शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विद्रोह ब्रान्ड : बाहुन जातिको हलो क्रान्ति

विद्रोह ब्रान्ड : बाहुन जातिको हलो क्रान्ति

बिहे भएका छोरीहरू माइत आउन पाएनन्, बिहे गर्ने उमेर भएकाहरूको बिहे ट-यो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७७, मंगलबार

सांकेतिक विद्रोहको शक्ति र सन्देश कति व्यापक हुन्छ ? त्यसले सत्ताधारीलाई कसरी झस्काउँछ अनि सत्ताधारी विद्रोहको विरुद्ध कति निर्मम हुन्छ ? यी प्रश्नहरूको उत्तर खोज्न करिब ७६ वर्ष अगाडि फर्कौं न !
२००६ सालको साउन ११ गते । लमजुङ दुराडाँडाको अर्चल्यानी बाटेगरामा २७ जना बाहुनहरूले पहिलोपटक अनौ समाते । बाहुनले हलो जोत्न नमिल्ने वेला ! तत्कालीन सत्ताप्रति विरोध जनाउन स्थानीय पण्डित तोयानाथ अधिकारीको अगुवाइमा युवाहरूले अनौ समातेका के थिए ! सत्ताधारीको ओठतालु सुक्यो । हलो जोत्नुलाई राज्यविरोधी अपराध मानियो ।
हल्ला व्यापक भएपछि अर्को वर्ष त्यही दिन पण्डित तोयानाथ, शेषकान्त र श्रीकान्त अधिकारी पक्राउ परे । उनीहरूलाई पोखरासम्म ल्याइयो । २४ घन्टा थुनियो । वेदमा ‘बाहुनले हलो जोत्न हुन्न भन्ने नलेखेको’ दलिल पेस गर्दै अनशन बसेपछि उनीहरू मुक्त त भए, तर सामाजिक रूपले बहिष्करणमा पारियो ।
क्रान्तिमा संलग्न श्रीकान्त अधिकारीद्वारा लिखित ‘हलोक्रान्तिका जनक पण्डित तोयानाथ अधिकारी’मा भनिएको छ– ‘रातारात लमजुङको परेवाडाँडा, कुन्छा, भोर्लेटार हुँदै १ दिन १ रातको हिँडाइपछि बिहान ४ बजे पोखरा गोश्वरामा पु¥याए, ठाडो बयान लिएर बडाहाकिमले जेल पठाए । बिनापुर्जी जेल पठाएकाले जेलमै उनीहरू अनशन बसेका थिए । ४८ घन्टाको अनशनपछि जेलबाट निकालिए र खान पाए । सामाजिक चेत भएका तोयानाथ, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेलसहितका २७ जनालाई अरू बाहुनले नै गिज्याउन थाले । उनीहरूको जात खस्यो । बिहे भएका छोरीहरू माइत आउन पाएनन्, बिहे गर्ने उमेर भएकाहरूको बिहे ट¥यो । गाउँतिर ‘शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित, हलो जोती बिग्रे’ भन्ने गीत घन्कन थाल्यो ।
सत्ताप्रतिको असन्तुष्टि पोख्न स्थानीय ब्राह्मणहरूले चालेको कदम अहिले हेर्दा सामान्य लागे पनि त्योबेलाका लागि सामान्य थिएन । मोहनशमशेर सत्ता बचाउन तल्लोभन्दा तल्लो ठाउँमा गिर्न तयार थिए । जातीय विभेदका अवशेषहरू अझै बाँकी रहेका बेला गरिएको क्रान्ति आफैँमा विद्रोहको परिस्कृत र उच्चतम स्वरूप भएको वरिष्ठ अधिवक्ता तथा पत्रकार भूपनिधि पन्तको धारणा छ ।
विद्रोहको राँको दमनले रोकिँदैन । रोकिएन पनि । हलो जोत्ने उपक्रम २००६ सालको पुसमा तनहुँ, फागुनमा कास्की र धादिङ हुँदै देशका विभिन्न भागमा फैलियो । राणा शासनविरुद्धको अभियन्ताहरू अहिले ज्युँदा छैनन् ।
पण्डित तोयानाथले २०२२ सालमा, सबैभन्दा कान्छा मायानाथ पौडेलले २०७३ जेठ २८ तथा २०७१ पुस ३० गते विष्णुप्रसाद अधिकारीले धर्ती छाडिसकेका छन् । तर, क्रान्तिको त्यो शालीन स्वरूपबारेको चर्चा अझै बिलाएको छैन । श्रमको सम्मान अनि श्रमबाटै सत्ताप्रतिको असन्तुष्टि व्यक्त गर्ने यो शैलीको स्मरण हलोक्रान्ति दिवसमार्फत गरिँदै आइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->