बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मौसमी रुघाखोकी र कोरोना

मौसमी रुघाखोकी र कोरोना


  • कृष्ण कुमार सैजु
  • असोज ३० २०७७, शुक्रबार

कोरोना भाइरस (कोभिड–१९)को महामारीले मानिसहरुको अवस्था एकदम नाजुक बन्दै गएको छ । विश्वका प्रायः सबै देशहरूको सामाजिक अवस्था खल्बल्लिएको छ र आर्थिक अवस्था तेल बिनाको दियोजस्तै भईसकेको छ । नेपालमा पनि यसको असर अत्यन्तै तीव्र गतिमा बढिरहेको छ । कोरोना भाइरसको आतंकसंगै अब विस्तारै जाडो बढिरहेको छ । जाडोको सुरूवात र नेपालीहरूको कोरोनाप्रतिको लार्पबाहीले गर्दा कतै कोरोना भाईरसको आतंक थामी नसक्नु त हुने होईन ? एकातिर दिन प्रतिदिन तीव्र गतिमा कोरोना संक्रमित बढिरहेको छ । अहिले नेपालीहरूको महान चाड दशैँ नजिकै आइसकेकाले गर्दा मान्छेको चहलपहल बढ्दो छ । सामान्य मापदण्डसम्म पालना नगरी खुल्लमखुल्ला भेटघाट, किनमेल तथा आउजाउ भइरहेको छ । अर्कोतिर व्यक्तिनै पिच्छे कोरोनाप्रतिको फरक धारणा र अलग मतका कारण सर्वसाधारण अन्यौलमा परिरहेका छन् । बडा दशैँमा घर फर्किदा वा आफन्तकोमा जाँदा कतै तपाँइले कोरोना त आदानप्रदान गर्नुहुंदैन ? यस्तो अवस्थामा सम्पुर्ण व्यक्तिहरूलाई म के भन्न चाहान्छु भने यदी आफ्नो र आफन्तको भलो र कोरोना फैलावट रोक्न सहयोग गर्न चाहनुहुन्छ भने यसपालीको दशैँ जहाँ हुनुहुन्छ त्यहीं मनाउनुस् ।
गर्मी मौसम सकिएर विस्तारै जाडो मौसम शुरु हुँदैछ । मौसम परिवर्तनको समयमा धेरैलाई रुघाखोकी र ज्वरोले सताउने गर्छ । जसलाई चिकित्सकहरुले सिजनल एन्फ्लुएन्जा अर्थात् मौसमी रुघाखोकीसमेत भन्छन् । मौसम परिवर्तनका समयमा मानिसहरुमा सिजनल एन्फ्लुएन्जाको समस्या देखिन सक्छ । यस्तो अवस्थामा तपाईले आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने हुन्छ ।
जाडो याम हल्का सुरू हुनेबित्तिकै सामान्य रुपमा देखा पर्ने मौसमी रुघाखोकी र ज्वरोका कारण मानिसहरु कोरोना संक्रमण भयो कि ? भन्ने आशंकामा मानसिक रुपमा चिन्तित बन्ने र मनासिक तनावले सताईरहेको अवस्था छ । यस्तोमा हामीले नआत्तिई यसलाई सामान्य रुपमा निको पार्न सकिन्छ ।
नेपालमा वर्षमा दुईपटक गर्मी याम सकिएपछि जाडो याम सुरू हुने समयमा र जाडो याम सकिएपछि गर्मी याम सुरू हुने बेलामा भाइरसका कारण हुने बिमारी बढ्ने गरेका छन् । रूघाखोकीलगायत भाइरस र ब्याक्टेरियाका कारण हुने संक्रमणका बिरामीहरू ठूलो मात्रामा अस्पताल पुग्ने गर्दछन् ।
