पोखरा/गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७५ सालमा पोखरामा रेड लाइट एरिया तोक्नुपर्ने भाषण गरे । रेड लाइट एरिया तोक्दा पर्यटक बढी आउने, अवैध यौनधन्दा रोकिने र समाजमा एक खालको सभ्यता र शासन स्थापित हुने उनको तर्क थियो । त्यस बेला त्यसको समर्थन र विरोध दुवै भयो । तर, उनको भाषण व्यवहारामा कार्यान्वयन भएन ।
२०८० चैत ४ गते पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरियो । घोषणासँगै लेकसाइड क्षेत्र २४ घन्टै व्यवसाय सञ्चालन गर्ने मापदण्ड बनाइयो । पोखरालाई नाइट लाइफसँग जोड्दै पर्यटन प्रवद्र्धनको उद्देश्यले ल्याइएको यो व्यवस्थाले केही उपलब्धि दिए पनि मापदण्ड र सुरक्षाको प्रत्याभूति नहुँदा प्रभावकारी कार्यान्वयन हुन सकेन । अहिले रात्रीकालिन व्यवसाय स्थानीयका लागि निल्नु न ओकल्नु बनेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल र पूर्वाधार विस्तारसँगै नाइट लाइफलाई पनि पर्यटनको महत्वपूर्ण पाटो मानेर सरकारले यो नीति ल्याएको थियो । त्यसबाट व्यवसायीहरू पनि उत्साहित थिए । तर रातभरि चहकिलो बन्ने यही लेकसाइडमा स्थानीयको रात भने डर र निद्राविहीन बन्ने गरेको खहरे आमा समूहकी पूर्वअध्यक्ष मैयाँ थापाको गुनासो छ । रातभर सञ्चालन हुने डिस्को र होटलका कारण मदिरापान, हल्ला र झगडाले स्थानीयले सुत्नसमेत नपाउने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
राति मोटरसाइकल र गाडीको चर्काे आवाज, बढ्दो चोरी–डकैतीका घटनाले स्थानीयले असुरक्षित महसुस गर्नुपरेको थापाले जिकिर गरिन् । स्थानीयको यही गुनासोबीच अब निश्चित समय तोकेर व्यवसाय व्यवस्थित गर्नुपर्ने बेला आएको पर्यटन व्यवसायी गोपी भट्टराई बताउँछन् । पोखरा भ्रमण वर्ष संयोजकसमेत रहेका भट्टराई सामान्य रेस्टुरेन्टलाई राति १० देखि ११ बजेसम्म तथा पब, बार र क्लबलाई राति २ बजेसम्म सञ्चालन गर्न दिँदा उपयुक्त हुने सुझाउँछन् ।
पूर्वाधार र कनेक्टिभिटी अपेक्षाअनुरूप विकास हुन नसक्दा तथा आचारसंहिता कार्यान्वयन अलपत्र पर्दा बिहानसम्मै त्यस्तै गतिविधि देखिने गरेको छ । किशोर–किशोरीदेखि परिवारसम्मलाई नकारात्मक असर परिरहेको भन्दै सबै व्यवसाय एउटै समयमा बन्द हुँदा शान्ति, सुरक्षा कायम गर्न सहज हुने उनले बताए । ‘पोखरा पर्यटकीय राजधानी भएकाले यहाँको आफ्नै विशेषता छ । विशेषगरी यहाँ आउने पर्यटकका लागि सुरक्षित वातावरण हामीले सिर्जना गर्न सकेनौं भने यसले ठूलो समस्या निम्त्याउँछ’, उनले भने, ‘लाइट लाइफ नराम्रो होइन तर, स्थानीयलाई दुःख दिएर गर्न पनि सकिँदैन । आखिर सुरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता हो ।’
रात्रिकालीन व्यवसाय पोखराको पर्यटनका लागि आवश्यक भएको धेरैको मत छ । ढिलो पोखरा आइपुग्ने पर्यटकका साथै दिनभर आ–आफ्नो काममा व्यस्त रहने सरकारी कर्मचारी, विद्यार्थी र व्यवसायीसमेत साँझपछि लेकसाइड आउने गरेको पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेल बताउँछन् । दिनको तुलनामा साँझ, रातिको समयमा व्यवसाय र राजस्व दुवै बढी हुने भन्दै उनी रात्रिकालीन गतिविधिलाई लेकसाइडको आर्थिक धरोहर मान्छन् ।
तर, आफ्नै घरमा बस्नसमेत गाह्रो भएको स्थानीयको गुनासो धेरै ठाउँमा सुनिने गरेको भुजेलको भनाइ छ । लेकसाइडलाई व्यावसायिक क्षेत्र बनाउने वा बास बस्ने क्षेत्र, यस विषयमा बहस गर्न आवश्यकता रहेको उनी सुनाउँछन् । ‘वास्तवमा पोखरामा नाइट लाइफ भनेर कसरी परिभाषित गर्ने भन्ने छ । क्लब, डिस्कोलाई नाइट लाइफ मान्ने कि राति अबेर लेकसाइड आई खानाको व्यवस्था गर्नेलाई भन्ने । यो दुविधा चिर्न आवश्यकता छ’, उनले थपे, ‘अर्को भनेको लेकसाइडलाई व्यावसायिक क्षेत्र बनाउने कि आवास क्षेत्र भन्ने पनि हो ।’
रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालयले नेपाल सरकारको निर्देशनका आधारमा २०८० सालमै मापदण्ड तयार गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको भनाइ छ । वैदाम, सिर्जनाचोक, पृथ्वीचोक, महेन्द्रपुल लगायतका क्षेत्रमा सञ्चालित व्यवसायका लागि आचारसंहिता र स्वास्थ्यसम्बन्धी मापदण्डसमेत सोही निर्देशिकामा उल्लेख छन् । मापदण्ड परिवर्तन गर्नुभन्दा भइरहेको मापदण्ड नै प्रभावकारी कार्यान्वयनमा ल्याई व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउने काममा प्रशासन लागेको बरालले सुनाए ।





