म्याग्दी/मालिका गाउँपालिका १ निस्कोट डाँसा सिरदीका गंगाराम पौडेलले २ दशक वैदेशिक रोजगारीमा बिताए । २० वर्षसम्म विदेशका काम गरी फर्केपछि उनले थालेको व्यवसायमा अहिले ७ जनाले रोजगारी पाएका छन् ।
४४ वर्षीय गंगाराम २०५८ सालमा रोजगारीको शिलशिलामा मलेसिया गएका थिए । मलेसियामा पाँच वर्ष पाँच महिना बसेपछि उनी बहराइन गएरु एक वर्ष काम गरेका थिए । पछि कतारमा साढे चार वर्ष बिताएका उनले संयुक्त अरब इमरेट्स(युएइ)को आबुधाबीमा चार वर्ष र अन्तिम चरणमा ओमानमा ६ वर्ष काम गरेपछि २०७६ मा नेपाल फर्किए ।
एउटा देशबाट अर्को देशमा अवसर खोज्दै बितेको दुई दशक लामो यात्राका क्रममा एउटा कुरा भने कहिल्यै बदलिएन त्यो थियो– घर फर्किने र आफ्नै ठाउँमा केही गर्ने सपना ।
गंगाराम भन्छन्, ‘हरेक दसैंमा गाउँ सम्झिन्थेँ, तिहारमा देउसीभैलोको आवाज सम्झिन्थे । सन्तान हुर्किरहेको खबर फोनबाट सुन्थे । बाबु भएर पनि छोराछोरीको बालापनसँगै हिँड्न नपाउनु उनको जीवनको सबैभन्दा ठूलो पीडा थियो ।’
उनका जेठा छोरा २० वर्षका भए र १२ कक्षा उत्तीर्ण गरिसकेका छन् । १७ वर्षका कान्छो छोरा कक्षा ११ मा पढ्छन् । १२ वर्षीया छोरी कक्षा ७ मा पढ्दै छिन् ।
गंगारामको अनुभव छ, ‘विदेशमा पैसा कमाइयो, तर सन्तानको बाल्यकाल फेरि फर्केर आउँदैन रहेछ ।’ त्यही अनुभूतिले उनको सोच परिवर्तन गरिदियो । २०७६ सालमा अन्ततः उनले स्थायी रूपमा नेपाल फर्किने निर्णय गरे । नेपाल फर्किएपछि तत्कालीन मालिका गाउँपालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले विदेशबाट फर्किएका युवाले फेरि विदेश जाने सोच त्यागेर गाउँमै व्यवसाय गर्नुपर्ने सुझाव दिए ।
त्यही सुझावपछि आफू व्यवसायतर्फ मोडिएको गंगाराम सुनाउँछन् । ‘रोजगारी खोज्ने होइन; अब रोजगारी दिने मानिस बन्नुपर्छ सल्लाह थियो,’ उनले भने । कहिलेकाहीँ एउटा मानिसले दिएको हौसलाले जीवनको बाटो नै बदलिदिन्छ । २०७८ सालमा गंगारामले दरवाङ बजारमा ‘प्रकृति मोटर पाट्र्स तथा वर्कसप’ खोले ।
दरवाङ बजार हुँदै पश्चिम म्याग्दीका विभिन्न गाउँमा दैनिक सयौं मोटरसाइकल गुड्छन् । पहाडी भूगोल, उकालो–ओरालो र कच्ची सडकका कारण मोटरसाइकलमा समस्या आइरहन्छन् । पहिले सामान्य मर्मतका लागि पनि टाढासम्म पुग्नुपर्ने अवस्था थियो । आवश्यक पार्टपुर्जा सजिलै पाइदैनथ्यो । गंगारामले यही अभावलाई अवसर बनाएर थालेको व्यवसायमा अहिले ७ जनाले रोजगारी पाएका छन् ।
परिवारका ३ जना र बाहिरका ४ जनाले दैनिक बिहानदेखि बेलुकासम्म काम गर्ने गरेको उनको भनाइ छ । मोटरसाइकल मर्मतदेखि आवश्यक पार्टपुर्जा उपलब्ध गराउनेसम्मको सेवा एकै ठाउँमा पाइने भएपछि स्थानीय बासिन्दालाई सहज भएको छ । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोका भन्छन्, ‘गाउँपालिकाको कार्यालय अगाडि सञ्चालनमा रहेको यो व्यवसायले पश्चिम म्याग्दीका धेरैलाई ठूलो सुविधा दिएको छ ।’
मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजा एक समय आफैं रोजगारी खोज्दै पाँच देश चहार्ने व्यक्तिले आज सात जनाको जीविकोपार्जनको आधार बनाउनु नमुना काम भएको बताउँछन् ।





