शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी र प्रचण्डको धर्तीमोह

गण्डकी र प्रचण्डको धर्तीमोह

नेता जन्माउने गण्डकी – ढोरपाटन दैनिकको १८ औं बार्षिकोत्सव विशेष सामग्री


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७७, बुधबार

२०७५ सालको वैशाखमा कास्कीको ढिकुरपोखरी आएर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने– ‘यहाँ आएपछि बचपनका यादहरू सबै ताजा भएर आउँछन् । यहाँको माटो र यहाँका जनतासँग भावुकता र आत्मीयता छ, त्यसैले एक टुक्रा जमिन मेरो छ भन्ने बनाउनका लागि जग्गा किन्ने सोच बनाएको हुँ ।’
घोषणा, चितवनको गर्मी छल्न मात्रै हो कि साह्रै असुरक्षित लाग्ने निर्वाचन क्षेत्र परिवर्तन गर्ने सुरु हो भन्ने अड्कलबाजी पनि भए । प्रचण्डको अभिव्यक्ति व्यवहारमा कार्यान्वनय भए÷नभएको सार्वजनिक भएको छैन । प्रचण्डले चाहेमा ढिकुरपोखरीको लेवाडेमा प्रचण्डलाई जग्गा नदिने कोही छैन ।
जेहोस्, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुप्रिमो प्रचण्डले जन्मथलो आउँदा दिएको अभिव्यक्तिले कास्केलीहरू हर्षित भए । ठूला नेता आउजाउ गरिरहने, तर ठूला नेताको छत्र–छाया नपाउने पोखरा र सिङ्गो गण्डकीको दुर्भाग्य (?) को अन्त्य हुने अनुमान गरे ।
चितवनको नारायणी विद्यामन्दिरमा पढ्दै गर्दा छविलाल पुष्पकमलमा बदलिए । समकालीन नेपाली राजनीतिका शिखर व्यक्तित्व प्रचण्ड छविलालका रूपमा कास्कीको लेवाडेमै जन्मेका हुन् । पुष्पकमल दाहालले आफूलाई किन ‘प्रचण्ड’मा रूपान्तरित गरे होलान् ? प्रश्नको उत्तर खोज्नु छैन । तर, २०११ साल मंसिर ११ गते कास्कीको लेवाडेमा जन्मेका छविलाल पिताको हात समाउँदै चितवन नझरेको भए, सानो छँदै दिमागमा विद्रोहको चेतना नचढेको भए र छिमेकी देशका नेताको नाममा २०५२ सालमा सशस्त्र क्रान्तिको विगुल नफुकेको भए सायदै यो देशमा अहिले स्थापित राजनीनिक परिवर्तन सम्भव हुन्थ्यो !
विगत जीवनमा उनी कल्याण, विश्वास, निर्माण र प्रचण्डको नामबाट चिनिए र कालान्तरमा ‘प्रचण्ड’ ब्रान्डमा रूपान्तरण भए । २०२८ सालदेखि सुरु भएको वामपन्थी राजनीतिक यात्राको क्रममा उनी नेकपा (मशाल), नेकपा (एकताकेन्द्र) र नेकपा (माओवादी)सम्मको नेतृत्वमा पुगे । २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे ।
सशस्त्र क्रान्तिकै बीचमा २०५७ सालमा नेकपा माओवादीको अध्यक्ष बने । आफ्नै विचारसहितको ‘प्रचण्डपथ’को रथ हाँके । आफ्नो निर्देशनमा ज्यान आहुति दिने ‘जनसेना’का सर्वोच्च कमान्डर प्रचण्ड नेतृत्वको क्रान्तिले देशमा परिवर्तन सम्भव भयो । २०६३ साल असार २ गते बालुवाटारमा सार्वजनिक हुँदै भूमिगत जीवन त्यागेका प्रचण्ड २०६५ साल साउनमा गणतन्त्र नेपालका पहिलो तथा देशको ३९औँ प्रधानमन्त्री बने ।
