मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

अलैंचीको मूल्य घट्यो, किसान मर्कामा

अलैंचीको मूल्य घट्यो, किसान मर्कामा

अहिले पनि किसानले पठाएमा सहजै बिक्री भैरहेको छ । तर मूल्य भने एक तिहाई कम भैसकेको हो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७७, मंगलबार
बागलुङको ताराखोला गाउँपालिका २ अर्गलका किसानहरु अलैची स्याहार्दै । यहाँका किसानले परंपरागत बालीबाट भन्दा अलैचीबाट दशगुणा बढी कमाउन सकेको बताए । तस्बिर ः ढोरपाटन न्युज

बागलुङ, १८ कात्तिक– ताराखोला गाउँपालिकाका इन्द्रबहादुर रोकाले ३ वर्षअघि प्रति किलोग्राम १ हजार ५ सय रुपैयाँमा अलैची बेचेका थिए । अहिले ५ सय ५० रुपैयाँमा बेच्नुपर्ने बाध्यता सुनाए ।
भारतीय एकाधिकार तोड्न नसक्दा किसानले अलैचीको मूल्य पाउन नसकेको उनको गुनासो छ । नेपालमा संकलन केन्द्र र बिक्री तथा प्रशोधनको व्यवस्थापन नभएकोले किसानले मूल्यसमेत नपाएको उनले बताए । ‘हामीले मात्र हैन, देशभर उत्पादन हुने अलैची बजार पठाउन समस्या छ’ रोकाले भने, ‘भारतीयले बजारको मूल्य निर्धारण गर्छन्, किसान मारमा पर्छन् ।’ अहिलेसम्म नेपालमा उत्पादन हुने अलैची भारमा जाने गरेको छ ।
भारतमा गएको अलैची प्रशोधनपछि आफ्नै ट्याग लगाएर विश्व बजारमा बेच्ने गरेको रोकाले बताए । झापाको बिर्तामोडमा पुर्व र पश्चिमको अलैची संकलन हुने गरेको छ । अहिले पनि किसानले पठाएमा सहजै बिक्री भैरहेको छ । तर मूल्य भने एक तिहाई कम भैसकेको हो । ठूला व्यापारीले किसानको उत्पादन बिक्री नै हुँदैन भन्ने हल्ला फैलाउने गरेकोले बजार मूल्य घटेको किसानको गुनासो छ ।
बागलुङको ताराखोलाका किसानले झण्डै ३० क्वीन्टल अलैची उत्पादन गर्दै आएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ताराखोलालाई ब्लक बनाउन धेरै लगानी पनि भएको छ । गाउँपालिका र कृषि ज्ञान केन्द्रमार्फत यहाँ लगानी भित्रिएको छ । विशेषगरी ज्ञान केन्द्रले बीउ, बिरुवा र सिंचाइमा लगानी गरेको हो भने गाउँपालिकाले किसानलाई अनुदान दिएको थियो ।
ताराखोलाका किसानले अहिले भट्टीमा सुकाएर राखेका अलैची बजार पठाउने तयारीमा छन् । ठूला व्यापारीले गाउँमा आएर उठाएपनि सहज हुनेमा आँफै पठाउनुपर्ने बाध्यता बनाएको ताराखोला–२ का हर्कबहादुर रोकाले बताए । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले अघिल्लो वर्षको तुलनामा उत्पादन बढ्न थालेकोमा बजार नपाउने समस्या भएको बताए । उनले राज्यले संकलन गरेर प्रशोधनको व्यवस्थापन मिलाउनुपर्ने बताए ।
‘गाउँपालिका तहमा संकलन गराउन मात्रै सकिन्छ, तर राज्यले एउटा प्रशोधन केन्द्र बनाउन सकेमा स्वदेशमै खपत गरेपनि हुन्छ’ घर्तीले भने, ‘किसानलाई मूल्य दिनका लागि नेपालमै खपत हुने वातावरण चाहिन्छ ।’ अहिलेसम्म नेपालको अलैचीमा भारतीय एकाधिकार रहेको जानकारहरु बताउँछन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ताराखोलामा विगत ५ वर्षदेखि अलैचीको व्यवसायिक उत्पादन थालिएको छ । किसानले मकै र कोदो बारी मासेर अलैची रोपेका छन् । खोला र जंगलको छेउमा बाँदरले अन्न खाएर हैरान पारेकोले अलैची लगाएर सहज बनाउन थालेका थिए । कोदो र मकैको तुलनामा अलैचीबाट कमाइसमेत राम्रो हुने गरेको छ ।
गत वर्ष ८ सय रुपैयाँ केजी बेचेका किसानले यो वर्ष ५ सय ५० देखि ६ सय रुपैयाँ सम्ममा बेच्न सकिने बताए । ‘मूल्य पाए राम्रो भयो, नपाएपनि बाँझो जमिनको सदुपयोग गर्दा ५ देखि ६ सय रुपैयाँ पाउँदा राम्रै हुन्छ’ रोकाले भने, ‘स्वदेशमै प्रशोधनको व्यवस्थापन गराउन सके दोब्बर फाइदा कमाउन सकिन्छ ।’ घर्तीले भने अलैची ब्लकबाट जोनको रुपमा ताराखोलालाई सूचिकृतको तयारी गरेको बताए । अहिले वडा नं. १, २, ३ र ४ का अधिकांस स्थानमा अलैची खेती सुरु भैसकेको छ ।
संखुवासभाबाट आएका व्यवसायीले समेत ताराखोलाको सयौं रोपनी जमिन भाडामा लिएर अलैचीको व्यवसायिक खेती थालिसकेका छन् । भुस्कात, अमरभूमी, सिले र अर्गलमा अहिले अधिकांस जमिनको परम्परागत खेती मासेर अचैची रोप्ने काम भएको छ । आधाबढी जमिनमा उत्पादन पनि भैसकेको छ । ताजा अलैचीको तुलनामा भट्टीमा सुकाएर बजार पठाउ“दा किसानले बढी मूल्य पाउने, ढुवानी सहज हुने र घरघरमै भण्डारन गर्न सकिने रोकाले जानकारी दिए ।
ताराखोला गाउ“पालिकाले ६ हजार हेक्टर जमिन अलैचीका लागि तयार पारेको छ । त्यसबाहेक किसानले घर घरमा लगाउने क्रम बढेपछि केही वर्षमै अलैची जोन बनाउन सकिने अलैची किसान सूर्यबहादुर रोकाले बताए । यहा“ ठूला ठूला नर्सरी बनाएर बिरुवा उत्पादनको कामसमेत थालिएको छ । गाउ“पालिकाभित्र ४ हजार युवा रोजगार बनाउने लक्ष्यमा कृषिमा सबैभन्दा धेरै रोजगार बन्ने घर्ती बताउ“छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->