बागलुङ, १ कार्तिक– नवरात्रको पहिलो दिन घटस्थापनाको दिन शनिवार बागलुङ कालिका भगवतीको मन्दिर सुनसान भएको छ । कोभिड–१९ संक्रमणको त्रासले गृहमन्त्रालयको निर्देशन भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले मठमन्दिरमा निशेधाज्ञा लगाएपछि घटस्थापनाको दिन बागलुङ कालिका मन्दिर सुनसान भएको हो ।
कोरोना संक्रमण समुदाय स्तरमा पुगेको भन्दै प्रशासनले शनिवारदेखि लागू हुने गरी दशैको नवमी सम्म मठमन्दिरमा निशेधाज्ञा लगाएको छ । घटस्थापनाका दिन विगतमा हजारौं दर्शनार्थीहरु मन्दिरमा आउने गरेका थिए । बडादशैं र चैतेदशैंमा बागलुङ कालिका मन्दिरमा सयौं भक्तजन आउने गर्छन् । अघिल्लो बर्षको दशैंमा ६ लाख वटा नरिवल चढेको समितिले रेकर्ड राखेको थियो । ‘सबैले चढाएनन्, कोही दोहोरिएर आए होला, तर १५ दिनमा ६ लाख भक्तजन आएको अनुमान गरेका थियौं’ गुठि व्यवस्थापन समतिका अध्यक्ष राजु खड्काले भने, ‘भेटी व्यवस्थाबाट संरचना सुधार पनि गरिएको छ ।’ मन्दिर आसपासमा झण्डै १० करोडको संरचना बनाइएको उनले बताए । अधिकांस लगानी भेटीबाटै भएको हो ।