यी पंक्ति लेखिरहँदा, २०७४ जेठमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एक अध्यक्ष बने । अर्का अध्यक्ष केपी शर्मा ओलीको पेलाईमा परेका प्रचण्डले अहिले लिने निर्णयले नै नेकपाको भविष्य निर्धारण गर्छ ।
सात दलहरूबीचको १२ बुँदे समझदारी र बृहत् शान्ति सम्झौताका हस्ताक्षरकर्ताका रूपमा आफूलाई स्वर्गीय गिरिजाप्रसाद कोइरालाको समकक्षमा राख्न खोज्ने प्रचण्डसँग धेरै विकल्प छन् । तर, उनी निर्णयमा पुगिहालेका छैनन् । लाखौँ शुभेच्छुक र हजारौँ योद्धाहरूको नेता रहिसकेका प्रचण्ड अहिले राजनीतिक जीवनको मझधारमा छन् । महत्वाकांक्षाको पूर्णविराम प्रचण्डलाई स्वीकार्य छैन । बृहत् नेपाली शब्दकोषले छविलाल, पुष्पकमल अनि प्रचण्ड शब्दको ठेट र लाक्षणिक अर्थ फरक–फरक बताउँछ ।
ती सबै शब्दका अर्थअनुसारको व्यवहारमा पनि प्रचण्ड खप्पिस मानिन्छन् । आलोचकहरू हाँस्दाहाँस्दै रुने र रुँदारुँदै हास्ने बानी परेका प्रचण्डलाई लहड वा आवेगमा निर्णय गर्ने पात्रको रूपमा पनि अथ्र्याउँछन् । आफ्ना राजनीतिक गुरु मोहन वैद्य, सहकर्मी बाबुराम भट्टराई तथा पछिल्लो क्रममा अभिभावक मान्ने गिरिजाबाबुलाई पर पु¥याएको दृष्टान्त पेस गर्छन् ।
यद्यपि, प्रचण्डको चतुरता र व्यवस्थापकीय क्षमता उनका विशेषता हुन् । संकटका वेला यिनै गुणले उनले डुब्न लागेको नाउ बचाएका छन् । उनका पूर्वसहकर्मी बाबुराम भट्टराई स्वयं प्रचण्डको चातुर्य र व्यवस्थापकीय क्षमताको मुक्तकण्ठले प्रशंसा गर्छन् । गोपाल किराँतीले भनेजस्तो उनीमा सरलता पनि उत्तिकै छ । तर, राजनीतिमा सरलता र कूटिलता मात्रै सबै कुरा होइनन् । जनयुद्धजस्तो शक्ति केन्द्रीकृत नभएको खुला राजनीतिमा प्रमाणित गर्नु आफैँमा चुनौतीपूर्ण हुन्छ ।
पहिलो संविधानसभा चुनावको सफलता र दोस्रोमा भोगेको लज्जास्पद हारबाट प्रचण्डले सिकेकै होलान् ! प्राध्यापक कृष्ण हाछेथुको भनाइ सम्झने हो भने पनि प्रचण्ड ‘म्यान अफ दि सेकिङ दि पावर’ हुन् । शक्ति आर्जन गर्ने मोहकै कारण मतभेदबीच तत्कालीन एमालेसँग पार्टी एकीकरण भएको पनि हो । तर, शक्ति आर्जन दूरदर्शीता, कार्ययोजना र कार्यान्वयनबाट सम्भव हुन्छ । पावरको पछि दगुर्दा यी तीनवटै विषय पछाडि धकेलिन सक्छन् । प्रचण्डको जीवनमा चाहिँ त्यो नहोस् ।
सिंगो परिवारलाई क्रान्तिमा होमेका, परिवारका सदस्य गुमाउँदाको पीडा भोगेका अनि टाउकाको मूल्य तोकिँदा पनि नडगेर सिंहदरबारसम्मको सफल यात्रा गरेका प्रचण्ड राजनीतिको मियो बने भने र कालान्तरमा कास्कीबाटै राजनीति सुरु गरे भने गण्डकीबासीका लागि गर्वकै विषय हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->