बागलुङ, २ असोज– गण्डकी प्रदेशमा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्ती अनुसार नवलपरासी (बर्दघाट सुस्तापुर्व) २६ जना, तनहुँका २ र कास्कीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३३ सय २१ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा थप ३० जनामा कोरोना देखिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती–२ का ३९ र २० वर्षीय, कावासोती–३ का ४१ वर्षीय गरि ३ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका, तनहुँ र कास्की जिल्लाका सबै संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको पे क्लिनिकमा परिक्षणका लागि आएका हुन् भने अन्य सबै कन्ट्रयाक टे«सिङबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।




