तनहुँ, १८ असोज– दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेटलाई कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार आईतबार दमौली अस्पताका ३५ बर्षीय मेसुलाई संक्रमणको पुष्टी भएको हो । मेसुसंगै ४६ बर्षीया सरसफाई कर्मचारीलाई कोरोना पुष्टी भएको छ । ५ जनाको स्वाब संकलन गरी शनिबार पिसीआर परिक्षण गर्न पठाईएकोमा ३ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका कर्मचारीलाई कोरोना देखिएपनि अस्पतालको सेवा भने सञ्चालनमै रहने छ ।
भेटेरिनरी अस्पतालका प्रमुखलाई पनि कोरोना
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुखलाई कोरोना पुष्टी भएको छ । उनले शनिबार पोखरा पुगेर पिसीआर परिक्षणका लागी स्वाब दिएका थिए । आईतबार साँझ स्वास्थ्य निर्देशनालयले तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई जनामा संक्रमणको पुष्टी भएको विवरण सार्वजनिक गरेको थियो । संक्रमित शुक्लागण्डकी –६ का ३५ बर्षीय भेटेरिनरी अस्पताल तनहुँका प्रमुख र शुक्लागण्डकी–४ का १८ बर्षिय पुरुष रहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तले जानकारी दिए । उनका अनुसार संक्रमित १८ बर्षीय पुरुष फेवासिटी हस्पिटल पोखरामा उपचारत रहेका छन् ।
जिपीको सेवा सुचारु
जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा कार्यरत थप ५ जनालाई कोरोना संक्रमणको पुष्टी भएपनि सेवा सञ्चालनमा आएको छ । अस्पतालमा कार्यरत २५ बर्षीया ल्याब टेक्निसियनलाई बुधबार कोरोना पुष्टी भएपछि विहीबारदेखी अस्पताल शिल गरिएको थियो । आईतबार साँझ ६ बजेदेखी नियमित सेवा सञ्चालनमा आएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले बताए । ‘दुई पटकसम्म अस्पताललाई सेनिटाइज गरी सेवा सुचारु गरेका छौ । सर्तकता अपनाएर सर्वसाधरणलाई स्वास्थ्य सेवा दिनेछौँ’, उनले भने ।
संक्रमित ल्याब टेक्निसियनको सम्पर्कमा रहेका अस्पतालमा कार्यरत २६, २४, २७ वर्षीया महिला र २८ र ४७ वर्षीय पुरुषलाई आईतबार संक्रमणको पुष्टी भएको छ । शुक्रबार स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा पठाईएकोमा चिकित्सक, अनमि, सुरक्षागार्ड, लेखा र प्रशासन शाखाका कर्मचारीमा संक्रमण देखिएको हो । अस्पतालमा कार्यरत ४२ जना सहित कन्ट्याक ट्रेसिङमा ५० जनाको पिसीआर परिक्षणका लागी स्वाब पठाईएको थियो । ४५ जनाको रिपोर्ट नेगेटिभ आएको श्रेष्ठले जानकारी दिए । संक्रमित ५ जनालाई अस्पतालमै रहेको आईसोलेसनमा राखिएको छ ।
अस्पतालको दोस्रो र तेस्रो तलामा ५० शैय्याको आईसोलेसन कक्ष सञ्चालनमा छ । आईतबार संक्रमण पुष्टी भएका अस्पतालका ५ जना कर्मचारीसहित आईसोलेसनमा ३० जना संक्रमित उपचाररत छन् ।
जिल्लाका १० वटा स्थानिय तहको साझेदारी अस्पताल परिसरमै ५० शैय्या क्षमताको आईसोलेसन कक्षा सञ्चालानका लागी नयाँ भवन बन्दैछ ।
तनहुँमा थपिए २७ जना
आईतबार तनहुँमा २७ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा १८ जना, चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा ८ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परिक्षणमा १ जनालाई संक्रमणको पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । सबैभन्दा धेरै व्यास नगरपालिकामा १४ जना संक्रमित थपिए । शुक्लागण्डकी नगरपालिकामा ७ जना, देवघाट गाउँपालिकामा ३ जना, बन्दीपुर गाउँपालिकामा २ जना र आँबुखैरेनी गाउँपालिकामा १ जना संक्रमित थपिएका हुन् ।





