तनहुँ, ६ असोज– तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका ७२ बर्षीय किसान वामदेव खनालले घाँसको बेर्ना बिक्रीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । यो बर्षको असार र साउनको महिनामा मात्र २० लाख रुपैयाँ घाँसको बेर्ना बिक्री गरेको उनले बताए ।
घाँसीको प्रेरणाले प्रख्याती कमाएका आदीकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँका आधुनिक घाँसी खनालले २३ बर्षदेखी घाँस खेती गर्दै आएका छन् । पशुचौपायलाई खुवाउने घाँसलाई पैसासँग साटिरहेका दामसँगै नाम कमाउन सफल भएको बताए ।
५ बर्षपछि घाँस विक्रबाट यो वर्ष धेरै कमाई भएको उनले जानकारी दिए । ‘भूकम्प गएको बर्ष ७२ सालमा २२ लाख रुपैयाँ कमाएको थिएँ । त्यसपछि यसपाली राम्रो कमाई भयो’, उनले भने उनको घाँसे यात्रा कहिले लाखमा चढ्छ । कहिले हजारमा झर्छ । यो वर्ष राम्रो कमाई गरे उनले । ‘कोरोनाले गर्दा गाउँ फर्किएर बाख्रा पाल्न धेरैले सुरु गरेका छन् । त्यसैले धेरै घाँसका बेर्ना बिक्री भएको हो ।’ २५ पैसादेखि ३० रुपैयाँसम्ममा बेर्ना बिक्री हुने गर्दछ ।
घाँसखेती उनको आम्दानीको मुख्य स्रोत बनेको छ । खनालले अहिले घाँसको साम्राज्य नै बनाएका छन् । एक सय रोपनी क्षेत्रफलमा घाँस लगाएको बताए । ६० रोपनी आफ्नै र ४० रोपनी जग्गा भाँडामा लिएर घाँस लगाएको उल्लेख गरे । खनालले बडहर, राइखनियो, टाँकी, कोइरालो, बकाइनो , पाखुरी, चिउरी लगायतको डाले घाँस तथा सुपर नेपियर, सियोफोर, सम्बा सेटारिया, पास पालम, मुलाटो र बलामे लगायत भुई घाँसका बेर्ना विक्री गर्दै आएका छन् ।
परम्परागत तरिकाले निर्वाहमुखी भैंसी पालन गर्ने साधारण किसान खनाललाई २३ बर्ष अगाडीसम्म दैनिक परिवारको गुजारा चलाउन धौं धौ थियो । भैसी पाल्न कृषि विकास वैंकबाट लिएको क्रृण तिर्न नसक्दा धितोमा राखेको जग्गा लिलाम भएको तितो अनुभव पनि छ ,उनीसँग । तर, असफलताबाट हार नखाई निरन्तर माटोमा पशिना भिजाएका खनालले घाँसकै बेर्ना बेचेर लिलामीमा गएको जग्गा फिर्ता गरेका छन् । घाँसकै कमाईले थप जग्गा समेत किनेर आफ्नो कर्मको क्षेत्र झनै फराकिलो बनाएको उनले बताए । ‘आफैँले ८० हजार रुपैयाँमा बेचेको जग्गा पछि १५ लाखमा किने’ खनालले भने ।
उनको नर्सरीमा उत्पादन गरिएको धाँस बेर्ना देशैभर फैलिएको छ । यो बर्ष तनहुँका विभिन्न स्थानसंगै छिमेकी जिल्ला कास्की, लमजुङ, गोरखा, स्याङजा, चितवन, पर्वत, म्याग्दीलगायतका जिल्लाका किसानले लए । गएका बर्षमा अछाम, डडेलधुरा, धनकुटा, इलाम, धरान, पाँचथर, झापा, दैलेख, डोटी, सुर्खेत, कञ्चनपुरलगायतका जिल्लाका किसानले पनि यहाँ उत्पादन भएका घाँसका बेर्ना लैजाने गरेकोमा यसपाली लकडाउनको कारण आउन पाएनन् ।
सेतै फुलेका कपाल र दारीजुँगा । चाउरिएको छ गाला । कुप्रिएको ढाड । उमेरले ७२ बर्ष टेकेपनि बुढ्यौलीले छोएजस्तो देखिँदैन्, उनलाई । लक्का जवान जस्तै जोशिला । त्यही जोशजाँगरले उनलाई सफल किसान बनाएको छ ।
२०५४ साल जेठमा पशु विकास कार्यालयले सिफारिस गरेपछि खनाललाई पोखरामा सात दिने घाँस खेती सम्बन्धि तालिम लिने मौका मिलेछ । ‘तालिमबाट फर्कदा घरमा पालेको गाईलाई खुवाउनलाई रोप्न नेपियर बेर्ना ल्याएको थिए । त्यसलाई रोपेको राम्रो भयो । अर्को बर्ष नेपियरको बेर्ना बेचेर राम्रै कमाई भएपछि पैसा त यता पो रैछ भने आकर्षित भएको भएँ’, उनले बताए ।
मुलुकभर आधुनिकको घाँसीको छवि बनाएको खनालले हजारको लगानीमा सुरु गरेको घाँस खेतीले लखपती बनाएपछि सन्तुष्ट छन् । ‘पहिला भैँसी पाल्दा घाटा भएर लिलामी भएको जग्गा घाँस खेती गरेपछि फर्काएँ । घाँस बोक्ने गाडी किनेको छु । देशभर सबैले चिन्छन् । यो पनि मैले कमाएको सम्पत्ती हो’, उनले भने । वामदेव आफुलाई देशैभरका किसानले चिने सरकारले भने चिन्न नसकेको बताउँछन् । ‘अरु बेला चिनेपनि अनुदान दिने बेलामा चिन्दैन्न’, उनी भन्छन्, ‘अनुदान दिईहाले दिए भन्ने पार्ने गरी दिन्छन् ।’ खनालले राष्ट्रियस्तरको उत्कृष्ट किसानको पुरस्कार समेत प्राप्त गरेका छन् ।
वमादेवले बनाएका घाँसको साम्राज्यमा माईला र कान्छा छोरी बुहारीको सम्हालन साथ दिएका छन् । जेठा छोराको परिवारले आफ्नै व्यापार गरेका छन् । बामदेव जस्तै दुई छोरा पनि सन्तृष्ट छन् । समृद्धिका लागि कृषीमा प्रशस्त सम्भावना देखेपछि अहिले खनाल परिवार घाँस खेतीसंगै पशुपालनमा लागेको कान्छो छोरो बिनोदले बताए ।
कामधेनु गौ फार्म दर्ता गरी उन्नत जातका डेढ दर्जन बढी गाई भैंसी पालेका छन् । यी गाईभैसींको मलले सय रोपनी जग्गामा पोसिला घाँस मल्किएका छन् । मललाई पाईपलाइनबाट सिधैं घाँसबारीमा पुग्ने व्यवस्था मिलाईएकाले गोठ पनि सफा देखिन्छ । दैनिक एक सय ५० लिटर दुध आफैले दमौली बजारका ग्राहकसम्म दुध पु¥याउने भएकाले मनग्य आम्दानी भइरहेको उनले जानकारी दिए ।





