बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘कृषि र पर्यटनमार्फत समृद्धिको यात्रामा’

‘कृषि र पर्यटनमार्फत समृद्धिको यात्रामा’


  • हिमलाल पराजुली
  • कार्तिक २६ २०७७, बुधबार

विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीसंग जुधिरहेको छ । यसले सबै क्षेत्रलाई प्रभावित पारेको छ । कोरोनाको अवस्था घट्दोभन्दा पनि बढ्दो चरणमा रहेकोले अब कोरोनाको त्रासले हात बाँधेर बस्नुभन्दा पनि कोरोना संगसंगै अगाडी बढ्नुपर्छ भनेर सुरक्षाका विभिन्न उपाय र मापदण्ड अपनाएर समग्र नगरका गतिविधीलाई पुतलीबजार नगरपालिकाले अगाडी बढाएको छ । वर्तमान अवस्था र नगरको विकासका लागि गरिएका काम, त्यसको प्रभाव र आगामी योजनाका विषयमा पुतलीबजार नगरपालिकाका नगरप्रमुख सीमा कुमार क्षेत्रीसंग ढोरपाटनकर्मी हिमलाल पराजुलीले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।
यतिबेला मुलुकमा कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा छ । पुतलीबजार नगरपालिकामा कसरी व्यवस्थापन गर्नुभएको छ ?
– हो, मुलुक यतिबेला कोरोना भाइरस (कोभिड–१९) कारण समस्यामा परेको छ । यसको संक्रमणलाई फैलिन नदिन सरकारले विभिन्न सुरक्षाका उपायहरुको अवलम्वन गर्न आग्रह गरिरहेको छ । हामी पनि यो विषयमा सचेत छौं तर यो कोरोना महामारीको अवस्था तत्कालै अन्त्य हुने अवस्था नदेखिएकोले सचेतता अपनाउदै नियमित कामलाई पनि गति दिनुपर्छ भन्ने लागेर सोही अनुसार अगाडी बढेका छौं । पुतलीबजार नगरपालिकालाई सबै पालिकाहरुसंग जोड्ने योजना अनुसार सडक विस्तारको कार्य भइरहेको छ ।

कोरोना रोकथाम र यसबाट सृजित समस्यालाई व्यवस्थापन गर्न कस्ता कार्यक्रम संचालन गर्नुभएको छ ?
– पहिला त हामीले नगरबासीलाई सचेत गराउनले अभियानसंगै राहत वितरण कार्यक्रमहरु पनि सञ्चालन ग¥यौं । तर, यतिका लामो समयसम्म पनि संक्रमणको अवस्था घट्नेभन्दा पनि बढ्दो क्रममा रहेकोले अब सर्वसाधारण जनताहरु पनि घरमै बस्दा थप समस्या आउन सक्ने भएकोले विभिन्न ब्यापार व्यावसायका साथै निर्माणका क्षेत्रहरुमा खट्ने मजदुर एवं कामदारहरुलाई आफु सुरक्षित भएर काम गर्न आग्रह गरेका छौं । र, सोही अनुसार काम पनि भइरहेको छ ।

नगरको विकासका लागि के–के काम गर्नुभएको छ ?
– समग्र नगर विकासको लागि योजना बनाएर अगाडी बढेका छौं । नगरलाई आत्मनिर्भर बनाउनको लागि नगरभित्र रहेका सम्भावना र नगरको समग्र अवस्थाको बारेमा पहिचान गर्न सकेको अवस्थामा मात्रै प्रभावकारी रुपमा काम गर्न सकिन्छ भन्ने लाग्छ मलाई । हाम्रो नगरपालिकामा रहेका महत्वपुर्ण पर्यटकीय क्षेत्र र कृषिको लागि उर्वर भूमीको पहिचान गरेर अहिले सोही अनुसार काम गरिरहेका छौं । एक पक्षको विकासले मात्रै समग्र नगरको विकास हुन नसक्ने भएकोले भौतिक विकास, आर्थिक विकास, सामाजिक विकास र सांस्कृतिक विकासमा हामीले काम गरिरहेका छौं । जबसम्म व्यक्तिगत समृद्धि हासिल गर्न सक्दैनौ तबसम्म समृद्धिको लक्ष्यमा पुग्न नसकिने भएकोले सोही अनुसार काम गरिरहेका छौं ।

