स्याङ्जा, ८ असोज– वालिङ नगरपालिका १४ का स्थानीय बासिन्दाले वडा विभाजनको माग गरेका छन् । स्थानीयले वडा विभाजनको माग गर्दै १ हजार ६ जनाको हस्ताक्षर नगरप्रमुख दिलीप प्रताप खाँणलाई बुझाएका छन् ।
अन्य वडाभन्दा ठुलो र भौगोलिक बनावट नमिल्दा आफुहरुलाई समस्या परेको भन्दै विभाजनको मागसहित स्थानीयले नगरप्रमुखलाई हस्ताक्षर बुझाएका हुन् ।
साविक वालिङ नगरपालिकाको वडा नं. १०, साविक थुमपोखरा गाविसको ५ वटा वडाहरु, कालिकाकोट गाविसको ३ वटा वडाहरुलाई मिलाएर वडा नं. १४ कायम गरिएको र सो वडा भौगोलिक रुपले ज्यादै ठूलो भएकाले विकास निर्माणको कामलगायत सरकारी सेवा सुविधामा जनताको पहुँच पुग्न कठिनाई भएकाले वडा विभाजन गरी छुट्टै वडा कायम गर्न माग गरिएको वडा विभाजन संयोजन समितिका संयोजक कोपिल खाँणले बताए ।
साविकको वालिङ १०, थुमपोखरा ९ र कालिकाकोट २ को भौगोलिक क्षेत्रलाई समावेश गरी छुट्टै वडा कायम गर्न स्थानीयले माग गरेका छन् । भौगोलिक रुपमा ठूलो र अपायक भएकाले वडा विभाजन गर्नुपर्ने वडा अध्यक्ष झम्मर बहादुर श्रेष्ठले बताए ।
सम्बन्धित क्षेत्रका स्थानीयले विभिन्न समस्यासहित नगरपालिकामा वडा विभाजनको माग गर्नुभएकाले प्रक्रिया अगाडी बढाउने नगरप्रमुख खाँणले बताए । यसबारे अब नगरपालिकाले सम्बन्धित क्षेत्रमै पुगेर बैठक बसाल्ने र बहुमत नागरिकको धारणा जे आउँछ त्यही निर्णय नगरसभामा पेश गर्ने र नगरबाट पारित गरिने खाँणको भनाई छ । नगरले पारित गरेको निर्णयलाई गण्डकी प्रदेश सभाबाट पारित भएमा केन्द्रमा जाने र केन्द्रले पारित गरेमात्रै वडा विभाजन हुने खाँणले बताए ।





