मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

‘ढाका टोपी’ लाई आफ्नो बनाउन चुकेको पोखरा !

‘ढाका टोपी’ लाई आफ्नो बनाउन चुकेको पोखरा !


  • बासुदेव मिश्र
  • मंसिर ३ २०७७, बुधबार
पोखराको सिमलचौरमा बन्द अवस्थामा रहेको विन्ध्यवासिनी ढाका कपडा उद्योग । तस्वीरः ढोरपाटन

पोखरा, ३ मंसिर– नेपालका दुई ठाउँ टोपीका कारण चिनिन्छन् । एउटा भादगाउँ र अर्को पाल्पा । काठमाडौं खाल्डोभित्रको भादगाउँले कालो चिटिक्क परेको कालो र पाल्पाले ढाकाको रंगीन टोपीसँग आफूलाई जोडेको छ । भादगाउँले टोपीले प्रशासनिक निकायसँग र पाल्पाली ढाका टोपीले आम नेपालीसँग साइनो जोड्छ । भादगाउँले होस् वा पाल्पाली, नेपालीपन झल्काउनु दुबैको विशेषता हो । शीर स्वाभिमानसँग जोडिएको छ भने त्यही शीरको शोभा हो, टोपी । विभिन्न देशका आ–आफ्नै प्रकारका टोपी छन् तर नेपालीको जस्तो मौलिकता कसैसँग छैन । संसारको जुन कुनामा पुगे पनि शीरमा ढाका वा भादगाउँले टोपी छ भने त्यो नेपाली नै हुन्छ ।
पछिल्लो समय भादगाउँलेभन्दा पाल्पाली ढाका टोपीको बोलबाल बढेको छ । ढाकाकै दौरा–सुरुवाल, साडी–चोलो पनि चलेकै छ । पाल्पासँग जोडिएको ढाका नेपालीको मौलिक पहिचान बन्न पुगेको छ । तिहार भर्खरै सकिएको छ । दिदी–बहिनीले दाई–भाईको शीरमा लगाइदिने यो टोपीको व्यापार तिहारमा बढी नै भएको छ । ढाका अहिले जताततै बन्छ तर पाल्पाले आफ्नो मौलिकता र शान जोगाएको छ । पाल्पाबाट फैलिएको ढाका टोपीसँगको विरासत जोगाउने मामिलामा पोखरा भने निकै पछि परेको छ ।
ढाकालाई नेपाली मौलिक पहिचान दिलाउन तथा लोकप्रिय बनाउने श्रेय पाल्पाका गणेशमान महर्जनलाई जान्छ । तानमा ढाका बुन्दै ढाकाका कपडा देशभर फैलाउन उनले निकै मेहनत गरे । उनले ढाका उद्योग खोलेर स्थानीयलाई रोजगार मात्रै दिएनन्, ढाकासँग पाल्पा जोडिदिए । ढाकाको व्यापार बढ्दै गयो । गणेशमानले आफ्नो उद्योग पनि पोखरासम्म फैलाउने योजना बनाए । उनकै योजनामा भाई शक्तिमान पोखरा हानिए । पोखराको सिमलचौरमा २०३१÷३२ सालतिर ठूलो घर बन्यो । ढाका बुन्ने तानहरु राखिए । घरको माथि पोखरेली ढाकाटोपी, विन्ध्यवासिनी ढाका कपडा उद्योग लेखियो । तानमा कपडा बुन्नेहरुले रोजगारी पाए । पाल्पा मात्रै जोडिने ढाका टोपीमा ‘पोखरेली ढाका टोपी’ जोडिन पुग्यो ।
‘त्यो बेला सिमलचौरको ठूलो घर नै ढाका उद्योगको थियो’, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अतित सम्झँदै भने,‘तर, त्यो उद्योग पछि आएर बन्द भयो ।’
मुल्मीका अनुसार पाल्पाका शक्तिमानले पोखरामा ढाका उद्योग संचालनमा ल्याएपछि त्यसले यहाँका स्थानीय उद्यमीलाई पनि ढाका उद्योगतिर आकर्षित गरायो । संयोगले जर्मन सरकारले नेपालका कुटिर तथा साना उद्योग प्रवद्र्धन ( कटेज एण्ड स्मल इण्डष्ट्री) लाई सहयोग गर्ने कार्यक्रम आयो । जर्मन नै पढेर आएका यहाँका रैथाने गणेशमान पालिखेले २०४४/४५ सालतिर जर्मन सहयोगमा यहाँको नागढ्ंगामा पालिखे ढाका टोपी उद्योग खोले ।
‘जर्मनले सहयोग दिँदा नै घर–घरमा उद्यमशीलता विकास होस् भन्ने चाहेको थियो । त्यसैले पालिखे ढाका टोपी उद्योगले घर–घरमा गृहिणीलाई तानमा ढाका बुन्न लगाउँथ्यो’, त्यो बेलाको दाजुको इलमबारे कुरा गर्दै भाई विश्वशंकर पालिखेले भने,‘ दाई ( गणेशमान) ले भारतबाट धागो ल्याएर घरघरमा दिनुहुन्थ्यो र त्यहाँबाट उत्पादित कपडालाई ब्राण्डिङ गर्नुहुन्थ्यो ।’ गणेशमानले सुरु गरेको ढाका व्यवसाय अहिले उनका छोराले धानिरहेका छन् । पोखराको महेन्द्रपुलमा पालिखे ढाका टोपीको सो रुम छँदैछ ।
पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका विश्वशंकरका अनुसार ढाकाको कपडाको माग बढेपछि यहाँको अर्को व्यावसायिक घराना गौसलीले पनि ढाका उद्योगमा हात हाल्यो । गोसली ढाका टोपी र गोसलीका ढाकाका उत्पादनहरु पछिसम्मै चले ।
‘पाल्लाबाट फैलिएको ढाका उद्योगसँग पोखरा पनि जोडियो तर पोखराले त्यसलाई आफ्नो ब्राण्ड बनाउन सकेन’, विश्वशंकरले भने,‘व्यावसायिक रुपले पनि पोखरामा ढाका उद्योगहरु खासै जमेनन् ।’ पर्यटकीय राजधानी पोखरामा ढाकासँग जोडिएर झोला ,थैलीलगायतका उपहार बनाउने अवसर भए पनि त्यसको खासै उपयोग नगरिएको उनको भनाई छ । पोखराले ढाकालाई आफ्नो ब्राण्ड बनाएर विश्व बजारसम्म पु¥याउने अवसरको सदुपयोग गरेको भए यहाँका उद्योगहरु पनि बँच्ने उनले तर्क गरे । ढाकाको लोकप्रियता बढेको छ । तर, पोखराको पहिलो ढाका उद्योग अहिले बन्द छ । शक्तिमान महर्जन कालान्तरमा उद्योग बन्द गरेर पाल्पातिर हानिए । उद्योग बन्दको बन्दै रह्यो । अहिले कुनैबेलाको चर्चित ढाका उद्योगको घर भारतीय मूलका व्यवसायी तथा कामदारको ‘मकान’ बनेको छ । उद्योगको माथिपट्टि लेखिएको ओम अनि पोखरा ढाकाटोपी, विन्ध्यवासिनी ढाका कपडा उद्योग भने अहिलेसम्म पनि मेटिएको छैन ।
‘त्यो बेला चकाचक थियो, काम गर्ने मान्छेको ताँती हुन्थ्यो’, पुराना दिन सम्झँदै उद्योग नजिकैका रैथाने सत्यमोहन श्रेष्ठले भने,‘अहिले त्यो घर खण्डहरजस्तै भएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->