पुतलीबजार नगरपालिका कृषि र पर्यटनका क्षेत्रमा निकै सम्भावना भएको पालिकामा पर्छ, यो क्षेत्रलाई अगाडि बढाउन कसरी काम भइरहेको छ ?
– हो, यहाँले निकै महत्वपुर्ण कुरा उठाउनु भो ! जबसम्म कृषि र किसानको महत्व बुझ्न सकिदैन तबसम्म गरिएका कुनै पनि विकासका कामले अर्थ राख्दैन भनेर हामीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिहेका छौ । यस क्षेत्रमा लागेका किसानहरुलाई प्रोत्साहान गर्नको लागि अनुदान दिनुका साथै आवश्यक पर्ने बिउबिजनका साथै उत्पादन कार्यको लागि आवश्यक पर्ने औजारहरु समेत वितरण गर्दै आएका छौ ।
यस्तै, चक्लाबन्दी खेती कार्य पनि सुरु भएको छ । किसानहरु समुहमा अवद्ध भएर काम गर्ने कार्यको थालनी भएको छ । यसरी समुहमा काम गर्दा सहज हुनुका साथै उत्पादनसमेत राम्रो हुने भएकोले सामुहिक कृषिमा लाग्ने किसानहरुलाई प्रोत्साहन गर्नुका साथै कृषकले उत्पादन गरेका वस्तुको विक्री वितरण गर्ने व्यवस्थासमेत मिलाएका छौं । पुतलीबजार नगरपालिका सुन्तला सुपरजोनमा समेत परेकोले सुन्तला उत्पादनको लागि कृषकहरुलाई प्रोत्साहन गर्नुका साथै कोदो खेती गर्नेलाई अनुदानको व्यवस्था गर्नुका साथै त्यसको कुटानी पिसानीको लागि प्राविधिक सहयोग गर्ने र कोदोको पिठोलाई प्याकेजिङ गरेर विक्री वितरण गर्ने योजना बनाएका छौं ।
पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार र प्रर्वद्वनको लागि गुरुयोजना बनाएर सोही अनुसार काम गर्नेगरी अगाडी बढेका छौं । सिद्धार्थ राजमार्गमा पर्ने भालुपहाडलाई सुन्दर पर्यटकीय स्थलका रुपमा विकास गर्नेगरी तयारी भइरहेको छ भने होमस्टेका साथै प्यारागलाईडिङको लागि समेत नगरपालिकाभित्र उपयुक्त ठाउँहरु भएकोले प्राथमिकतामा राखेका छौं ।

