमिर गरेर कुनै वस्तु नै नदेखेको अनि मुर्छा परेजस्तो हुन्छ । तर पेनिक आक्रमण केहि समय (१० मिनेटदेखि १ घण्टा) सम्म रहन्छ र विस्तारै बिरामी सामान्य हुन्छ तर फेरि यस्तो आक्रमण पछिपछि दोहोरिन्छ । विशेष गरि बिरामीलाई मर्छु कि भन्ने अत्यधिक चिन्ता हुन्छ ।
४. एगोरो–फोबिया (भीडभाडको डर लाग्ने)– यो समस्या भएको व्यक्तिलाई भीड, सपिङ मल, खेलकुद मैदान आदिमा मलाई पेनिक आक्रमण हुन्छ । कि मलाई पेनिक आक्रमण भयो भने यहाँबाट कसरी निस्कनु ? मलाई अरुले अस्पताल लैजादैनन् कि भन्ने त्रास विकसित हुन्छ । यसैले यस्ता बिरामीले सपिङ, खेलकुद अथवा रमाईलोको कुनै मज्जा लिन सकिरहेको हुँदैनन् । कसैको सहयोग नपाई मर्छु कि भन्ने चिन्ता हुन्छ ।




