पोखरा, २९ भदौ– कोभिड–१९ संक्रमित गण्डकीकी अर्की एक महिलाको ज्यान गएको पुष्टि भएको छ । नवलपरासीको गैंडाकोट नगरपालिका–९ की ६० वर्षीया महिलाको भरतपुर मेडिकल कजेलमा भएको मृत्युको कारक कोरोना प्रमाणित भएपछि गण्डकीमा संक्रमणबाट मृत्यु हुनेको संख्या पनि २९ पुगेको छ । उनको भदौ २८ गते नै निधन भएको र गण्डकीले ढिलो गरि मृत्युको जानकारी बाहिर ल्याएको हो । यसअघि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार बिहान दिएको जानकारी अनुसार भदौ २६ गते नै नवलपरासी जिल्लाको मध्यविन्दु–१२,का ६० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको थियो । निमोनिया र स्वासप्रश्वाससम्बन्धि समस्या पनि भएकोले उनको सो अस्पतालमा उपचार भइरहेको थियो ।
यसैबीच गण्डकीको कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपालिमा ३ जना, नवलपरासीमा ४ जना र तनहुँमा एकजनामा संक्रमण पुष्टि भएको छ । संक्रमितसँगको सम्पर्कका कारण उनीहरुमा कोरोना सरेको हो । पछिल्लो पटक ८ जनामा संक्रमण देखिँदा सोमबार मात्रै गण्डकीमा २७ जना नयाँ संक्रमित थपिएका छन् । सोमबार बिहान सार्वजनिक गरिएको सूचनामा बागलुङ बडिगाडका २ जना विदेशबाट आएर क्वारेण्टिनमा बसेकाहरु रहेका छन् भने कास्कीमा १७ जनामा संक्रमण देखिएको थियो । पोखरा महानगरपालिकाको वडा नम्बर ४ र १७ मा बस्ने ७ नेपाल प्रहरीमा कार्यरत ७ जना पनि संक्रमित भएका थिए । जिल्ला प्रहरी कार्यालयसमेत रहेको वडा नम्बर ४ का ५ जना प्रहरीमा पनि संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको थियो । पोखरा–२३ मा १ जना, १४ मा ३ जना महिलासहित ६ जना र वडा नम्बर ७ र ८ मा १÷१ जनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जारी गरेको सूचनामा जनाइएको थियो । पोखरा–८ की २१ वर्षीया युवती स्वास्थ्यकर्मी हुन् । उनी पोखरा महानगपालिकाअन्तर्गतको स्वास्थ्य सेवा विभागमा कार्यरत छन् । अन्य संक्रमितहरु केही विदेशबाट आएका र बाँकी कन्ट्याक्ट टे«सिङमा परेका हुन् । गण्डकीमा हालसम्म ३ हजार २० जनामा संक्रमण पुष्टि भइसकेको छ ।