नगरमा पुर्वाधारका क्षेत्रमा के–के काम गर्नुभएको छ ?
– पुर्वाधारको कुरा गर्दा हामीले विकासको लागि पहिलो खुड्किलानै पुर्वाधार भएकोले सोही अनुसार काम गरिरहेका छौं । सडक चौडा गर्नुका साथै नयाँ ट्रयाकको निर्माण संगसंगै विभिन्न संघसंस्थाको लागि आवश्यक पर्ने भवनको निर्माण कार्यका साथै मर्मत सम्भारको कामसमेत भइरहेको छ । सफा र व्यवस्थित खानेपानी नगरका सबै वडामा पुर्याउने योजना अनुसार खानेपानीका क्षेत्रमा अहिले काम भइरहेको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा के कस्ता काम भइरहेका छन् ?
– नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई महत्वपुर्ण रुपमा लिएको छ । जिल्ला सदरमुकामम रहेको पालिका भएकोले पनि यो नगरपालिकामा अन्य पालिकाहरुमा भन्दा मानिसहरुको चाप बढी हुने भएकोले स्वास्थ्य क्षेत्रमा आफुहरुले विशेष ध्यान दिएर काम गरिरहेको र जिल्ला अस्पतालका साथै अन्य स्वास्थ्य संस्थाहरुलाई स्तरवृद्धि र सहज रुपमा स्वास्थ्य सेवा दिने व्यवस्था मिलाएका छौं । शिक्षा क्षेत्रमा स्थानीय स्तरमा रहेका विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामग्री सहयोग गर्नुका साथै विद्यालय जानबाट कोही पनि बञ्चित नहोस् भनेर विभिन्न किसिमका अभियान चलाएका छौं । पहिला निजी विद्यालय र सामुदायीक विद्यालय बीच केही दुरी बढेको जस्तो देखिए पनि अहिले आएर एक संस्थाले गरेको राम्रो काम अर्को संस्थाले अवलम्बन गर्ने गरेकोले शिक्षा क्षेत्रमा राम्रो काम भइरहेको छ ।

धेरै नगरहरुमा फोहोरमैला व्यवस्थापन टाउको दुखाई बनिरहेको अवस्था छ यहाँले कसरी यसको व्यवस्थापन मिलाउनुभएको छ ?
– हो यहाँले महत्वपुर्ण कुरा उठाउनुभो, हामीले फोहोरलाई समस्याका रुपमा लिएका छैनौं । फोहोरलाई हामी मोहोर बनाउने योजना अनुसार काम गरिरहेका छौं । फोहोरको व्यवस्थापनको लागि मालेबगरमा सरसफाई केन्द्रको निर्माण गरेका छौं । बजार क्षेत्रबाट निस्कने फोहोरलाई वर्गिकरण गरेर सरसफाई केन्द्रमा लैजान्छौ त्यहाँ लगेर फोहोरलाई वर्गिकरण गरिएअनुसार आ–आफ्नो ठाउँमा राख्ने र मल बनाउन सकिने वस्तुहरुलाई कम्पोट मल बनाउँछौ । फलाम र सिसाजन्य वस्तुहरुलाई विक्री गर्ने र त्यसबाट आएको आम्दानी सरसफाई केन्द्रको लागि आवश्क खर्च गर्ने व्यवस्था मिलाएका छौं ।
बजार क्षेत्रमा बस्नेहरुको लागि जसको तरकारी लगाउने जमिन पनि छैन र घरबाट निस्किएको फोहोर राख्ने ठाउँ पनि छैन त्यस्ता परिवारलाई प्लाष्टिकका कम्पोष्ट मल बनाउने बाल्टिन वितरण गरेक छौं । उहाँहरुले घरको भान्साबाट निस्किएको फोहोरलाई कम्पोष्ट मल बनाएर कौशी खेतीसमेत गर्दै आउनुभएको छ । यसले फोहोरको व्यवस्थापनका साथै नगरबासीलाई सामान्य घरपरिवारको लागि आवश्यक पर्ने तरकारी उत्पादनको लागि समेत प्रोत्साहन गरेको छ ।

अन्त्यमा, पत्रिकामार्फत आफ्ना नागरिक केही भन्न चाहनु हुन्छ ?
– म यहाँको पत्रिकामार्फत के भन्न चाहन्छु भने विकासको लागि सबैले हातेमालो गरेर अगाडी बढौं, सबैको चाहना राम्रो गर्ने हो । विकास एक्लैले गरेर सम्भव हुने कुरा पनि होइन । हामी सबै मिलेर गर्नुपर्छ । समग्र पुतलीबजारको विकासका लागि हामी सबै मिलेर अगाडी बढौं । संघिय र प्रदेश सरकारबाट पनि हामीलाई राम्रै सहयोग भइरहेको छ ।
अन्त्यमा, अहिलेको यो कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं सबै जिम्मेबार बनौ भन्न चाहन्छु । धन्यवाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->