मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मौरी पालनमा रमाएका मोहराज अर्थात ‘मौरी गोठालो’

मौरी पालनमा रमाएका मोहराज अर्थात ‘मौरी गोठालो’


  • ढोरपाटन संबाददाता
  • कार्तिक ९ २०७७, आइतबार
मौरीको चाका देखाउँदै किसान – बागलुङको जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका किसान मोहराज उपाध्याय मौरीको चाका देखाउँदै । मौरीपालन उद्योगबाट उपाध्यायले वार्षिक दश लाखबढी कमाइ गर्दै आएका छन् । तस्वीर : रामबहादुर थापा/बागलुङ

बागलुङ, ९ कात्तिक– मोहराज उपाध्याय । उमेर ७१ वर्ष । उनी आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउँछन् । जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका उपाध्यायको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ ।
व्यावसायिक मौरीपालनमा लागेको २५ वर्षबढी भयो । मौरी पाल्ने तालिम लिएको त विसं २०४५ तिरै हो । मौरीपालनलाई नै उपाध्यायले मूल पेसा बनाएका छन् । उनको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमुना फार्म’ले चिनिन्छ ।
उद्योगमा सेरेना जातका दुई सय घार मौरी छन् । सय घारबाट मह र सय घारबाट मौरीका गोला बेच्ने गरेको उपाध्यायले सुनाए । “मह र गोलाबाट वर्षमा दश लाखबढी कमाइ हुन्छ”, उनले भने ।
अनुकुल मौसम पर्दा मह उत्पादन अझ बढ्छ । यो वर्ष भने अधिक वर्षाका कारण मौरीपालक किसान मर्कामा परेको उपाध्यायले बताए । वर्षाले फूल झारेपछि मौरीको आहार गुम्छ । मौरी पनि चरनमा कमै निस्कन्छन् ।
उपाध्यायको उद्योगमा वार्षिक १२ सय किलोसम्म मह उत्पादन हुन्छ । एक किलो मह रु. १२ सयमा बिक्री हुन्छ । यस्तै एक गोला मौरीको भाउ रु. ५५ सय छ । “बजारको कुनै समस्या छैन, बरु मह पु¥याउनै सकिएको छैन”, उपाध्यायले भने ।
उनका अनुसार वर्षको दुई याममा मह उत्पादन हुन्छ । एउटै याममा चार÷पाँच पटकसम्म मह निक्लने गर्छ । मौसमले साथ दिएका बेला एउटै घारबाट आठ किलोसम्म मह आउँछ । उनले घरसँगै सदरमुकाम बागलुङ बजारबाट मह र मौरी बिक्री गर्दै आएका छन् । बाहिरी जिल्लाबाटसमेत उत्पादनको माग आउँछ । उपाध्यायले मौरीपालन रोज्ने किसानलाई तालिम पनि दिन्छन् ।
उनले पनि विसं २०४५ ताका काठमाडौँ, चोभारको ‘हिमालयन बी कन्सर्न’मार्फत मौरीपालनको तालिम लिएका थिए । “मैले तालिम लिएर फर्केपछि अरुलाई सिकाउन थालेँ”, उपाध्यायले भने, “अरुलाई तालिम दिदैँ हिँड्ने आफूले चाहिँ नपाल्ने गर्दा अमिल्दो भयो भन्ने लागेर विसं २०५१ तिर व्यावसायिक मौरीपालन शुरु गरेँ ।”
मौरीपालनमा लागेपछि उपाध्यायलाई कहिल्यै पछाडि फर्कनु परेन । उनी ३४ औँ विश्व खाद्य दिवसमा देशभरमै उत्कृष्ट सेरेना मौरीपालक किसानका रुपमा सम्मानितसमेत भइसकेका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि उनको उद्योगलाई नमुना मौरीपालन फार्म घोषित गरी रु. पाँच लाख अनुदान दिएको थियो ।
सफल मौरीपालक किसानका रुपमा उपाध्यायको चिनारी गाउँठाउँ फैलिएको छ । कतिपयले त उनलाई ‘महराज’ भनेरसमेत बोलाउँछन् । उमेरमा विदेश जाने मोह उपाध्यायमा पनि नजागेको भने होइन । कैँयन हण्डर खाएपछि गाउँमै उद्यम गर्ने सोचले मौरीपालनमा लागेको उनले बताए ।
“मेरो पेसा र कमाइबाट म सन्तुष्ट छु, मेरो जिन्दगी नै मौरीको गोठालो भएर बित्ने भयो”, उनले भने । उपाध्यायको घर–व्यवहार मह÷मौरीकै आम्दानीबाट चल्छ । जोगाएको पैसाले सम्पत्तिसमेत जोडेका छन् । उनलाई घरका सदस्यले पनि मौरीको व्यवसायमा उत्तिकै सघाउँछन् । तीन भाइ छोरा विदेश छन् ।
जेठी बुहारी राधा र माइली खिराले सदरमुकाममै बसेर मह÷गोला बेच्ने प्रबन्ध मिलाउँछन् । घरमै रहेकी कान्छी बुहारी शर्मिला उपाध्यायसँगै उद्योगमा दैनिक खटछीन् । “मागअनुसार बजारबाटै पनि मह र गोला बेच्छौँ”, खिराले भनिन्, “गाउँको मह भनेर खोजीखोजी किन्न आउँछन् ।”
उनले ससुराबुबाको मेहनत र लगाव सबैका लागि अनुकरणीय रहेको बताइन् । “परिवारलाई कहिल्यै अभावमा राख्नुभएन, त्यतिका वर्षअघि बुबाले शुरु गर्नुभएको मौलीपालनमा हामी पनि जोडिन पाएका छौँ ”, खिराले भनिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->