फाईल फोटो
तनहुँ, १८ भदौ– काठमाडौँंमा उपचार गराईरहेकी तनहुँकी एक जना बृद्धाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । म्याग्दे गाउँपालिका–१ स्थायी घर भएकी ९२ बर्षिया बृद्धाको काठमाडौँस्थित शसस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो । बुधबार मृत्यु भएकी उनलाई दम, मुटु तथा मृगौलाको समस्या थियो । ती बृद्धाको उपचारको क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । योसंगै तनहुँका ३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
गत मंगलबार पनि व्यास नगरपालिका –२ दमौलीकी २० बर्षिया किशोरीको काठमाडौँ महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार हुदैँ गर्दा मृत्यु भएको थियो । ती किशोरीले मृगौलाको डायलासिस गराउदै आएकी थिईन् ।
भदौ २ मा पनि पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा तनहुँको व्यास नगरपालिका– १ की ५० वर्षीया महिलाको कोरोना संक्रमण कारण मृत्यु भएको थियो । हालसम्म गण्डकी प्रदेशमा कोरोनाको कारण १६ जनाको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्की, गोरखा र तनहुँका ३/३ जना, स्याङजा र लमजुङ २/२ जना, नवलपुर, म्याग्दी र बागलुङका १/१ जना संक्रमितको मृत्यु भएको हो ।