मौसम परिवर्तनको समयमा रुघाखोकी र ज्वरोको समस्या देखिन्छ । मौसमी ज्वरोलाई मेडिकल भाषामा ‘हे फिभर’ र ‘एलर्जिकरिनाइटिस’ पनि भनिन्छ । यो मौसमी एलर्जीका कारण देखिन्छ । रुघाखोकी, हाछ्युँ आइरहने, आँखाबाट आँसु आइरहने, पिनास र घाँटी दुख्ने यसका लक्षण हुन् । गर्मी याममा धुँवा, धूलो, घरपालुवा जनावरको फोहोर र प्रदूषणका कारण शरीरमा एलर्जी हुन्छ । र, त्यहीं एलर्जीले प्रतिरक्षा प्रणालीमा असर गर्दा घाँटी खसखस हुने, खोकी लाग्ने हुन्छ ।
घरबाहिर हिँडिरहनुपर्ने व्यक्तिमा मौसमी ज्वरोको सम्भावना बढी हुन्छ । विगत ७ महिनादेखि महामारीको रूप लिएको कोरोना भाइरस संक्रमण र मौसमी ज्वरोका लक्षण मिल्दाजुल्दा छन् । तर, मौसमी ज्वरो देखिँदैमा भाइरस संक्रमण शंका गरिहाल्नु पर्दैन । ज्वरो आएमा, खोकी लागेमा नआत्तिई स्वास्थ्य परीक्षण गराउन आग्रह गर्दछु ।
मौसमी ज्वरोबाट १० देखि ३० प्रतिशत वयस्क र करिब ४० प्रतिशत बालिबालिका प्रभावित हुन्छन् । ज्वरोका लक्षण बाहिरी वातावरण अनुसार फरक फरक हुन्छन् । जस्तो– सुक्खा मौसममा बढी र वर्षातमा सामान्य लक्षण देखिन्छन् । शरीरमा देखिने एलर्जीले प्रतिरोधी क्षमतामा असर गर्छ । मौसमी ज्वरो जटिल हुँदै गएमा प्रतिरोधी क्षमता अझ कमजोर हुने भएकाले तत्काल उपचारको आवस्यक पर्छ । दम, एलर्जीजस्ता समस्याका कारण ज्वरो आउँछ । प्रदूषणयुक्त वातावरणमा बसेर काम गर्दा ‘एलर्जिक रिनाइटिस’ हुन्छ । कुकुर, बिरालोलगायत घरपालुवा जनावरको भुवाबाट निस्किने धूलो र धुम्रपान पनि एलर्जीका कारक हुन् ।
समयमै उपचार गर्दा एलर्जीका कारण हुने दमको समस्याबाट जोगिएर रहन सकिन्छ । नाक, कान र घाँटीमा संक्रमणबाट बचाउँछ । बारम्बार खोकी र हाछ्युँ आउँदा अनिद्राको समस्या पनि आउँछ । तर, सबै रुघाखोकी, ज्वरो, घाँटीमा समस्या, एलर्जीजस्ता समस्या कोभिड–१९ का लक्षण नहुने भएकाले नआत्तिई स्वास्थ्य परीक्षण गराउन सल्लाह दिन्छु । रुघाखोकीको समस्या देख्दा समान्य लागेपनि रुघाखोकी र ज्वरोका कारण तपाईको दैनिकीलाई प्रभाव पार्न सक्छ । त्यसैले सकेसम्म मौसमी रुघाखोकी लाग्न नदिन समयमै समेत हुनुपर्छ ।
मौसमी रुघाखोकीको लक्षण
– नाक बन्द हुने ।
– नाकबाट पानी बग्ने ।
– शरिर दुख्ने ।
– ज्वरो आउने ।
– टाउको दुख्ने ।
– हाच्छ्यु आउने ।
– घाँटी दुख्ने ।
– रुघाखोकी लाग्ने ।
– बालबालिकालाई झाडापखाला हुने ।
– श्वास फेर्न गाह्रो हुने ।
सामान्य आराम वा उपचार ले ठिक हुने ।

कोरोना भाइरसको लक्षणः
– सुख्खा खोकी लाग्ने ।
– उच्च ज्वरो आउने (१०४.ा) ।
– एकदमै असामान्य थकाई लाग्ने ।
– स्वाद गन्ध थाहा नपाउने ।
– घाँटी खस खस गर्ने ।
– बोल्दा आवाज परिवर्तन हुने ।
– खाना नरूच्ने ।
– स्वास फेर्न एकदमै गह्रो हुने ।
– निद्रा नपर्ने ।
– निको हुन १० दिन भन्दा बढी समय लाग्ने ।
र माथि उल्लेखित सम्पुर्ण रूघाको लक्षणहरू ।
मौसमी रुघाखोकीबाट कसरी बच्ने ?
– उच्च गुणस्तरिय स्वास्थ्यमैत्री मास्कको सधैं अनिवार्य प्रयोग गर्ने ।
– कँहीकतै गएर फर्किएपछि वा केही सामान छोएपछि गुणस्तरिय स्यानिटाईजर लगाइने वा साबुनपानी हात धुने ।
– खोक्दा, हाच्छिउँ गर्दा सफा कपडा वा रुमालले नाक मुख छोप्ने ।
– पोषिलो खानेकुरा खाने ।
– भीडभाड भएको ठाउँमा नजाने ।
– ज्वरो, रुघाखोकी लागेको बिरामीले हावा पस्ने कोठामा आराम गर्ने ।
– मौसमी रुघाखोकीका बिरामीबाट तथा शंकासपद बिरामीबाट टाढै बस्ने ।
– नाक, मुख आँखामा अनावस्यक रुपमा हात नलैजाने ।
– कुनै व्यक्तिसँग भेट हुँदा नमस्कार गर्ने सकेसम्म हात नमिलाउने ।
– रुमाल, कपडा वा तौलिया सामुहिक प्रयोग नगर्ने ।
– कुनै वस्तु छोएपछि, शौचालय गएपछि तथा खाना खानुअघि राम्रोसँग साबुन वा खरानी पानीले हात धुने ।
– नाक, मुख छोप्दा प्रयोग भएका रुमाल तथा तौलिया राम्ररी धोएरमा पुनः प्रयोग गर्ने ।
– रुघाखोकी लागेको समयमा तातो र झोलिलो खाना खाने ।
– घरेलु उपचारबाट र आराम गर्दासमेत निको नभएमा चिकित्सकको सल्लाह लिएर औषधि सेवन गर्ने ।
यस्तो घरमा के गर्ने ?
बूढापाका, बालबालिका र जटिल स्वास्थ्य स्थिती भएकाहरूका लागि कोरोनाले मात्र होइन सामान्य रुघाखोकीले समेत स्वास्थ्यसम्बन्धी जटिलता निम्त्याउन सक्छ । यस्ता व्यक्तिहरुले सामान्य रुघाखोकी हुँदा पनि चिकित्सकको सल्लाहअनुसार उपचार प्रक्रिया अघि बढाउनुपर्छ । तर स्वस्थ व्यक्तिलाई जाडोयाममा सामान्य रुघाखोकी लागे हाम्रा पुर्खाहरूले परापूर्वकालदेखि अपनाउँदै आएका घरेलु उपायबाटै सन्चो हुन सक्छ । जाडोयाममा स्वस्थ व्यक्तिलाई समस्यामा पार्ने रुघाका लागि हाम्रो घरदैलोमै पाइने जडीबुटी आदिको उपयोग गर्दा राम्रो हुन्छ । तुलसीको पात सामान्य रुघाखोकीका लागि सबैभन्दा राम्रो उपचार हो । यसले भाइरसलाई समेत निष्क्रिय पार्छ । तुलसीको पात चपाउनाले वा चियाजस्तो पकाएर खानाले रुघा निको हुन्छ । यो मौसममा रुघा प्रभावितले दिनहुँ दुईतीन पटक र सामान्य व्यक्तिले समेत एक पटक तुलसीपात, बेसार, अदुवालाई चियाजस्तै पकाएर महको साथ सेवन गर्नाले धेरै फाइदा पुग्छ ।
धेरै खोकी भए ज्वानो पकाएर पिउँदा खोकी निको हुनुका साथ खकार आदि समेत शरीर बाहिर निस्किन्छ । ज्वानो र अदुवा हालेर उमालेको पानीको बाफ लिँदा नाक खुल्छ, घाँटीको खसखस दुईतीन दिनमै निको हुन्छ । यस्तै बेसार, मह, अदुवा चपाइरहँदा पनि फाइदा गर्छ । रुघा लाग्दा दूधमा बेसार मिलाएर सेवन गर्नाले समेत आराम हुन्छ । पानको पातमा थोरै मह र अदुवा राखेर दिनमा दुईतीन पटक खाँदा खोकी राम्रो गर्छ । लसुन उमालेको पानी खानाले वा यसको पोटी खाँदासमेत रुघाखोकीमा राहत मिल्छ (लो ब्लडप्रेसर भएकोले नखानुहोला) । रुघाखोकीको प्रत्यक्ष सम्बन्ध हाम्रो रोगप्रतिरोधक क्षमतासँग हुन्छ ।
आयुर्वेदमा पाइने विभिन्न नुस्खाहरूले रोगप्रतिरोधक क्षमता बढाउन भूमिका खेल्छ । नुन हालेको मनतातो पानीले कुल्ला गर्दा रुघाखोकीबाट निकै आराम पाइन्छ । कुल्ला गर्दा घाँटीको सुन्नाइ कम हुन्छ, दुख्न पनि छोड्छ । कुल्ला गर्दा मुखभित्रको मांसपेशीको पीडा कम हुन्छ । यसले प्रभावित क्षेत्रमा ताप बढाएर रक्तसञ्चार बढाउँछ । यति मात्र नभई, कुल्ला गर्दा मुखमा र टन्सिल एपिया भएको कोभिड–१९ को ब्याक्टेरियासमेत नष्ट हुन्छ । ब्याक्टेरियाले मुखभित्रको प्राकृतिक पीएचको सन्तुलन बिगारेको हुन्छ । नुनपानीले कुल्ला गर्दा मुखको प्राकृतिक पीएचको सन्तुलन सामान्य अवस्थामा फर्किन्छ ।
एउटा अध्ययनले के देखाएको छ भने, जाडो याममा मौसमी रुघाखोकी भएपनि नभएपनि नुनपानीले दिनमा तीन पटक कुल्ला गर्दा छातीसम्बन्धी संक्रमणको सम्भावना ४० प्रतिशतसम्म कम हुन्छ । यस्तै, चियापत्ती, बेसार, नुन हालेर उमालेको पानीले कुल्ला गर्दा घाँटीलाई धेरै सन्चो हुन्छ । तुलसी प्राकृतिक एन्टिसेप्टिक हो, जसले घाँटीको संक्रमण हटाउन सघाउँछ । नियमित ग्रिन टी को सेवन स्टीम बाथ र साउना बाथ पनि मौसमी रूघाखोकी तथा कोरोना फैलावट रोक्ने एक भरपर्दो माध्यम बन्न सक्छ ।
योगका केही आसनसमेत मौसमी रुघाखोकी तथा कोरोना भाइरसको उपचारमा सहायक हुन्छन् । योगले हाम्रो शरीरलाई स्वस्थ र शक्तिशाली बनाउनुका साथै मनलाई स्थिर र केन्द्रित गर्न सघाउँछ । योगले रोगप्रतिरोधक क्षमता बढाउँछ, साथै बाहिरी किटाणु र जीवाणुसँग लड्ने क्षमता वृद्धि गर्छ । मौसमी रुघाखोकी लागेका बेला नाडी शोधन प्राणायाम, अनुलोम विलोम, कपालभाति, मत्स्यासन, शवासन आदि गर्नु उपयुक्त हुन्छ । तर रुघाखोकीबाट पीडित भएकाहरूले योग विशेषज्ञको सल्लाह लिएर मात्र आफ्ना लागि उपयुक्त आसन छनोट गर्नुहोला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->